कोदोको सुनौलो बालीले झिमरुक थापाचौरमा चमक ल्यायो

राम बहादुर बिश्वकर्मा 
प्युठान,झिमरुक गाउँपालिका–२,बादिकोट स्थित थापाचौरका बारीहरु अहिले सुनौलो कोदोको फुलले लटरम्म भरिएका छन्। बर्खे खेतिको रूपमा लगाइने कोदो प्रायः मकैसँगै रोपिन्छ।
स्थानीय कृषकहरूका अनुसार,यस वर्षको मौसमी अवस्था अनुकूल भएकाले कोदोको उत्पादन उत्कृष्ट हुने अपेक्षा गरिएको छ। मकैसँगै रोपिने यो बाली यस क्षेत्रको पहिचान मात्र होइन,गाउँको आर्थिक मेरुदण्ड पनि बनेको छ। यही कारणले थापाचौरलाई धेरैले “कोदोको अन्न भण्डार” भनेर चिन्ने गर्छन्।
बारीका छेउमा उभिँदा हावा सँगसँगै हल्लिने सुनौलो कोदोका फुलहरू देख्दा मन नै प्रफुल्लित हुन्छ। यस्तै दृश्यले यहाँका कृषक मात्र होइन, बाहिरबाट आउने पर्यटक र फोटोग्राफीप्रेमीहरूलाई समेत आकर्षित गर्न थालेका छन्।

 "झिमरुक थापाचौरमा फुलेको कोदो"
तस्बिर सौजन्य: पत्रकार बासुदेव गिरी


थापाचौरका किसानहरूका अनुहारमा मुस्कान छ-कोदो राम्रो फल्ने आशा,बजारमा राम्रो मूल्य र गाउँमा बढ्दो चहलपहलले उनीहरूमा नयाँ ऊर्जा भरिदिएको छ। स्थानीय बताउँछन्,“हाम्रो पसिना सुनमा परिणत भएको छ जस्तो लाग्छ।”
बारीमा फैलिएको सुनौलो कोदोको दृश्यले यहाँका मानिसहरू मात्र नभएर पर्यटक र दृष्टान्तका लागि आउनेहरूलाई पनि मोहित बनाएको छ।
थापाचौरका हरेक घर वरिपरि फैलिएको कोदोको हरियालीले गाउँको वातावरणलाई जीवन्त र रमणीय बनाएको छ। बारीमा फुलेका सुनौलो फुलहरूले गाउँमा प्राकृतिक सौन्दर्यको अतिरिक्त सांस्कृतिक र परम्परागत पहिचान पनि प्रस्तुत गरेका छन्। 
एकीकृत कृषि तथा पशुपन्क्षी बिकास कार्यालय प्युठानका कृषि प्राबिधिक अशोक शर्माले जिल्लाका गौमुखी,झिमरुक र नौबहिनी गाउँपालिका स्थानीय तह अन्तर्गत १ हजार ८ सय ९४ हेक्टर क्षेत्रफलमा कोदो खेती भइरहेको जानकारी दिनुभयो।
उहाँका अनुसार,कोदो स्वास्थ्यका लागि अत्यन्त लाभदायी अन्न हो-प्रोटिन,फाइबर र खनिज पदार्थले भरिपूर्ण। साथै, यो जलवायु परिवर्तनमा अनुकूल फसल भएकाले भविष्यका लागि पनि सम्भावनायुक्त बाली मानिन्छ।