प्युठान,प्यूठानमा एकैदिन दुई गाउपालिकाको प्रशासकीय कार्यालय भवनको उद्घाटन गरिएको छ।
सोमबार नेकपा एमालेका महासचिव शंकर पोखरेलले माण्डबि गाउँपालिका र सरुमारानी गाउँपालिकाको छुट्टाछुट्टै औपचारिक कार्यक्रमका बिच प्रशासकिय कार्यालय भवनको उद्घाटन गर्नुभएको हो ।
कार्यपालिकाको दुई तले नवनिर्मित भवन संघिय सरकारको साझेदारीमा जम्मा एक करोड ९१ लाख ५३ हजार ८७ रुपियाँ लागतमा निर्माण सम्पन्न गरेको सरुमारानी गाउँपालिकाका अध्यक्ष झग वहादुर बिश्वकर्माले जानकारी दिनुभयो।
यस्तै, महासचीव पोखरेलले सोमबार नै माण्डवी गाउँपालिकाको प्रशासकीय भवनको उद्धाटन गर्नुभएको छ । माण्डवि गाउपालिका –३ नयांगाउँमा भ्याट सहित ५ करोड ८१ लाख रुपियाँको लागतमा २२ कोठे कार्यपालिकाको भवन निर्माण गरिएको माण्डवी गाउँपालिकाका अध्यक्ष श्रीधर रोका मगरले जानकारी दिनुभयो ।
पालिका भवन निर्माणका लागि स्थानियले २२ रोपनी क्षेत्रफल जग्गा निशुल्क प्रदान गरेका थिए।
यो संगै प्युठानका नौ स्थानिय तहमध्ये झिमरुक गाउंपालिका र प्युठान नगरपालिकाले आफ्नै भवन निर्माण गरेर सेवा दिन थालिसकेका छन। स्वर्गद्वारी नगरपालिका, ऐरावती गाउँपालिका र नौबहिनी गाउँपालिकाका भवन निर्माणाधिन छन भने मल्लरानी र गौमुखी गाउँपालिकाले भवन निर्माण प्रक्रीया सुरु गरिएको जानकारी दिएका छन ।भवन उद्धाटन समारोहमा एमाले पोलिट्ब्युरो सदस्य सुर्य थापा, केन्द्रीय सदस्य हरि प्रसाद रिजाल, एमाले प्युठान अध्यक्ष बिजय बिराज बिष्ट लगायतको उपस्थिती रहेको थियो।
लुम्बिनी प्रदेशका सस्थापक मुख्यमन्त्री तथा नेकपा एमालेका महासचिव शंकर पोखरेलले संघिय लोकतान्त्रिक गणतन्त्र स्थापना पश्चात् प्युठानमा कयौं बिकास हुँदै गएको बताउनुभयो ।
प्युठान जिल्ला मसालको गढ मानिने तर बिकासमा भन्दा बिद्रोहमा मात्र ध्यान दिएकाले बिकास नभएको जिकिर गर्नुभयो उहाँले भन्नुभयो मसालले ,‘विकास र समृद्धिका कुरा कहिल्यै नगर्ने पार्टीलाई अब पनि चुनाव जिताएर पठाएमा प्यूठान विकासमा अझ पछाडी पर्नसक्छ ।’ उहाँले अवको निर्वाचनमा प्यूठानी जनतालाई विवेक पुर्याएर मात्र मतदान गर्न आग्रह गर्नुभयो।
पोखरेलले पाँच दलीय गठवन्धन जनताको सेवा गर्नका लागि नभई व्यक्तिगत स्वार्थ पुरा गर्नका लागि मात्र बनेको उल्लेख गर्नुभयो । ‘यो सरकार अदालतले बनाएको हो’,उहाले भन्नुभयो ,‘जनमतको कदर गर्न नजान्नेलाई जनताले राम्रोसँग चिन्नुपर्दछ ।’ उहाँले देशको पक्षमा अडान लिने नेतालाई देशको नेतृत्व गर्ने अवसर दिन समेत आग्रह गर्नुभयो। नारा जुलुस गरेर राजनीति गर्ने दिन सकिएको स्मरण गर्दै उहाँले विकास र समृद्धिमा सहकार्य गर्न आग्रह गर्नुभयो।माण्डवी र सरुमारानीले उत्कृष्ट कार्य गरेको भन्दै उहाँले आगामी निर्वाचनमा विकास गर्ने जनप्रतिनिधिलाई सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले जुनसुकै दलको भएपनि विकासका विषयमा सहकार्य गरेर नमुना पालिका बनाउनुपर्नेमा जोड दिनुभयो ।“संविधानले दोश्रो कार्यकालका लागि स्थानीय तहमा उम्मेदवार हुन पाउने व्यवस्था गरेको छ,उहाँले भन्नुभयो, “राम्रो काम गर्नेहरुलाई जनताले पुन: अनुमोदित गर्ने विश्वास लिएको छु ।”
प्रतिक्रिया राख्नुहोस्