प्रधानमन्त्री प्रचण्डले गरे मन्त्रिमण्डल पुनर्गठन,तीन मन्त्रीले लिए सपथ  

प्रधानमन्त्री प्रचण्डले गरे मन्त्रिमण्डल पुनर्गठन,तीन मन्त्रीले लिए सपथ  

काठमाडौं,प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। सोमबार राष्ट्रपति कार्यालय शितल निवासमा नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण भएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ गराएका हुन्।राष्ट्रपति पौडेलले विना विभागिय मन्त्रीहरुको रुपमा एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्याललाई सपथ गराएका हुन्।सपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री प्रचण्ड, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे सहभागी थिए।गत वर्ष पुस १० गते बनेको गठबन्धन सरकारमा पर्वतबाट निर्वाचित सांसद एवम् एमालेका प्रमुख सचेतक पदम गिरी स्वास्थ्यमन्त्री, रास्वपाका उपसभापतिसमेत रहेका अर्याल श्रम तथा रोजगारमन्त्री थिए। तामाङ नुवाकोट-१ बाट निर्वाचित माओवादी केन्द्रका सांसद हुन्। तीन दलले पहिलो चरणमा एक-एक सांसदलाई सरकारमा पठाएका हुन्।

तत्कालीन कांग्रेस नेतृत्वको गठबन्धन टुटेपछि एमाले नेतृत्वको गठबन्धन बनेको हो। कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गठबन्धन तोडेको आरोप लगाएको छ। यता कांग्रेसका मन्त्रीहरुले प्रधानमन्त्रीलाई सहयोग नगरेका कारण सत्ता गठबन्धन परिर्वतन गर्नुपरेको नेकपा माओवादी केन्द्रले दाबी गरेको छ। नयाँ सत्ता समिकरणमा एमाले, माओवादी केन्द्र, रास्वपा र जसपा रहेको छ।