राम बहादुर बिश्वकर्मा
प्युठान,कृषिमा गरे हुन्छ,मात्र हैन सफल पनि भईन्छ भन्ने केहि उदाहरणहरु छन् । यस्ता उदाहरणहरु मध्येमा एक हुन हुकुम के सि । तन्नेरीहरुले कृषिबाट केहि हुँदैन भन्दै वैदेशीक रोजगारी र अन्य बाटोहरु पहिल्याउदै गर्दा यीनले भने कृषि पेशालाई नै रोजे । हुन त कृषि कर्म पुख्र्यौली नै हो भन्न सकिन्छ तर उनले परम्परागत खेती प्रणालीलाई आधुनिकरण गर्दै बहुबाली प्रणाली अपनाएर एक सफल कृषकको उदाहरण प्रस्तुत गरेका छन् ।
प्युठान नगरपालिका–१० मरन्ठानाका ६४ बर्षिय हुकुमको सफल र अगुवा कृषकको परिचय छ । हुनपनि सफलताको कसीमा नापिने किसिमको कामले उनलाई उज्यालो चेहेरा दिएको छ । उनको घरमा पुग्दा उनी तरकारी खेतिको काममा व्यस्त देखिन्थे । बारिमा बिभिन्न साइजका टनेलमा उत्पादन गरेका टमाटर,करेला,काउली टिप्दै गरेका थिए । उनले कृषिलाई व्यवसायिक गतिमा अघि बढाएको ६ बर्ष भयो । जब वैवाहिक बन्धनमा बाँधिए,त्यसपछि उनीमा चुनौतिहरु पनि थपिँदै गए । पैसा कमाउनु अनि परीवार पाल्नु पनि थियो । चुनौतिले अवसर सिर्जना गर्छ भन्ने विषय उनमा लागु भयो । ३३ बर्ष भारतको चण्डिगढमा नोकरि गरि उर्जाशिल उमेर खर्चेका हुकुमले अहिले आफुले नै जोरेको ७ रोपनी जग्गामा मौषमी तथा बेमौसमी तरकारी उत्पादन गरिरहेका छन।‘निरन्तर मेहनतले कृषिबाट राम्रो आम्दानी भएको छ । यसैबाट आफ्नो परिचय समेत बनेको छ’ हुकुम भन्छन् । ३ लाखको लगानीबाट कृषि कर्म थालेको उनले सुनाए ।करेला,टमाटर,काउली,खुर्सानि लगायतको खेतीमा उनको सक्रियता छ । बिहानदेखि वेलुकैसम्म खेतीमा सक्रिय रहनु पर्ने अवस्था रहेको उनले बताए । यस कामका लागि श्रीमती छमादेबी के सी को साथ पनि त्यतिकै महत्वपूर्ण छ, उनलाई । उनी कामको सिजनमा खेताला समेत लगाउँछन् ।उनले,काक्रा,काउली र टमाटरबाट बढि आम्दानी हाँसिल गरेका छन् ।
“उर्जाशिल उमेर प्रदेशमै बित्यो अब स्वदेशमै केही गरौँ भन्ने मनसायले कृषिमा लागियो, अहिले बार्षिक ३ देखि ५ लाख रुपैयाँसम्म बर्षमा कमाई हुन्छ । १ देखि २ लाख त खर्च नै हुन्छ,अरु बच्छ । बँचेको पैसाले खेतीमा थप लगानी गरेको छु । यसो बैंकमा केही रकम जम्मा गरेको छु, विभिन्न समुहमा पनि माषिक बचत गर्ने गरेको छु’हुकुम भन्छन् ।” धेरै बोल्दैनन् तर हक्कि स्वभावका उनी बोलीमा भन्दा काममा विश्वास गर्छन्। सोही अनुरुप मरन्ठानामा काम गरेर देखाएका पनि छन्। काँक्रोले बढी आम्दानी दिएको तथा स्थानीय बजारमै काँक्रोले मूल्य पाएको बताउँछन् उनी ।
हुकुमले टनेलमा टमाटर खेती लगाएका छन् । जसका लागि थोपा सिचाईको प्रविधि उपभोग गरेको छन् । उनी जमीन जोत्नका लागि मिनि टेलर को प्रयोग गर्छन । ‘विगत समयमा स्मार्ट कृषि कार्यक्रमले मिनी ट्रयाक्टर दिएको थियो’उनले भने‘स्मार्ट कृषि कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोग गाड्यौले मल बनाउने प्रविधी समेत पाएको सम्झन्छन् उनी । आफ्नै परिश्रममा रमाएका हुकुम आफ्नो मेहनेत र परिश्रमले बारीभरि लटरम्म ताजा तरकारी फलाउन सक्षम भएका छन् । आधुनिक प्रविधितर्फ चासो देखाई विभिन्न तालीम गोष्ठीहरुमा सहभागी हुंँदै धेरै हदसम्म ज्ञान सीप हाँसिल गरिसकेका हुकुमले आगामी दिनमा कुनै निकाय बाट सहयोग मिलेमा थप प्रविधि सिकेर व्यवसायलाई अघि बढाउने योजना रहेको सुनाए । आर्गनिक वस्तु उत्पादन गर्ने योजनामा रहेका हुकुम उत्पादन भएका आर्गनिक वस्तुहरुले उचित मुल्य पाउने हो भने आफुजस्ता उत्पादक कृषकहरुलाई प्रोत्साहन हुने र कृषकहरुलाई अर्गानिक खेतीतर्फ अग्रसर हुन उत्साह र प्रेरणा मिल्ने समेत उनको बुझाई छ । तरकारी खेति सजिलो खेती भएको उनको भनाई छ । यसको मूल्य श्रृङखलामा वृद्धि र बजारलाई ख्याल गर्नु पर्ने उनको भनाई छ । उनी प्युठान नगरपालिका अन्तर्गतका मरन्ठाना,बाग्दुला र बिजुवारमा आफै डोकोमा बोकेर दैनिक जसो होटल होटलमा पुर्याउने गरेको सुनाए । उत्पादित स्थलमा ताजा पाउने हुदाँ उपभोक्ता पनि आफ्नो फार्मको उत्पादन खरिद गर्न आर्कषित हुने हुकुमको दाबी छ । वरपरका ग्राहक भने फर्ममा पुगेर आफैँले टिपेर तरकारी खरिद गर्छन्।उनी स्थानीय सरकारले तरकारीको न्यूनतम मूल्य निर्धारण गर्न सके थप सहज हुने बताउँछन् । सन्कलन केन्द्रम सस्तो राख्ने तर उपभोक्तालाई महङ्गो गरि बेच्ने परिपाटीले गर्दा धेरै जसो उपभोक्ताले फोन सम्पर्क गर्ने गरेकाले घरमै तरकारी पुर्याउदै आएको सुनाए।किसानहरुको हितका लागि बजार प्रवद्र्धन,बजारको विकास,ऋण तथा अनुदानको आवश्यकता रहेको उनको भनाई छ ।
नेपालमा पढेलेखेका युवा कृषीकर्ममा लाग्नुपर्नेआवश्यता औल्याए उनले।‘पढेका युवाले आधुनिक पद्धतीले थोरै मेहनतमा धेरै उत्पादन लिन सक्छन’,उनी भन्छन्,‘पुरानै तरिकाले कृषीमा लागेर आत्मानिर्भर भईदैन्।’तीनै तहका सरकारले किसानद्धारा उत्पादित बस्तुको बजार ग्यारेण्टी गर्नुपर्ने हुकुमले बताए।उनले सरकारले दिने अनुदान किसानको आवश्यकताको आधारमा दिनुपर्ने उल्लेख गरे।अनुदानभन्दा सहुलियतदरमा ऋण उपलब्ध गराए कृषीकर्ममा लाग्न उत्प्रेरणा मिल्ने उनी बताउँछन्।उनी थप्छन्,‘सहुलियतदरमा पाउने ऋण लिन निकै झन्झटिलो छ।पहुँच नभएका किसानले यो ऋण पाईदैन्।’खेती अझै विस्तार गर्ने जसबाट स्थानीय स्तरमा रोजगारी समेत सिर्जना गर्न सकिने उनको बुझाई रहेको छ। व्यवसायिक योजना बनाएर अघि बढेका उनि कृषिकर्ममा नमुना भएको भन्दै समय समयमा सम्मान तथा प्रशंसाका पात्र समेत बन्दै आएका छन्। हुकुमले कृषिमा,प्युठान नगरपालिका बाट विभिन्न खालका औषधि र सल्लाह सुझाव पाएको सुनाए।अब हुकुमलाई तरकारी ढुवानीका लागी एक गाडिको आवस्यकता रहेको पनि बताए । हुकुमले भने,‘तरकारी बोक्दा बोक्दा हत्तु भइयो तरकारी ढुवानि गर्न एउटा गाडी उपलब्ध गराउने निकाय भए आधा लगानी आफै गर्न सक्छु ।”अहिले हुकुमकोे कृषी पेसाबाट छिमेकीहरु पनि प्रभावित बनेका छन ।

प्रतिक्रिया राख्नुहोस्