सीता बि.क
प्युठान,बेथितिले सहकारी क्षेत्र नै बदनाम भइरहँदा प्युठान जिल्लाको एक सहकारी संस्था भने पूँजी व्यवस्थापन,उत्पादन तथा सहकारी संस्थाको समग्र वृत्ति-विकास र सदस्य केन्द्रित सेवा प्रबाह गरे बापत उत्कृष्ट बनेको छ।
जिल्ला स्थित बिजय फुलबारी बचत तथा ऋण सहकारी सस्था लि प्युठान लुम्बिनी प्रदेशको उत्कृष्ट सस्था घोषित भएको छ।
प्युठान नगरपालिका ४ जुम्रीमा प्रधान कार्यालय रहेको उक्त सहकारी संस्थालाई नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कून) ले उत्कृष्ट घोषणा गरेको हो।
नेफ्स्कूनले हरेक वर्ष विभिन्न विधामा उत्कृष्ट हुने सहकारीलाई पुरस्कृत गर्दै आएको छ।आफ्नो ३७ औंँ स्थापना दिवसका अवसरमा यस पटक उक्त संस्थालाई उत्कृष्ट घोषणा गरिएको हो।
संस्थाका व्यवस्थापक प्रकाश बैद्दले सहकारी संस्थाको समग्र वृत्ति–विकास र सदस्य केन्द्रित सेवाले नै उत्कृष्ट भएको बताउनुभयो।उहाँका अनुसार संस्थाले वित्तीय सेवाका अतिरिक्त मृत्यू राहत कोष,सुत्केरी भेटघाट,सदस्य बीमा,उपचार सहुलियत,रेमिटान्स जस्ता सदस्य सेवाका कार्यक्रमहरु सञ्चालन गरेको छ।
लुम्बिनी प्रदेश अन्तर्गतका सहकारीको व्यवासाय र कारोबार मुल्याङकन गरी बिजय फुलबारीलाई उत्कृष्ट सहकारी संस्था घोषणा गरीएको नेफ्स्कुनले जनाएको छ ।
वि.स. २०५५ सालमा खैरामा स्थापना भई सुरुवात भएको फूलबारी बचत तथा ऋण सहकारी संस्था लि. र २०६३ सालमा बिजयनगरमा स्थापना भई सञ्चालनमा रहेको बिजयलक्ष्मी महिला बहुउद्धेश्यीय सहकारी संस्था लि.२०७९ साल जेठ महिनामा एकीकरण भई विजय फूलबारी बचत तथा ऋण सहकारी बनेको सहकारीले निरन्तर रूपमा वित्तीय सेवा प्रवाह गर्दै आएको छ।सस्थामा ५ हजार ६ सय सदस्य आवद्ध रहेका छन। विजय फुलबारी नेपालमै उत्कृष्ट र नमुना सहकारीको रुपमा परिचित छ।
प्युठान जिल्ला अन्तर्गत प्युठान नगरपालिका,स्वर्गद्वारी नगरपालिका,झिमरुक गाउँपालिका,माण्डबि गाउँपालिका,सरुमारानी गाउँपालिका,ऐरावती गाउँपालिका र मल्लरानी गाउँपालिकामा आफ्नो सेवा बिस्तार गरेको बिजय फुलबारीले खैरा,खलंगा,बिजुवार र जस्पुर बाट वित्तीय सेवा प्रवाह गरिरहेको छ।
सस्थाको कुल पूंजि हाल २७ करोड छ।भने हालसम्म सहकारीले २१ करोड बचत संकलन गरेको छ।
सदस्यहरुलाई १० प्रकारका बचत सुविधा र कृषि,व्यापार,आयमुलक,शैक्षिक,आपतकालिन,औषधि उपचार,भवन निर्माण,जग्गा खरिद,वैदेशिक रोजगार,घरायसी खर्च आदि जस्ता शिर्षकमा ऋण सुविधा दिँदै आएको यो सहकारीले मुख्य कार्यालय बाट ३६५ दिन नै वित्तिय सेवा प्रदान गर्दै आइरहको छ।
सस्थाका अध्यक्ष नेत्रमणी आचार्यले आफुले नेतृत्व गरेको सहकारी यसरी लुम्बिनी प्रदेशमै उत्कृष्ट घोषित हुन पाउनु जिल्लाकै लागि गौरवको विषय भएको बताउनुभयो।
बिजय फुलबारीले सहकारी क्षेत्रमा सदस्यमैत्री बनेर गरेका उत्कृष्ट कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताउनुभएको छ।संस्थाले नीति,विधि र प्रविधिलाई आत्मसात गर्दै सुशासनका सिद्धान्तलाई अक्षरस पालना गरी सदस्य सेवालाई प्रमुख प्राथमिकताका साथ अघी बढाएमा र कर्मचारीहरुको लगनशिलता,समितिको टिमवर्क तथा सदस्यहरुको साथले संस्थामा सुशासन ल्याउन सकिन्छ।उहाँले भन्नुभयो-"कसैले भनेको भरमा हुँदैन।पर्याप्त मात्रामा नीतिहरु बनाएर कार्यान्वयन गरिए मात्र सहकारीमा सुशासन कायम गर्न सकिन्छ।"
उत्कृष्ट घोषणा भएको सहकारी संस्थालाई आगामी पौषमा हुने नेफ्स्कुनको साधारण सभामा पुरस्कृत गरिने जनाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्