राम बहादुर बिश्वकर्मा
प्युठान,बिहानको घाम बिस्तारै गाउँमाथि उक्लिँदै थियो। दहखोलाको एक सानो घरको आँगनमा केही मानिसहरू जम्मा थिए। उनीहरू कुनै सामान्य भेटघाटका लागि होइन,सेवा लिएर आएका थिए त्यो पनि घरमै।
झिमरुक गाउँपालिका–६,तोरवाङ्गमा यतिबेला फरक दृश्य देख्न सकिन्छ। पहिले सामाजिक सुरक्षा भत्ता नवीकरण वा बायोमेट्रिक गर्न वडा कार्यालय धाउनुपर्ने बाध्यता थियो। तर अहिले वडा कार्यालय नै गाउँघर पुगेको छ।
ज्येष्ठ नागरिक,अशक्त,अपाङ्गता भएका व्यक्ति र दीर्घरोगीहरूका लागि यो अभियान राहत बनेको छ। हिँडडुल गर्न कठिन हुनेहरूका लागि सेवा लिनु आफैंमा चुनौती थियो। कतिपयले त बायोमेट्रिक गर्न नसक्दा भत्ता रोकिने चिन्ता बोकेका थिए।
तर अब त्यो चिन्ता हट्दै गएको छ।
बुधबार वडा अध्यक्ष धनबहादुर पुनसहितको टोली दहखोला,धगे र मर्कावाङका बस्तीहरूमा पुग्यो। टोलीमा वडा सदस्य हेमराज भट्टराई,वडा सचिव रामकुमार चौधरी र अन्य कर्मचारीहरू पनि थिए। उनीहरूले घर–घरमै पुगेर छुटेका लाभग्राहीहरूको बायोमेट्रिक संकलन गरे।
स्थानीय एक ज्येष्ठ नागरिकले भने, “पहिले त हामीलाई वडा पुग्नै गाह्रो हुन्थ्यो। अहिले घरमै सेवा पाउँदा धेरै सजिलो भयो।”
वडा अध्यक्ष पुनका अनुसार यो अभियान नागरिकलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले सुरु गरिएको हो।
“बायोमेट्रिक नभएर भत्ता नपाउने हो कि भन्ने डर धेरैमा थियो, अब त्यो समस्या हटेको छ,” उनले भने।
झिमरुक–६ मा सामाजिक सुरक्षा भत्ता पाउने ५६६ जना लाभग्राहीमध्ये १८२ जनाले अझै बायोमेट्रिक गर्न सकेका थिएनन्। वडा सचिव रामकुमार चौधरीका अनुसार ती सबैसम्म सेवा पुर्याउने योजना बनाइएको छ।
यो पहलले केवल सेवा मात्र पुर्याएको छैन, यसले राज्यप्रति नागरिकको विश्वास पनि बढाएको छ। गाउँमै पुगेर सेवा दिनु स्थानीय सरकारको जिम्मेवारी मात्र होइन, संवेदनशीलताको उदाहरण पनि बनेको छ।
अब झिमरुकका ती घरहरूमा,जहाँ कहिल्यै सरकारी सेवा पुगेको थिएन,त्यहाँ ढोकैमा सेवा आइपुगेको छ।
प्रतिक्रिया राख्नुहोस्