राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठानमा सामान्य देखिने घरायसी विवादले एकाएक भयावह रूप लिँदा एकै परिवारका बुबा–छोरी जीवन–मरणको सङ्घर्षमा पुगेका छन्। एउटा क्षणको आवेगले निम्त्याएको आगलागीले परिवार मात्र होइन,समग्र समुदायलाई स्तब्ध बनाएको छ।
जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार मिति २०८३।०१।१३ गते राति करिब १०:१५ बजे प्युठान नगरपालिका–९ पारपाखामा उक्त घटना भएको हो। करिब ४५ वर्षीय सानु नेपालीले घरायसी विवादका क्रममा आफ्नै शरीरमा पेट्रोल खन्याई आगो लगाउने प्रयास गरेका थिए। सोही क्रममा उनलाई रोक्न पुगेकी उनकी १८ वर्षीया छोरी अञ्जली नेपालीसँग पेट्रोल खोसाखोस हुँदा अचानक आगो सल्किएको थियो। केही क्षणमै नियन्त्रण बाहिर गएको आगोले बुबा–छोरी दुवैलाई गम्भीर रूपमा जलायो।
घटनापछि स्थानीयवासीहरू तत्काल उद्धारमा जुटेका थिए। आगो निभाउने प्रयाससँगै उनीहरूले घाइते दुवै जनालाई जिल्ला अस्पताल बिजुवार,प्युठान पुर्याएका थिए।प्रारम्भिक उपचारपछि अवस्था जटिल देखिएपछि चिकित्सकले थप उपचारका लागि मिसन अस्पताल पाल्पा रिफर गरेका छन्।प्रहरी स्रोतका अनुसार दुवैको अवस्था अत्यन्त गम्भीर रहेको छ र निरन्तर उपचार भइरहेको छ।
यस घटनाले घरभित्रका साना–ठूला विवाद समयमै समाधान नगर्दा कस्तो गम्भीर परिणाम आउन सक्छ भन्ने स्पष्ट संकेत दिएको छ। आवेगमा लिइएका निर्णयले क्षणिक समाधान जस्तो देखिए पनि त्यसले दीर्घकालीन पीडा र क्षति निम्त्याउन सक्छ।
स्थानीयस्तरमा पनि यस घटनापछि चिन्ता र चासो बढेको छ। छिमेकीहरूका अनुसार उक्त परिवारमा यसअघि पनि सामान्य विवाद हुने गरेको बताइए पनि यति ठूलो घटना हुन्छ भन्ने कसैले अनुमान गरेका थिएनन्।अहिले गाउँ–टोलमा यस्तो घटना पुनः नदोहोरियोस् भन्ने चिन्तासहित सचेतना आवश्यक रहेको आवाज उठ्न थालेको छ।
जिल्ला प्रहरी कार्यालय प्युठान ले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जनाएको छ। साथै, घरायसी विवादका घटनालाई संवेदनशील रूपमा लिँदै समयमै समाधान खोज्न र आवश्यकता परे सम्बन्धित निकायको सहयोग लिन प्रहरीले सर्वसाधारणलाई आग्रह समेत गरेको छ।
प्रतिक्रिया राख्नुहोस्