राम बहादुर बिश्वकर्मा
प्युठान,चुनावी प्रचारमा प्रयोग गरिएको गाडी दुर्घटना हुँदा प्युठानमा चार जना घाइते भएका छन्।
प्रहरीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी प्रचारमा हिँडेको लु १ च ७७६९ नम्बरको पिकअप जीपले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा प्युठान नगरपालिका वडा नम्बर-७ बाग्दुला स्थित चिउरे डाडामा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक प्युठान नगरपालिका–५,जुम्रीकाँडा निवासी २० वर्षीय जीवन बिश्वकर्मा र मोटरसाइकलमा सवार २१ वर्षीय रेशम खड्का घाइते भएका छन्।
त्यस्तै, स्कुटर चालक दाङको लमही नगरपालिका–६, देउपुर निवासी २६ वर्षीय दिपक पोख्रेल र उनकी श्रीमती २५ वर्षीया सुजता भण्डारी पनि घाइते भएका छन्।
प्रहरीका अनुसार जिल्ला अस्पताल प्युठानमा सामान्य उपचारपछि मोटरसाइकल चालक रमेश खड्का र सवार जीवन बिश्वकर्मालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ भने स्कुटर चालक दिपक पोख्रेललाई नेपालगन्ज रिफर गरिएको छ।
दुर्घटनापछि पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रचारप्रसारमा प्रयोग गरिएको सवारी साधनको अवस्था,चालकको लापरवाही तथा अन्य सम्भावित कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
स्थानीय बासिन्दाले मुख्य सडक क्षेत्रमा सवारीको तीव्र गति,ट्राफिक नियम उल्लंघन र प्रचारका क्रममा हुने भीडभाडका कारण जोखिम बढ्दै गएको बताएका छन्। उनीहरूले ट्राफिक निगरानी कडाइ,गति नियन्त्रण तथा सचेतना कार्यक्रम सञ्चालन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
प्रतिक्रिया राख्नुहोस्