राम बहादुर बिश्वकर्मा
प्युठान,समाजमा अझै पनि आर्थिक अभावका कारण धेरै बालबालिकाको सपना कापी–कलममै सीमित हुने अवस्था रहँदै आएको बेला प्युठान नगरपालिकाका संस्थापक नगर प्रमुख अर्जुनकुमार कक्षपतीले शिक्षा पहुँच विस्तारतर्फ एक प्रभावशाली कदम चालेका छन्।उनले बिपन्न तथा जोखिममा रहेका बालबालिकालाई लक्षित गर्दै निशुल्क स्टेसनरी सामग्री वितरण गरेर विद्यालय जीवनमा नयाँ उत्साह भरेका छन्।
सन्जोग ट्रेडर्श जुम्रीका संचालक समेत रहेका कक्षपतिले नगरका विभिन्न सामुदायिक विद्यालयमा अध्ययन गर्ने ४५ जना बालबालिकालाई व्याग,कपी डटपेन लगायत आवश्यक शैक्षिक सामग्री हस्तान्तरण गरे।वितरणसँगै विद्यार्थीहरूको अनुहारमा देखिएको मुस्कानले कार्यक्रमलाई भावनात्मक र प्रेरणादायी बनाएको थियो।स्टेसनरी वितरण गर्दै उनले भने,“कुनै पनि बालबालिका आर्थिक कारणले पढाईबाट वञ्चित हुनु हुँदैन।शिक्षा नै समाज रूपान्तरणको आधार हो।”उनले यस्ता सहयोग केवल राहत नभई भविष्य निर्माणको लगानी भएको उल्लेख गरे।
स्थानीय विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूले यस्तो पहलले विद्यार्थीमा पढाइप्रति उत्साह बढाएको बताए।उनीहरूका अनुसार कक्षा उपस्थितिमा सुधार देखिनुका साथै गृहकार्य र कक्षाकार्यप्रति ध्यान पनि बढेको छ।
अभिभावकहरूले पनि यो कार्यक्रमलाई अत्यन्त उपयोगी भन्दै आर्थिक बोझ घटेको प्रतिक्रिया दिएका छन्।“अब बच्चाहरूलाई कापी–कलमको चिन्ता गर्नुपरेन,” एक अभिभावकले भने।
विद्यार्थीहरू भने नयाँ शैक्षिक सामग्री पाएपछि खुसी हुँदै अझ राम्रो पढ्ने,अनुशासित बन्ने र आफ्नो लक्ष्य हासिल गर्ने प्रतिबद्धता जनाएका छन्।
स्थानीय समुदायका अगुवाहरूका अनुसार यस्ता कार्यक्रमले शिक्षा केवल अधिकार मात्र नभई व्यवहारिक अवसरका रूपमा स्थापित गर्न मद्दत पुर्याउँछ।उनीहरूले यस्ता पहललाई निरन्तर र संस्थागत रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका छन्।
त्यस्तै सन्जोग ट्रेडर्सकी व्यवस्थापक मुना कक्षपतिले व्यवसायबाट आर्जित कुल आम्दानीको निश्चित प्रतिशत रकम सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यहरूमा निरन्तर रूपमा लगानी गर्दै आएको बताएकी छिन्। उनका अनुसार व्यवसाय सञ्चालन केवल नाफा कमाउने उद्देश्यमा मात्र सीमित नराखी समाजप्रति पनि जिम्मेवार बन्नुपर्ने भएकाले सन्जोग ट्रेडर्सले लामो समयदेखि सामाजिक क्षेत्रमा योगदान दिँदै आएको हो।
कक्षपतिले व्यवसायले आर्जन गर्ने नाफा मात्र महत्वपूर्ण नभई त्यसको सही उपयोगमार्फत समाजमा परिवर्तन ल्याउन सकिने भएकाले सामाजिक उत्तरदायित्वलाई दीर्घकालीन रणनीतिको रूपमा अघि बढाइएको उल्लेख गरिन्।उनका अनुसार आगामी दिनमा पनि सन्जोग ट्रेडर्सले आफ्नो सामाजिक उत्तरदायित्वलाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै विस्तार गर्ने योजना रहेको छ।
दम्पती कक्षपतीको यो सामाजिक अभियानले प्युठानमा शिक्षा पहुँच विस्तार,विद्यार्थी टिकाउ दर वृद्धि र समावेशी शिक्षाको आधार बलियो बनाउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया राख्नुहोस्