प्युठान नगरपालिकाको सार्वजनिक सुनुवाई : उत्पादन र बजारीकरणमा ध्यान दिन सरोकारवालाको सुझाव 

प्युठान नगरपालिकाको सार्वजनिक सुनुवाई : उत्पादन र बजारीकरणमा ध्यान दिन सरोकारवालाको सुझाव 

राम बहादुर बिश्वकर्मा
प्युठान,उत्पादन र बजारीकरणमा ध्यान दिन प्युठान नगरपालिकालाई आग्रह गरिएको छ।
नगरपालिकाले आर्थिक वर्ष २०७९–८० को प्रथम चौमासिक प्रगति विवरणसहित सम्पादन गरेको कामको प्रभावकारिता तथा नागरिकको सन्तुष्टि तथा गुनासो सुनुवाइ गर्ने गरी सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन। 
त्यस्तै नगरपालिकाको विकासका लागि साना भन्दा ठूला योजनामा केन्द्रित हुने र दिनानुदिन मासिदै गएको झिमरुक फाटलाई संरक्षणका लागि ठोस योजनाका साथ कृषिलाई प्राथमिकता दिएर काम गर्न समेत उनीहरुको जोड थियो ।
प्रश्नकर्ता नागरिकहरूले राज्यले सरकारी क्षेत्रमा लगानी गर्ने तर राम्रो प्रतिफल नआइरहेको सन्दर्भमा विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहमा समेत प्रभावकारी कार्यहरू गर्नुपर्ने सुझाव दिएका थिए।प्रमुख प्रसासकीय अधिकृत महेश कुमार गुरुङले कार्यक्रमको औचित्य र उद्देश्य बारे प्रस्ट्याएको उक्त कार्यक्रममा सरोकारवालाहरूले शिक्षा,स्वास्थ्य,सडक,खानेपानी,सिँचाइ,यातायात खेलकुद र विद्युत लगायत विकासका पूर्वाधारहरू,पर्यटकीय क्षेत्रको प्रवर्द्धन,संरक्षण र विकास,कृषि उत्पादन र बजारीकरण,शान्ति र सुशासन लगायतका विषयमा प्रश्न तथा सुझाव राखेका थिए।नगरपालिकाले प्रथम चौमासिकमा सम्पन्न गरिएका योजना,नीति,कार्यक्रम तथा प्रदान गरिएका सेवाको पारदर्शिता सुनिश्चितता नगरपालिका मातहतका कार्यालयहरूको काम कारबाही,सेवा प्रवाह,योजना एवं कार्यक्रम,बजेट जस्ता सार्वजनिक विषयमा सम्बन्धित सेवा प्रदायक र सेवाग्राही बिच अन्तरक्रिया गराउने तथा सेवाप्रति सेवा प्रदायकलाई जबाफदेही बनाउने र सेवाग्राहीहरूको गुनासो वा जिज्ञासाहरूको बारेमा पारदर्शी बनाउने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत महेश कुमार गुरुङले बताए।
स्थानीय तहमा पारदर्शिता र जबाफदेहिताको औजारको रूपमा हेरिने सार्वजनिक सुनुवाई कार्यक्रमले सेवाग्राहीका लागि ठूलो महत्व राख्ने नेपाल पत्रकार महासघ प्युठानका अध्यक्ष सन्जय रिजालले बताए।नगरपालिकाका नगर प्रमुख बिष्णु बहादुर योगिको अध्यक्षतामा सञ्चालन गरिएको कार्यक्रममा नगरका उपप्रमुख देबेन्द्र बर्मा,वडाध्यक्ष सहितका जनप्रतिनिधि तथा सरोकारवाला,स्थानीयहरूको उपस्थिति रहेको थियो ।
नगरपालिकाको आयोजना तथा नेपाल पत्रकार महासंघ प्युठान शाखाको सहजीकरणमा सार्वजनिक सुनुवाई कार्यक्रमको सन्चालन महासघका सचिब प्रकाश बैद्दले गरेका थिए।प्रश्नकर्ताको जवाफमा नगर प्रमुख योगिले नगरपालिकाले विकास निर्माणको कामलाई तीव्रता दिएको, अनुदानका कार्यक्रमलाई पारदर्शी बनाउन केन्द्रित भएको, शिक्षा,स्वास्थ्य र कृषिलाई प्राथमिकता दिएर योजना अघि बढाएको प्रस्ट पारेका थिए। सो अवसरमा नगर प्रमुख बिष्णु बहादुर योगि,नगर उप प्रमुख देवन्द्र बर्मा,प्रमुख प्रशासकीय अधिकृत महेश कुमार गुरुङ र सम्बन्धित वडा अध्यक्षले सरोकारवालाहरुले राखेका जिज्ञासालाई सम्बोधन गरेका थिए ।
बुधबार  दिउँसो कालिका बिकास केन्द्र नेपाल बिजुवारको शभा हलमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय सेवाग्राही,जनप्रतिनिधि,पेसाकर्मी तथा स्थानीय नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
स्थानीय तहलाई पारदर्शिता र जबाफदेहीताका लागि सुशासन कार्यविधि बनाएर लागू गर्ने अधिकार भए पनि यहाँका अधिकांश स्थानीय तहहरूले जनताका गुनासो सुन्ने गरेको पाइएको छैन ।