पहिलो महिला सिडियो पायो प्युठानले

राम बहादुर बिश्वकर्मा
प्युठान,महिला सिडियोले प्रशासन चलाउन थालेको धेरै वर्ष भएपनि प्युठानले पहिलो पटक महिला सिडियो पाएको छ। प्युठानले४०बर्षे इतिहासमा पहिलो महिला प्रमुख जिल्ला अधिकारी पाएको हो ।४१ औ प्रमुख जिल्ला अधिकारीको रुपमा सुनिता नेपाल प्युठान आउनुभएको हो ।
यस अघि महिला मन्त्रालय र मुस्लिम आयोगमा जिम्मेवारी सम्हालेको अनुभव उहाँसँग छ ।
अर्घाखाँचीकि बासिन्दा प्रजिअ नेपाल २०६१ सालमा अधिकृतमा नाम निकालेर सरकारी सेवामा प्रवेश गर्नुभएको थियो ।
गृह मन्त्रालयमा सहसचिव रहनुभएकी सुनिता नेपाल प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी लिएर प्युठानमा आएपछि नेपालको लागि अवसर र चुनौति दुवै हो । उहाँले सोमबार बाट आफ्नो कार्यभार सम्हालेपछि जिल्लाका दल,उद्योग व्यावसायी, पत्रकार र सरोकारवालासंग छलफल र संवाद गरिरहनुभएको छ । 
मङ्गलबार पत्रकारहरुसंगको अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी नेपालले शान्ति सुरक्षा र अपराध न्यूनीकरणसँगै सबैको समन्वयमा बिकासको काममा सहयोग पुराउनेनै आफ्नो पहिलो काम भएको बताउनुभयो । त्यस्तै उहाँले सवै सरकारी कार्यालयहरुको सेवा प्रबाहलाई चुस्त,सरल नागरिकमैत्री बनाउने अर्को जिम्मेवारी भएको बताइन् । साथै प्रजिअ नेपालले आफूले सबै पक्षसँग समन्वय र सहकार्य गरेर अगाडी बढ्ने बताउनुभयो।
उहाँले कानुनले दिएको बाटोमा अडिग रहेर पत्रकारलाई सूचनाको सहज वातावरण बनाउने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो। धेरै प्रमुख जिल्ला अधिकारीको जिल्ला आएर नागरिकमा सम्झनलाएक छाप छोडेर गएकाले अघिल्ला स्मरणभन्दा थप रचनात्मक काम गर्नुपर्ने चुनौति नेपाल लाई छ। त्यस्तै नेपाल पत्रकार महासंघ प्युठानका अध्यक्ष सन्जय रिजालले जिल्लामा पेट्रोलिएम पदार्थ नियमित आपूर्ति हुन नसक्नु,सम्बन्ध बिच्छेद,आत्महत्या,बलात्कार र घरेलु हिंसाका घटना बढि हुने भएकाले प्रहरी प्रशासन र स्थानीय तहको समन्वयमा नियन्त्रणको जरुरी भएको बताउनुभयो। 
उहाँले पत्रकारहरु जिल्लाका नागरिकको पक्षमा सकरात्मक काम गर्ने जुनसुकै कार्यालय प्रमुखको पनि पक्ष भएकाले पहिलो महिला प्रमुख जिल्ला अधिकारी भएकाले थप रचनात्मक एवं सृजनात्मक काम गर्न आग्रह गर्नुभयो।

नेपाल जिल्ला आएपछि महिलाहरु उत्साहित भएका छन् । जिल्लामा विभिन्न हिंसा र समस्यामा परेका महिलाहरुको न्याय र न्याय निरुपणमा नेपालको ध्यान पुग्ने आशा महिलाहरुमा छ ।