नगर शिक्षा योजना निर्माणमा जुट्यो प्युठान नगरपालिका

राम बहादुर बिश्वकर्मा 
प्युठान,प्युठान नगरपालिका नगर शिक्षाको १० वर्षीय योजना निर्माण बनाउनमा जुटेको छ।
नगरपालिकाको शैक्षिक अवस्था सुदृढ गर्नका लागि १० वर्षीय नगर शिक्षा योजना बनाउन थालेको प्युठान नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष तथा सामाजिक बिकास सामितीका संयोजक नरेन्द्र पुनले बताउनुभयो।
नगरपालिकाको शैक्षिक अवस्था सुदृढ गर्न नगर योजना सुरु गरिएको छ।उहाँले भन्नुभयो,“नगर शिक्षा योजनाका लागि नगर प्रमुख बिष्णु योगिको अध्यक्षतामा १५ सदस्यीय नगर शिक्षा समिति रहेको छ,त्यसमध्ये बाट केशबराज गौतमको नेतृत्वमा ९ सदस्यीय कार्यदल समिति गठन समेत गरिएको छ।” 
नगर शिक्षा योजनाले १० वर्षको शैक्षिक अवस्था,भौतिक पूर्वाधारको अवस्था,शिक्षक तथा जनशक्तिको अवस्था र सुधार्नुपर्ने विषय मुख्य रुपमा समेटिने भएको छ।" 
नगरपालिका भित्रका शैक्षिक मुद्दा तथा चुनौतिहरूलाई प्राथमिकताका आधारमा समाधान गर्नका लागि जनप्रतिनिधि,वडा शिक्षा समिति,विद्यालयहरू,प्राविधिक तथा सीपमूलक शिक्षण संस्थाहरू,विद्यालय व्यवस्थापन समिति,प्रधानाध्यापक,शिक्षक,अन्य सम्वद्ध शैक्षिक संस्थाहरूको अन्तरक्रिया,छलफल र सुझाव मार्फत नगर शिक्षा योजनालाई मुर्त रुप दिइने संयोजक पुनको भनाई छ।

तस्बिर : नगर शिक्षा योजना निर्माण समितिका सदस्य कृष्ण घिमिरेको फेसबुक बालबाट


नगर योजनाले नगरपालिकामा शिक्षा सुधार गर्नका लागि आवश्यक बजेट,खर्च र आगामी योजनाको विषयले महत्वपूर्ण सहयोग पुग्ने नगर प्रमुख बिष्णु योगिले जानकारी दिनुभयो। 
नगरको शिक्षालाई सुदृढ गर्न प्रभावकारी योजना बनाउन नगरपालिकाका लागि परेको छ।शिक्षा नै विकासको पहिलो आधार भएकाले नगर शिक्षा योजनाले कसरी गुणस्तरीय र राम्रो गर्न सकिन्छ भन्ने विषयमा सहयोग पुग्ने नगर प्रमुख योगि बताउनुहुन्छ।
नगर शिक्षाको मस्यौदामा छुटेका विषय पनि समावेश गर्ने सकिने नगरपालिको शिक्षा शाखाले जनाएको छ।
अहिले नगर योजनाको मस्यौदा तयार भईरहेको छ,उक्त मस्यौदा तयार पश्चात् नगर शिक्षा समितिलाई पेश गरिने नगर शिक्षा योजना निर्माण समितिका संयोजक केशवराज गौतमले पैरवी अनलाइनलाई जानकारी दिनुभयो।
नगरभित्र ५१ वटा सामुदायिक विद्यालय र १३ वटा सस्थागत बिध्यालय रहेका छन् ।६४ वटा सङ्घीय सरकारका र ११ स्थानीय सरकारका गरी  जम्मा ७५ वटा बालविकास केन्द्र नगरपालिकाभित्र सञ्चालनमा रहेको नगरपालिकाले जनाएको छ।