अजय बि.क
प्युठान,प्युठानको गौमुखी गाउँपालिका–४ सुँगुरखालस्थित जुपाल सामुदायिक वनमा जंगली जनावर (बँदेल) ठानेर चलाइएको गोली लाग्दा १९ वर्षीय सुशिल परियारको मृत्यु भएको छ। घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ।
बुधबार जिल्ला प्रहरी कार्यालय प्युठानले जिल्लाका पत्रकारहरूसँग भेटघाट गरी घटनाबारे जानकारी सार्वजनिक गरेको हो।
जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार चैत २९ गते राति करिब १०:४५ बजे घटना भएको हो।शिकार खेल्ने क्रममा जंगलमा झाडी हल्लिएको,पातपतिङ्गर तथा प्लास्टिक बजेको आवाज आएपछि जंगली जनावर भएको आशंकामा गोली प्रहार गरिएको थियो।
त्यही गोली लागेर सुशिल परियार र गौमुखि-४ की १८ वर्षीया किशोरी घाइते भएका थिए।घाइते दुवैलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल लगिएको थियो। पछि थप उपचारका लागि बुटवलस्थित लुम्बिनी सिटी हस्पिटल पठाइए पनि चैत ३० गते सुशिलको मृत्यु भएको प्रहरीले जनाएको छ। किशोरीको अवस्था भने हाल खतरा मुक्त रहेको छ।
प्रहरीका अनुसार घटनामा मुख्य संलग्न गौमुखी-४ खलाबाङका २७ वर्षीय वीरेन्द्र के.सी.लाई चैत ३० गते पक्राउ गरिएको हो। उनीसँगै शिकारमा सहभागी रहेका उनका भाइ विश्वास केसी,१९ वर्षीय रवी के.सी र एक १५ वर्षीय बालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। घटनामा प्रयोग भएका दुई थान भरुवा बन्दुकसमेत बरामद गरिएको छ।
प्रारम्भिक अनुसन्धानअनुसार मृतक सुशिल परियार आफ्ना साथी सन्जु परियार (दुर्जे दमाई) सँग करिब साढे तीन घण्टा पैदल हिँडेर उक्त वन क्षेत्रमा पुगेका थिए। उनले आफ्नी साथीलाई फोन गरेर भेट्न बोलाएको खुलेको छ। त्यसपछि उनीहरू चार जना जंगलमा बसेर कुराकानी गरिरहेको अवस्थामा घटना भएको बताइएको छ।
प्रहरीले अवैध रूपमा हतियार राख्ने तथा चोरी शिकारमा संलग्न रहेको अभियोगमा पक्राउ परेकामाथि ज्यानसम्बन्धी कसुर र हातहतियार सम्बन्धी मुद्दा चलाउने तयारी गरेको जनाएको छ। मृतकका बुबा गाजिराम दमाईको जाहेरीका आधारमा जिल्ला अदालत प्युठानबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाइएको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिएका छन्।
घटनापछि स्थानीय क्षेत्रमा शोक र त्रासको वातावरण छ। सामुदायिक वन क्षेत्रमा हुने यस्ता गतिविधि र अवैध हतियारको प्रयोगप्रति स्थानीयवासीले कडा निगरानी र नियन्त्रणको माग गरेका छन्।
यसबीच,प्रहरीको प्रारम्भिक निष्कर्ष अनुसार जंगलभित्र देखिएको हलचललाई जनावर ठानेर गरिएको अनुमान नै घटनाको मुख्य कारण भएको देखिएको छ।प्रहरीले यस्ता गतिविधिमा सावधानी नअपनाउँदा निर्दोष मानिसको ज्यान जोखिममा पर्ने भन्दै थप सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रतिक्रिया राख्नुहोस्