राम बहादुर बिश्वकर्मा
प्युठान,मरन्ठाना प्रहरी चौकी अन्तर्गत पर्ने सेवा क्षेत्रमा शान्ति सुरक्षा सुदृढीकरणका लागि प्रहरी, जनप्रतिनिधि र स्थानीय सरोकारवालाबीच विशेष छलफल सम्पन्न गरिएको छ।
भर्खरै प्युठान जिल्लामा सरुवा भई कार्यभार सम्हाल्नुभएका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) नरहरी अधिकारीको नेतृत्वमा उक्त छलफल सम्पन्न भएको हो। छलफलमा प्रहरी चौकी इन्चार्ज राम बहादुर आले सहितको प्रहरी टिम,जनप्रतिनिधि,स्थानीय र सरोकारवालाहरूको सक्रिय उपस्थिति रहेको थियो।
कार्यक्रममा वर्तमान शान्ति सुरक्षाको अवस्थाबारे समीक्षा गर्दै स्थानीयस्तरमा अपराध नियन्त्रण,सामाजिक सद्भाव कायम राख्ने,घरेलु हिंसा,मदिराजन्य समस्या,सवारीसाधन दुर्घटना न्यूनीकरण,आत्महत्या न्यूनीकरण र युवाहरूमा सकारात्मक गतिविधि प्रवर्द्धन गर्ने विषयमा थप सतर्कता र सहयोगात्मक भूमिका आवश्यक रहेको निष्कर्ष निकालिएको छ।
छलफलका क्रममा डिएसपी अधिकारीले स्थानीय समुदाय र प्रहरीबीचको सहकार्यले मात्रै सुरक्षित र सुव्यवस्थित समाज निर्माण सम्भव हुने बताउँदै,नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाउनुभयो।
त्यसैगरी,स्थानीय जनप्रतिनिधिहरूले पनि सुरक्षाका सवालमा प्रहरीको पहलप्रति धन्यवाद व्यक्त गर्दै,जनप्रतिनिधि-प्रहरी सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिवद्धता जनाएका छन्।
छलफलपछि आगामी दिनमा अपनाइने ठोस कार्ययोजना तयार पारिएको र त्यसको प्रभावकारी कार्यान्वयनमा सबै पक्षको समन्वय रहने जानकारी मरन्ठाना प्रहरी चौकीका इन्चार्ज राम बहादुर आलेले दिनुभयो।
प्रतिक्रिया राख्नुहोस्