जिल्ला अस्पताल प्युठान : बिरामी बढे,बढेन सेवा दिने क्षमता

राम बहादुर बिश्वकर्मा

प्युठान,जिल्ला अस्पताल प्युठानमा बिरामीको संख्या बढ्दै गएको छ।
बिशेषज्ञसहितको डाक्टर र सेवा सुविधा थपिएपछि अस्पताल बिरामीले भरिन थालेको हो ।
पछिल्लो समय दैनिक औषत ३ सय जना बिरामी उपचारका लागि  ओपीडीमा आउन थालेको  जिल्ला अस्पतालले जनाएको छ ।
बिरामी बढेपनि अस्पतालले सेवा दिने क्षमता भने बढाउन सकेको छैन।
बेडको अभावमा भुइँमै बसेर बिरामीहरू उपचार गराउन बाध्य छन्। ९ बेड क्षमताको आकस्मिक कक्षमा दिनहुँ ३० देखि ४० जना बिरामी आउछन। एउटै बेडमा २/३ जना बिरामी राख्नुपरेको छ। 

तस्बिर : शनिबार राती अस्पतालको इमर्जेन्सी शैयामा उपचाररत बिरामी 


अस्पतालमा अहिले ५३ बेड छन।बिरामीको चाप बढेकाले शैय्या नपुगेर भुइँमा राखेर उपचार गर्नुपरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमिला खनालले बताउनुभयो । अस्पतालमा सेवा लिने बिरामी बढे पनि जनशक्ति र संरचनाको अभाव भने कायमै छ । 
१५ शैय्याको अस्पताल स्तरोन्नतिका नाममा ५० शैय्याको बनाइएको छ । तर ५० शैय्याबाट दिनुपर्ने सेवाका लागि भवन पर्याप्त छैन।डा.खनालले भन्नुभयो,' आवश्यक पूर्वाधार नहुँदा सेवा प्रवाह गर्न समस्या छ ।'विरामीको उपचारका लागि जिल्लाका अरु स्थानिय तहबाट सहयोग लिएर जनशक्ती परिचालन गर्न थालिएको मेडिकल सुपरिटेन्डेन्ट डा. खनालले जानकारी दिनुभयो।
अस्पतालमा ७ जना मेडिकल अधिकृत र ७ जना बिशेषज्ञ चिकित्सकले नियमितरुपमा सेवा दिदैं आएका छन् । अस्पतालमा बिरामीको संख्या बढेपछि जनशक्तिको कमीले नियमित उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई समस्या परेको छ।