सिता बि.क
प्युठान,प्युठानको बढ्दो बजार सँगै सडकमा देखिन थालेका चुनौतीहरू केवल दैनिक झन्झट मात्रै रहेनन ती नगरको समग्र विकाससँग जोडिएका महत्वपूर्ण विषय बनेका छन्। बिहान–बेलुका बाग्दुला र विजुवार बजारको जाम,पार्किङको अव्यवस्था,बसपार्क सञ्चालनमा देखिने समस्या यी सबैले नगरवासीको दैनिकी मात्र होइन,स्थानीय व्यापार र सेवामा समेत प्रत्यक्ष असर पार्दै आएका छन्।
यही वास्तविकतालाई केन्द्रमा राख्दै प्युठान नगरपालिकाले मङ्गलबार यातायात व्यवस्थापनसम्बन्धी महत्वपूर्ण छलफल आयोजना गरेको छ। समस्या समाधानका लागि नगर प्रमुखदेखि लिएर प्रमुख जिल्ला अधिकारी,प्रहरी तथा ट्राफिक कार्यालयका प्रतिनिधि,उद्योग वाणिज्य संघ,यातायात व्यवसायी समिति तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
बैठकमा बाग्दुला र विजुवारको बढ्दो ट्राफिक चाप, टिकुरी बसपार्कको नियमित तथा व्यवस्थित सञ्चालन, जुम्री बसपार्क र विजुवार क्षेत्रका सवारी पार्किङका दिगो व्यवस्था,अनावश्यक, अव्यवस्थित काउन्टरहरूको विस्थापन,यी सबै विषयले नगरको सुगम यातायात मात्र होइन,समग्र शहरी अनुशासनलाई सुदृढ गर्ने लगायतका मुद्दाहरू उठाइएका थिए।
छलफल केवल औपचारिकतामा सीमित रहेन। उपस्थित निकायहरूले तत्काल कार्यान्वयनमा जान सकिने निर्णयहरू लक्षित गर्दै व्यावहारिक सुझावहरू प्रदान गरिएको बताइएको छ।
प्युठान नगरपालिकाका नगर प्रमुख बिष्णु योगि भन्नुहुन्छ-“यातायात व्यवस्था केवल सडकको समस्या होइन,यो नगरको संस्कृति,अनुशासन र नागरिक पहिचानसँग जोडिएको विषय हो।”
उहाँका अनुसार नगरपालिकाको निरन्तर प्रयाससँगै प्युठान नगरपालिकामा सहज,सुरक्षित र व्यवस्थित यातायात प्रणाली केवल लक्ष्य होइन,अब निकट भविष्यको वास्तविकता बन्नेछ।"
प्रतिक्रिया राख्नुहोस्