पर्यावरणमैत्री निर्णय : स्वर्गद्धारी नगरपालिकामा प्लास्टिक फूलमालामाथि रोक

पर्यावरणमैत्री निर्णय : स्वर्गद्धारी नगरपालिकामा प्लास्टिक फूलमालामाथि रोक

सिता बि.क
प्यूठान,चाडपर्वको रौनकसँगै वातावरणमैत्री अभ्यासलाई जोड दिँदै स्वर्गद्धारी नगरपालिकाले अब नगरपालिका क्षेत्रमा प्लास्टिक जन्य फूलमाला प्रयोग नगर्ने र यसको सट्टा प्राकृतिक पुष्पमालाको प्रयोगलाई प्रोत्साहन गर्ने निर्णय गरेको छ।
नगरकार्यपालिकाको ५३ औं बैठकले गरेको निर्णयअनुसार प्लास्टिकमुक्त तिहार अभियान अन्तर्गत स्थानीय स्तरमै उत्पादन भएका सयपत्री फूलबाट बनाइने माला प्रयोग गर्न नगरवासीलाई आग्रह गरिएको हो।
नगरपालिकाको कृषि विकास शाखाले आर्थिक वर्ष २०८१/०८२ अन्तर्गत विपन्न महिलाहरूका लागि सञ्चालित फूल खेती प्रवर्द्धन कार्यक्रम मार्फत दशैं-तिहार लक्षित व्यवसायिक सयपत्री फूल खेती स्वर्गद्धारी नगरपालिका–७,सोत्रेमा सुरु गरेको छ।
कृषक लक्ष्मी कालाथोकीले यस वर्ष पहिलोपटक व्यावसायिक रूपमा सयपत्री फूल खेती गरेको बताउँदै,“स्थानीयस्तरमै उत्पादन भएकाले सजिलो मात्र होइन, यसले आम्दानी र आत्मगौरव दुवै बढाउने विश्वास छ,”भनिन्।
नगरपालिकाका अनुसार यस कदमले पर्यावरण संरक्षण, स्थानीय उत्पादनको प्रवर्द्धन र मौलिक संस्कृतिको संरक्षणमा सकारात्मक प्रभाव पार्नेछ।
नगरपालिकाले तिहारमा माला किन्ने वा अर्डर गर्न चाहनेलाई सोत्रेकी कृषक लक्ष्मी कालाथोकीसँग सम्पर्क गर्न आग्रह गरेको छ।सम्पर्क नं.: ९७६१६५२६६५ / ९७४८८१७३०७ नगरका प्रमुख प्रशासकीय अधिकृत केशवराज भट्टराईका अनुसार, “हाम्रो लक्ष्य केवल सुन्दर माला होइन, स्वच्छ र आत्मनिर्भर नगरपालिका निर्माण गर्नु हो।”