राम बहादुर बिश्वकर्मा
प्युठान,उमेरले ७ दशक पार गरिसक्दा पनि अहिलेसम्म नागरिकताको प्रमाणपत्र नपाई जीवनका अनगिन्ती कठिनाइ झेल्दै आउनुभएकी सरुमारानी गाउँपालिका–६ निवासी ७३ वर्षीया सुन्तली सार्कीले अन्ततः आफ्नो जन्म प्रमाणपत्र प्राप्त गर्नुभएको छ।
जन्मस्थानकै प्रमाणिकरण गरी कानुनी प्रक्रिया पुरा गर्दै जन्म प्रमाणीकरण भएपछि नागरिकता बन्ने निश्चित भएको हो।
सरल जीवन बिताउँदै आएकी सुन्तली सार्कीका लागि आजको दिन विशेष रह्यो। नागरकताका लागि जन्म प्रमाणिकरणले उहाँको अनुहारमा झल्किएको मुस्कानले मात्र होइन, उहाँसँगै रहेका परिवारका सदस्यहरू र स्थानीयवासीहरूको आँखा रसाए-यो केवल एउटा कागजको टुक्रा थिएन,बरु अधिकार,अस्तित्व र पहिचानको प्रमाण थियो।
बाल्यकालदेखि अहिलेसम्म विभिन्न सामाजिक, आर्थिक र कानुनी समस्यासँग जुझ्दै आउनुभएकी सार्की,नागरिकता नहुँदा स्वास्थ्य सेवा,सामाजिक सुरक्षा भत्ता,बैंक खाता, सम्पत्ति हकजस्ता आधारभूत सेवाबाट वञ्चित रहँदै आउनु भएको थियो। उहाँजस्ता धेरै नागरिकहरू अझैपनि राज्यको नजरमा ‘अदृश्य’ अवस्थामा छन्।तर यो अवस्था अन्त्य गर्न स्थानीय सरकारका प्रतिनिधि अगाडि बढे। सरुमारानी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता चिन्त सोमै मगरको व्यक्तिगत पहल र सक्रियतामा सुन्तली सार्कीको नागरिकता प्रक्रिया अघि बढाइयो। आवश्यक कागजात र प्रमाण संकलन गरी आज उहाँलाई जन्म प्रमाणीकरण प्रमाणपत्र प्रदान गरिएको हो।
सुन्तली सार्कीको जन्मघर सरुमारानी गाउँपालिका-४ मा रहेको छ भने अहिलेको कर्मघर सोही पालिकाको वडा नं. ६ मा पर्छ। 
जन्म प्रमाणीकरण सङ्गै सुन्तलीको अधिकारको ढोका खुल्यो
लामो समयदेखि जन्म प्रमाणीकरण नहुँदा र नागरिकता नपाउँदा सामाजिक सेवामा पहुँचबाट बञ्चित रहनुभएकी सार्कीलाई आजको दिनले नयाँ आशा र अधिकारको सुरुवात दिएको छ।आज जन्म प्रमाणीकरण प्रमाणपत्र प्राप्त पछि नागरिकता प्रमाणपत्र पनि बन्नेछ र अब उहाँले सरकारले प्रदान गर्ने सेवा-सुविधामा पहुँच पाउनुहुनेछ। सामाजिक सुरक्षा भत्ता,स्वास्थ्य बीमा,कानुनी सहायता र सामाजिक कार्यक्रममा सहभागिता उहाँको जीवनको हिस्सा बन्नेछन्।
सुन्तली सार्कीको नागरिकता प्राप्तिको यो ऐतिहासिक क्षणले अझै पनि नागरिकता नपाएका हजारौं नागरिकका लागि प्रेरणाको सन्देश बोकेको छ। विशेषगरी ग्रामीण र दुर्गम क्षेत्रमा नागरिकताको पहुँच अझै चुनौतीपूर्ण छ।
जन्म प्रमाणीकरण हरेक नागरिकको पहिचानको पहिलो पाइला हो,संविधानद्वारा प्रत्याभूत गरिएको जन्म दर्ता र नागरिकता प्राप्त गर्ने अधिकारबाट कुनै पनि व्यक्ति बञ्चित हुन सक्दैन।"प्रवक्ता चिन्त सोमै मगर भन्नुहुन्छ।बिना जन्म प्रमाणपत्र नागरिक सेवाहरूमा पहुँच असम्भवजस्तै हुन्छ। हामीले नागरिकता नपाएका ज्येष्ठ नागरिकहरूलाई प्राथमिकतामा राखेर काम गर्दैछौं।
प्रतिक्रिया राख्नुहोस्