भ्रमण डायरी : गोठालोको संसारमा एक यात्रुको अनुभूति

चन्द्र घर्ति
हिमाल,पहाड सधैं टाढाबाट सुन्दर देखिन्छन-शान्त,भव्य र निष्कलंक।हामी जस्ता यात्रुहरूका लागि यो एउटा गन्तव्य हो,सपना हो,केही दिनको उमंग हो।तर त्यही हिमालको काखमा बाँचिरहेका मानिसहरूका लागि भने यो कुनै गन्तव्य होइन-यो उनीहरूको दिनचर्या हो,संघर्ष हो र कहिलेकाहीँ सीमित संसार पनि।हिमाल तथा पहाडको काखमा यात्रा गर्दै जाँदा अनेक दृश्यहरू आँखामा बस्छन्,तर कहिलेकाहीँ कुनै एउटा क्षण यति गहिरो गरी मनमा बस्छ कि त्यो यात्रा नै त्यसैको वरिपरि घुमिरहेको जस्तो लाग्छ।मेरो यो यात्रामा पनि त्यस्तै एउटा भेट भयो-एक जना भेडा गोठालासँग,जसले मेरो सोचाइ नै बदलिदियो।त्यो दिन आकाश सफा थियो,हावामा हिमाली चिसोपन मिसिएको।टाढासम्म फैलिएका हरिया भिरालो डाँडाहरू र तिनै डाँडाहरूमा छरिएका सेता भेडाहरू।म ती दृश्यहरू क्यामेरामा कैद गर्दै तल झर्दै थिएँ,त्यही बेला भेट भयो-एक साधारण देखिने तर असाधारण कथा बोकेका मान्छेसँग।तकसेरा,पूर्वी रुकुम घर भई हाल थबाङ गाउँपालिका–१,जलजला (रोल्पा) मा भेडा चराउँदै गरेका ती गोठाला आफ्नो दैनिकीमै व्यस्त थिए।त्यो दिन म डाँडाको ओरालो झर्दै थिएँ।हावामा हिमालको चिसोपन थियो,जुन छालामा मात्र होइन,मनभित्रसम्म पस्यो। टाढा नजर पुग्ने ठाउँसम्म हरियो डाँडाहरू फैलिएका थिए र ती डाँडाहरूमा सेता भेडाहरू जसले दृश्यलाई अझै जीवन्त बनाइरहेका थिए।


ती भेडाहरू कुनै सजावट थिएनन्,ती त कसैको जीवन थिए।म अलि नजिक पुगेँ।भेडाहरूको हुल अघि बढ्दै थियो र तिनीहरूको पछाडि एक जना मानिस-शान्त,एक्लो तर आफ्नो काममा पूर्ण रूपमा समर्पित। मैले उहाँसँग कुरा गर्ने सोच बनाएँ।


“दाइ,भेडाहरू कति छन्?”उहाँले बिना हिच्किचाहट उत्तर दिनुभयो-“५०० जति होला बाबु।”त्यो ‘५००’ सुन्दा मलाई केवल संख्या लागेन त्यो जिम्मेवारीको भार जस्तो लाग्यो।
कुराकानी अगाडि बढ्दै गयो।“हामी त यहाँ घुम्न आयौँ,”मैले भनेँ,“तपाईं कहिलेकाहीँ कतै घुम्न जानु हुन्न?”
उहाँ केही क्षण चुप लाग्नुभयो।त्यो मौनतामा नै धेरै कुरा थियो। त्यसपछि बिस्तारै भन्नुभयो-“त्यो भाग्यमा लेखेकै छैन बाबु… न त पढियो, न त शहर बजार के छ थाहा छ। कहाँ के भाको छ,कसले देश चलायो-केही थाहा छैन।”त्यो सुन्दा मलाई लाग्यो हामीले ‘संसार’ भनेर चिन्ने कुरा सबैका लागि उस्तै हुँदैन।कसैका लागि संसार एउटा मोबाइलको स्क्रिनमा अट्छ,कसैका लागि त्यो आफ्नै गाउँभन्दा बाहिर कहिल्यै पुग्दैन।उहाँको जीवन सरल छ,तर सजिलो छैन।“भेडा अघि अघि जान्छन्,म पछि पछि… कहिलेकाहीँ अरूको चरनमा पुगे भने गाली खानुपर्छ,पैसा तिर्नुपर्छ। नत्र गाउँले कारबाही गर्छन्।”
खुला डाँडाहरू तर बाँधिएका नियमहरू।स्वतन्त्रता जस्तो देखिने जीवन,तर जिम्मेवारीले घेरिएको।म सुन्दै थिएँ, तर भित्रभित्रै सोच्दै पनि थिएँ
हामीले कहिल्यै यस्तो जीवन कल्पना गरेका छौँ?हामीले कहिल्यै सोचेका छौँ कि कसैको दिन यसरी बित्छ-भेडाहरूको पछि पछि,मौसमसँग जुध्दै,समाजका नियमहरू पालना गर्दै?
त्यसपछि उहाँले एकदमै गहिरो कुरा भन्नुभयो-“सबैभन्दा दुख लाग्ने कुरा भनेको… हामीलाई सबैले ‘गोठाले’ भन्छन्।”त्यो शब्द साधारण थियो तर त्यसको असर असाधारण।
त्यो केवल एउटा नाम होइन,एउटा सीमित परिभाषा थियो-जसले उहाँको सम्पूर्ण अस्तित्वलाई एउटा सानो घेराभित्र राखिदिएको थियो।
मलाई त्यतिबेला लाग्यो-हामीले मानिसलाई बुझ्नुभन्दा पहिले नै परिभाषित गरिदिन्छौँ।हामी नाम दिन्छौँ,तर कथा बुझ्दैनौँ।उहाँसँग धेरै कुरा गर्न मन थियो,तर समयले अनुमति दिएन।उहाँले भन्नुभयो-“बाबु,अब धेरै कुरा नगरौँ… तपाईंहरूलाई ढिला होला। मेरा भेडाहरू पनि पर पुगे।”
उहाँ फेरि अघि बढ्नुभयो-भेडाहरूको पछि पछि,जस्तो कि जीवन नै त्यही दिशा समातेर अघि बढिरहेको हो।म तल झर्दै गएँ,तर मन भने अझै त्यहीँ अड्किएको थियो-त्यो दृश्यमा,त्यो आवाजमा,त्यो जीवनमा।त्यो दिन मैले एउटा कुरा गहिरो गरी महसुस गरेँ-हिमाल पहाड सुन्दर दृश्य होइन,यो अनगिन्ती कथाहरूको घर हो।
हामी यात्रुहरू आउँछौँ, केही दिन बस्छौँ,फोटो खिच्छौँ र फर्किन्छौँ।
तर त्यहीँका मानिसहरू भने त्यहीँ रहन्छन्-उही जीवन,उही संघर्ष, उही सीमाना।आज पनि त्यो तस्बिर हेर्दा मलाई केवल भेडाहरू देखिँदैनन्,त्यहाँ एउटा मान्छे देखिन्छ,जसले संसार सानो भए पनि,जिम्मेवारी ठूलो बनाएर बाँचिरहेका छन्।सायद,यही नै यात्राको असली अर्थ हो नयाँ ठाउँ देख्नु मात्र होइन,अरूको जीवनलाई महसुस गर्नु।किनकि कहिलेकाहीँ,सबैभन्दा सुन्दर दृश्यभन्दा पनि सबैभन्दा गहिरो कथा नै मनमा बस्छ।


उहाँ एक चर्तित युवा ब्यबसायीको रुपमा परिचित हुनुहुन्छ।