प्यूठानमा ट्याक्टर दुर्घटना, ७ मजदुरको मृत्यु

सलिम अन्सारी, प्यूठान। प्यूठानको स्वर्गद्वारी नगरपालिका ३ रुमालेमा ट्याक्टर दुर्घटना हुँदा सात जना मजदुरको घटनास्थलमै मृत्यु भएको छ।

शनिबार राती स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको लु २ च ४२३४ नंवरको ट्र्याक्टर रुमालेमा दुर्घटना हुँदा सडकको काम गर्ने सात मजदुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरिक्षक विष्णु पौडेलले जानकारी दिए । उनका अनुसार मृतकहरु सबै रोल्पाका नागरिक हुन। मृत्यु हुनेमा रोल्पाकै त्रिवेणी गाउँपालिकाका चालक वर्ष २५ का कमल कुँवर सहित रोल्पा रुम्टगढी गाउँपालिका ५ का वर्ष २१ का सागर बस्नेत, वर्ष २४ का रिमबहादुर बस्नेत,वर्ष २५ का कबिराम बस्नेत, वर्ष १९ का बिरेन्द्र बाठा मगर, वर्ष १९ का थमन बाठा मगर र उमेर नखुलेका गोर्बधन बुढामर रहेको कार्कीले बताए । ट्याक्टरमा चालक सहित आठ मजदुर सवार थिए। त्यस मध्ये दुर्घटनामा रोल्पाकै विशाल थापा हाम फालेर बाँच्न सफल भएका छन् । उनको भने प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा उपचार भईरहेको छ। उनीहरु सबै ओसिस कन्सट्रक्सन निर्माण कम्पनीमार्फत भिंगृ– स्वर्गद्वारी सडक स्तरोन्नतीको काममा खटिदै आएका थिए।
साउने सङ्क्रान्ति मनाएर काममा फर्कने क्रममा ट्याक्टर दुर्घटनामा परेको हो । ट्याक्टर घुम्तीबाट करिब ५ सय मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ । घटनास्थलमा आईतबार बिहानै प्रहरी,स्थानीय, नेपाली सेना पुगेर उद्धारको काम गरिरहेको प्रहरीले जनाएको छ ।