सामुदायिक वनमा आगजनी : प्युठानमा दुई युवा  नियन्त्रणमा

राम बहादुर बिश्वकर्मा 
प्युठान,जिल्ला प्रहरी कार्यालय प्युठानले सामुदायिक वनमा आगजनी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा ऐरावती गाउँपालिका वडा नम्बर ५ का २३ वर्षीय विनोद के.सि. र २२ वर्षीय रमेश के.एम.रहेका छन्।
प्रहरीका अनुसार बदर खोला सामुदायिक वनमा २०८३ वैशाख ६ गते साँझ करिब ७ बजे आगजनी गरिएको सूचनापछि खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।घटनापछि स्थानीयवासी र सरोकारवालामा त्रास तथा चिन्ता बढेको बताइएको छ।
आगजनीबाट वन क्षेत्रमा कति क्षति भयो भन्ने यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक रूपमा भने वनको केही भाग जलेको अनुमान गरिएको छ।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय प्युठान पठाइएको छ। 
प्रहरीले पछिल्लो समय गर्मी बढेसँगै वन डढेलोका घटनामा वृद्धि हुन सक्ने भन्दै सचेत रहन सबैमा आग्रह गरेको छ। साथै, कसैले पनि जानीजानी आगजनी नगर्न र यस्ता गतिविधि देखेमा तुरुन्त सम्बन्धित निकायलाई खबर गर्न अनुरोध गरिएको छ।