दृढ नेतृत्व आवश्यक-एमाले प्युठान,महाधिवेशन तयारीमा केन्द्रित

दृढ नेतृत्व आवश्यक-एमाले प्युठान,महाधिवेशन तयारीमा केन्द्रित

राम बहादुर बिश्वकर्मा 
प्युठान,नेकपा एमाले जिल्ला कमिटी प्युठानको सचिवालय बैठक बिहीबार जिल्ला पार्टी कार्यालय बिजुवारमा सम्पन्न भएको छ। बैठकले मंसिर २७ देखि २९ गते काठमाडौँमा हुने ११ औँ राष्ट्रिय महाधिवेशनका लागि जिल्लाबाट जाने प्रतिनिधि सर्वसम्मत रूपमा चयन गर्ने सैद्धान्तिक सहमति गरेको जिल्ला अध्यक्ष बिजय बिराज बिष्टले जानकारी दिनुभयो। उहाँका अनुसार,सहमति प्राप्त नभएका विषयमा भने पार्टीको नियमावलीअनुसार विधिसम्मत प्रक्रिया अपनाइनेछ।
बैठकले महाधिवेशनको उद्घाटन सत्रमा प्युठान जिल्लाबाट ठूलो मात्रामा जन उपस्थिति सुनिश्चित गर्ने निर्णय गरेको छ। यसका लागि स्थान-स्थानमा कार्यकर्ता परिचालन,स्थानीय तहमा सूचना-सञ्चार र समन्वय समितिको गठन गर्ने तयारी भइरहेको अध्यक्ष बिष्टले बताउनुभयो।
साथै,महाधिवेशन कार्यक्रमहरूबारे संगठित प्रचार-प्रसार अभियान सञ्चालन गर्ने निर्णय बैठकको अर्को प्रमुख निष्कर्ष रहेको छ।

‘दृढ र राष्ट्रहितमा उभिन सक्ने नेतृत्व आवश्यक’

बैठकका प्रमुख अतिथि तथा पार्टी पोलिटब्युरो सदस्य,प्युठान जिल्ला इञ्चार्ज सूर्य थापाले प्युठानका कार्यकर्ताको सक्रियता र योगदानको प्रशंसा गर्दै महाधिवेशनमा जिल्लाले एकताबद्ध र सशक्त उपस्थिति जनाउने विश्वास व्यक्त गर्नुभयो।
थापाले विधान महाधिवेशनले पारित गरेको नीति तथा कार्यक्रमलाई आगामी महाधिवेशनले थप सुदृढ पार्ने उल्लेख गर्दै नेतृत्व चयनका क्रममा निष्ठावान्,सक्षम र संकटमा राष्ट्रका पक्षमा अडिग रहन सक्ने व्यक्तित्व रोजिनुपर्नेमा जोड दिनुभयो।
उहाँका शब्दमा,“सङ्कटका क्षणमा देश र जनताको पक्षमा अटल उभिन सक्ने व्यक्ति नै साँचो नेता हो।”
उहाँले पछिल्लो राजनीतिक परिस्थितिमा एमालेलाई देशी-विदेशी शक्तिहरूले घेराबन्दी गर्न खोजेको बताउनुभयो। यस्तो अवस्थामा राष्ट्रप्रेमी नेता–कार्यकर्ताहरू सशक्त रूपमा उभिनुपर्ने उहाँले बताउनुभयो।
जिल्ला अध्यक्ष बिष्टको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय सल्लाहकार परिषद् सदस्य,प्रदेश कमिटी सदस्य,जिल्ला सचिवालय सदस्यलगायतको उपस्थिति थियो।बैठकमा सहभागी नेताहरूले महाधिवेशन तयारी,संगठन विस्तार,जनसंपर्क बढाउने कार्यदल,प्रतिनिधि छनोट प्रक्रिया र पार्टीभित्रको विविध समन्वयका विषयमा आ-आफ्ना धारणा र सुझावहरूले सुझाव रहेका थिए।
बैठकपछि जारी गरिएको निष्कर्ष अनुसार,प्युठान जिल्लाले महाधिवेशनलाई संगठन सुदृढीकरणको अवसरका रूपमा उपयोग गर्ने तर ऐक्यबद्ध सहभागिता र शान्तिपूर्ण वातावरणलाई प्राथमिकता दिनेछ।
प्युठान एमालेले यस महाधिवेशनलाई केवल नियमित पार्टी गतिविधि नभई राजनीतिक दिशानिर्धारणको ऐतिहासिक चरणका रूपमा लिएको जनाएको छ।