राम बहादुर बिश्वकर्मा
प्युठान,सरुमारानी गाउँपालिकाको प्रशासनिक भवनभित्र अहिले नयाँ उर्जा छ सेवामा मग्न कर्मचारी,कर्मचारीको फुर्सदमा-पुस्तकका पाना पल्टिने आवाज र सेवाग्राहीका अनुहारमा देखिने उत्सुकता।
गाउँपालिकाले सुरु गरेको कार्यालयमै‘नमुना पुस्तकालय’अब केवल एउटा परियोजना होइन,स्थानीय शासनमा ज्ञान-मैत्री वातावरण निर्माणतर्फ उठेको महत्वपूर्ण कदम बनिसकेको छ।
किन आवश्यक भयो कार्यालयमै पुस्तकालय?
स्थानीय सरकार दिनदिनै कागजी फाइल,योजना,निर्णय र जनसेवाका गतिविधिले भरिएको हुन्छ।तर,योजना बनाउने कर्मचारीलाई नयाँ जानकारी,नीति अध्ययन गर्नुपर्ने अधिकारीलाई स्रोत र कामका लागि पर्खिरहेकाहरूलाई समय उपयोग गर्ने माध्यम अक्सर उपलब्ध हुँदैनथ्यो।
यही अभावलाई बुझेर गाउँपालिकाले दीर्घकालीन सोच बनाएर पुस्तकालय सञ्चालनमा ल्याएको पालिकाले जनाएको छ।
पुस्तकालयमा साहित्य,पत्रपत्रिका,कृषि-व्यवसायसम्बन्धी पुस्तक,कानून तथा स्थानीय शासनसम्बन्धी पुस्तक जस्ता सामग्रीले पर्खाइलाई उपयोगी र मनोरञ्जनात्मक बनाइदिएको छ।
सरुमारानी गाउँपालिका प्युठान द्वारा स्थापना गरिएको आकर्षक पुस्तकालय कक्ष
पालिका अध्यक्ष झग बहादुर बिश्वकर्माका अनुसार प्रविधिका कारण मानिस भर्चुअल संसारतर्फ डाइभर्ट भएको छ। पुस्तक पढ्ने रुचि घट्न थालेको छ।सेवाग्राहीले पर्खाइमा ज्ञान पाउन्,कर्मचारीले निर्णयमा तथ्य पाउन र युवाले यहीँबाट आफ्नो सकारात्मक सन्देश सिकाईको बाटो रोजुन-यही हो हाम्रो लक्ष्य।”
उहाँ थप्नुहुन्छ सामाजिक सञ्जालको विकाससँगै पुस्तक पढ्ने बानी हराउँदै गएको छ। 'मानिस फुर्सद भयो कि सामाजिक सञ्जालमा व्यस्त भइहाल्छ। पुस्तक पढ्ने असाध्यै कम छ।
अध्यक्षका यी भनाइहरूले स्पष्ट पारिदिन्छ कि यो पुस्तकालय केवल संरचना होइन,सरुमारानीको नयाँ पहिचान हो।
गाउँपालिका कार्यालयमै पुस्तकालय स्थापना गर्नु सानो कुरा जस्तो देखिए पनि यसको प्रभाव गहिरो छ।
यो कदमले-पठन संस्कृतिको विकास,स्थानीय कर्मचारीको क्षमता अभिवृद्धि,सेवाग्राहीमैत्री वातावरण निर्माण र समुदायमा ज्ञानको प्रसार सबैलाई एकसाथ अघि बढाउने बाटो खोलिदिएको छ।
तस्तै पालिकाका प्रमुख प्रशासकीय अधिकृत त्रिविक्रम खड्काले पठन संस्कृतिको आवश्यकता अहिलेको प्रशासनिक दक्षता तथा सामाजिक चेतनासँग प्रत्यक्ष रूपमा जोडिएको बताउनुभयो। उहाँका अनुसार पुस्तक पढ्ने बानीले कर्मचारीको निर्णय क्षमता,समस्या समाधान कौशल र कार्यप्रति उत्तरदायित्व अझ मजबुत बन्छ।
उहाँले पुस्तकालयलाई केवल किताब राख्ने स्थान मात्र नभई मानसिक शान्ति,आत्मचिन्तन र सृजनात्मकतामा प्रवेश गराउने पवित्र स्थलको रूपमा वर्णन गर्दै भन्नुभयो,“ध्यानस्थ भएर बस्नजस्तै,पुस्तकालयको वातावरणले मानिसलाई स्वभाविक रूपमा केन्द्रीकरण,अनुशासन र विनम्रतातर्फ उन्मुख गराउँछ।”
खड्काका अनुसार कार्यालयको व्यस्त दैनिकताले कर्मचारीलाई तुरुन्तै पुस्तकालयमै बसेर अध्ययन गर्न कठिन भए पनि अध्ययनलाई निरन्तर बनाइराख्न ‘घरमा लगेर पढ्ने’अभ्यासले राम्रो संस्कार विकास गरेको छ। धेरै कर्मचारीले आफूलाई आवश्यक पर्ने कानुनी,प्रशासनिक,व्यक्तित्व विकास तथा साहित्यिक किताब लिएर नियमित रूपमा अध्ययन गर्दै आउनुभएको छ,जसले उहाँहरूका कार्यशैलीमा सकारात्मक परिवर्तन देखिएको उहाँको भनाई छ।
सरुमारानी गाउँपालिकाले बोकेको यो बीउ आज रोपिएको छ-भोलि यसले ज्ञान,चेतना र विकासका नयाँ पाना पल्टाउनेछ।
यस परियोजनालाई गाउँपालिकाले ‘नमुना कार्य’ को रूपमा शुभारम्भ गरेको छ। गाउँपालिका केवल सेवा प्रवाह गर्ने ठाउँ मात्र होइन,ज्ञान, चेतना र सामाजिक रूपान्तरणको केन्द्र पनि हो।
यस कदमले अन्य स्थानीय तहलाई पनि यस्तै पहल गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया राख्नुहोस्