शोभाखर पन्थी
अर्घाखाँची,नेपाल राष्ट्रिय शिक्षक संगठन अर्घाखाँचीले बिभिन्न कार्यक्रमको आयोजना गरी ४५ अौं शिक्षक दिवस मनाएको छ ।
संगठनले शिक्षक दिवसको अबसरमा जिल्ला परिषद,प्रशिक्षण ,शिक्षक सम्मान लगायतका कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा मन्तव्य राख्दै नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य रामप्रसाद ढकालले शिक्षकका अधिकार प्रति राज्य उदासिन भएको बताउनु भयो।मुलुकको राजनीतिक परिवर्तनमा महत्वपुर्ण योगदान पुर्याएका शिक्षकहरुले अहिले पनि आफुलाई सुरक्षित महसुस गर्न नसकेको भन्दै उहाँले पेशागत सुरक्षा र शैक्षिक सुधारको निम्ति सबै शिक्षकहरु एकजुट भएर अगाडि बढ्नु पर्ने बताउनु भयो । नेपाल राष्ट्रिय शिक्षक संगठन राजनीतिक अधिकार सहितको ट्रेड युनियन अधिकारको पक्षमा दृढ रहेको भन्दै ढकालले ठुलो त्याग र बलिदान बाट प्राप्त उपलब्धिको रक्षाको निम्ति आफुहरु जस्तोसुकै संघर्ष गर्न पछि नपर्ने चेतावनी दिनुभयो ।
उहाँले शिक्षक सँग भएका संझौता अक्षरशः लागु गर्नु पर्ने भन्दै संझौता अनुसार शिक्षा ऐन जारी नभए स्वीकार्य नहुने चेतावनी दिनु भयो । केन्द्रीय सदस्य ढकालले कतिपय पालिकाले शिक्षक माथी ज्यादती गर्ने गरेको आरोप लगाउँदै एकपटक काठमाडौंको आन्दोलन संझन आग्रह गर्नु भयो ।
नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालले मुलुकमा राजनीतिक परिवर्तन भएपनि आर्थिक ,सामाजिक र सांस्कृतिक परिवर्तन परिवर्तन हुन नसकेको बताउनु भयो । राजनीतिक परिवर्तनको निम्ति ठुलो योगदान पुर्याएका शिक्षकहरुले गणतन्त्रको स्थापना भएपछि पनि आफुलाई असुरक्षित महसुस गर्नु दुःखद कुरा भएको भन्दै उहाँले नेकपा एमाले शिक्षकका समस्या प्रति गम्भीर र चिन्तित रहेको बताउनु भयो । संघिय शिक्षा ऐन शिक्षक मैत्री ल्याउनको निम्ति आफ्नो पार्टीले पहल गर्ने उहाँको भनाई थियो ।
नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष ध्रुव के.सी.को अध्यक्षता,उपाध्यक्ष सिता बन्जाडेको स्वागत मन्तव्य र सचिव पानबहादुर खत्रीको संचालनमा सम्पन्न कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन लुम्बिनी प्रदेश समितिका महासचिव सुरेश गौतम,पेसागत महासंघ नेपालका महासचिव नेत्रप्रसाद पोख्रेल,नेपाल राष्ट्रिय शिक्षक संगठनका पुर्व अध्यक्ष वाबुराम आचार्य , नेकपा एमालेका नेता तथा पुर्व शिक्षक कमल घिमिरे लगयतले मन्तव्य राख्दै शिक्षा क्षेत्रमा आमूल परिवर्तनको खाँचो रहेको बताए । उनिहरुले व्यवहारिक र जनवादी शिक्षाको निम्ति सरकार गम्भिर बन्नु पर्ने बताए ।
कार्यक्रम माध्यमिक र निम्न माध्यमिक तहमा सिफारिस भई आएका १ दर्जन बढी शिक्षकहरुलाई सम्मान गर्नुका साथै शिक्षक संगठनले आगामी १ बर्ष गर्ने कामको योजना समेत निर्माण गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्