सुर्तीजन्य पदार्थ नियन्त्रण र नसर्ने रोगबारे अभिमुखीकरण सम्पन्न

सुर्तीजन्य पदार्थ नियन्त्रण र नसर्ने रोगबारे अभिमुखीकरण सम्पन्न

राम बहादुर बिश्वकर्मा 
प्युठान,प्युठानमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नसर्ने रोगबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। स्वास्थ्य कार्यालय प्युठानको आयोजनामा मङ्गलबार सम्पन्न कार्यक्रममा जिल्लाका सञ्चारकर्मी तथा सुरक्षाकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा उठाइएका विषयहरूले केवल स्वास्थ्य क्षेत्रमै सीमित नभई समग्र समाजको जीवनशैलीसँग गाँसिएको गम्भीर चुनौतीलाई उजागर गरेका छन्।
कार्यक्रममा स्वास्थ्य कार्यालय प्युठानका प्रमुख नरेश बाबु श्रेष्ठले प्रस्तुत गर्नुभएको तथ्यांकअनुसार नेपालमा नसर्ने रोगका कारण हुने मृत्युदर निरन्तर बढ्दै गएको छ।उहाँका अनुसार धूम्रपान,मदिरा सेवन,अस्वस्थ खानपान तथा शारीरिक निष्क्रियता जस्ता बानीहरू आधुनिक जीवनशैलीसँगै बढ्दै जाँदा यसको प्रत्यक्ष असर जनस्वास्थ्यमा परेको छ।“रोग लागेपछि उपचारभन्दा रोग लाग्न नदिनु नै प्रभावकारी उपाय हो,”उहाँले जोड दिँदै रोकथाममुखी सोच विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
अभिमुखीकरणका क्रममा सुर्तीजन्य पदार्थको प्रयोगले फोक्सोको क्यान्सर मात्र नभई मुटुरोग,उच्च रक्तचाप तथा दीर्घकालीन श्वासप्रश्वाससम्बन्धी समस्याहरू निम्त्याउने तथ्य प्रस्तुत गरिएको थियो। 
कार्यक्रममा सुर्तीजन्य पदार्थ(नियन्त्रण तथा नियमन) ऐनका मुख्य प्रावधानहरूबारे विस्तृत जानकारी दिइँदै सार्वजनिक स्थल,कार्यस्थल तथा सवारीसाधनमा धूम्रपान तथा सुर्ती सेवन निषेधसम्बन्धी व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको थियो। नेपाल पत्रकार महासंघ प्युठान शाखाका अध्यक्ष श्रीराम भण्डारीले कानुन कार्यान्वयन केवल कागजमै सीमित रहन नहुने उल्लेख गर्दै यसको प्रभावकारी पालना गराउन सरोकारवाला सबै पक्ष सक्रिय हुनुपर्ने बताउनुभयो।
उहाँले सञ्चार माध्यमले यस्ता विषयलाई प्राथमिकताका साथ उठान गरी जनमानसमा सकारात्मक व्यवहार परिवर्तन ल्याउन सक्ने विश्वास व्यक्त गर्नुभयो। “कानुन बनाउनु मात्र पर्याप्त हुँदैन,त्यसको कार्यान्वयन र जनस्तरमा बुझाइ विकास गर्नु अझ महत्वपूर्ण पक्ष हो,”उहाँले भन्नुभयो।
भण्डारीले सार्वजनिक स्थलमा धूम्रपान निषेधको व्यवस्था व्यवहारमा अझै कमजोर देखिएको उल्लेख गर्दै यसको प्रभावकारी अनुगमन र कारबाही प्रक्रिया सुदृढ बनाउन आवश्यक रहेको धारणा राख्नुभयो। साथै,समुदायस्तरबाटै सचेतना अभिवृद्धि गर्दै सुर्तीजन्य पदार्थको प्रयोग घटाउने अभियानलाई व्यापक बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो।
सहभागी सञ्चारकर्मीहरूले स्वास्थ्यसम्बन्धी मुद्दालाई प्राथमिकतामा राखी खोजमूलक तथा जनचेतनामूलक सामग्री उत्पादन गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले स्थानीय तहसम्म पुग्ने सशक्त सन्देशमार्फत व्यवहार परिवर्तन सम्भव हुने धारणा राखेका थिए।
कार्यक्रमको अन्त्यमा कोल्डचेन अधिकृत कोशलराज बैद्यले सहभागीहरूलाई आ-आफ्नो क्षेत्रमा सक्रिय भई जनचेतना फैलाउन आग्रह गर्नुभयो। उहाँले सानो प्रयासले पनि ठूलो परिवर्तन ल्याउन सक्ने विश्वास व्यक्त गर्दै स्वस्थ जीवनशैली अपनाउन सबैलाई प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो।
यस अभिमुखीकरण कार्यक्रमले सुर्तीजन्य पदार्थको प्रयोग घटाउने,नसर्ने रोगको जोखिम न्यूनीकरण गर्ने र स्वस्थ समाज निर्माणतर्फ सामूहिक प्रतिबद्धता जनाउने आधार तयार पारेको सहभागीहरूको भनाइ छ।