नयाँ प्रशासनिक भवनले बदल्यो देउखुरी क्याम्पसको स्वरूप

राम बहादुर विश्वकर्मा
दाङ,देउखुरी क्याम्पसले आफ्नो शैक्षिक तथा संस्थागत विकास यात्रामा एक महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।विश्वविद्यालय अनुदान आयोग (UGC) नेपालको आर्थिक सहयोगमा नवनिर्मित प्रशासनिक भवनमा सोमबार विधिवत शुभ–पूजा सम्पन्न गर्दै प्रशासनिक निकायलाई पुरानो भवनबाट नयाँ भवनमा औपचारिक रूपमा स्थानान्तरण गरिएको छ।
यस स्थानान्तरणसँगै क्याम्पसले परम्परागत संरचनाबाट आधुनिक,सुविधा सम्पन्न र प्रविधिमैत्री प्रशासनिक प्रणालीतर्फको यात्रालाई नयाँ उचाइमा पुर्‍याएको छ।नयाँ भवनले सेवा प्रवाहलाई अझ छरितो,पारदर्शी र प्रभावकारी बनाउने विश्वास क्याम्पसले व्यक्त गरेको छ।
कार्यक्रममा क्याम्पस प्रशासनले यो उपलब्धिलाई केवल भौतिक संरचनाको परिवर्तन नभई शैक्षिक गुणस्तर अभिवृद्धि र संस्थागत सुदृढीकरणतर्फको महत्वपूर्ण आधारशिला भएको उल्लेख गरेको छ। साथै,यस कार्यमा निरन्तर सहयोग पुर्‍याउनुहुने विश्वविद्यालय अनुदान आयोग (UGC) नेपाल,सम्पूर्ण सरोकारवाला निकाय,निर्माण पक्ष, कर्मचारी, शिक्षक, विद्यार्थी तथा शुभचिन्तकहरू प्रति हार्दिक आभार व्यक्त गरिएको छ।
क्याम्पस प्रमुख शिव वलीका अनुसार नयाँ प्रशासनिक भवनले क्याम्पसको कार्यसम्पादन क्षमतामा उल्लेखनीय सुधार ल्याउने मात्र नभई विद्यार्थी,शिक्षक र कर्मचारीबीचको सेवा समन्वयलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ। उहाँले भन्नुभयो,“नयाँ पूर्वाधारले प्रशासनिक कामलाई आधुनिक,छिटो र प्रभावकारी बनाउँदै शैक्षिक वातावरणलाई थप गुणस्तरीय बनाउनेछ।”
“हाम्रो क्याम्पस–हाम्रो गौरव” भन्ने भावनालाई आत्मसात गर्दै देउखुरी क्याम्पसले आगामी दिनहरूमा शैक्षिक उत्कृष्टता,अनुसन्धानमुखी गतिविधि र नवप्रवर्तनलाई केन्द्रमा राख्दै अझ प्रभावकारी रूपमा अघि बढ्ने प्रतिबद्धता जनाएको छ।यसरी नयाँ प्रशासनिक भवनमा कार्य शुभारम्भसँगै देउखुरी क्याम्पसले आधुनिकता,सुशासन र समृद्ध शैक्षिक भविष्यतर्फ दृढ र ऐतिहासिक कदम अघि बढाएको छ,जसले सम्पूर्ण शैक्षिक समुदायमा नयाँ उत्साह र सकारात्मक उर्जा सञ्चार गरेको छ।