राम बहादुर बिश्वकर्मा
प्युठान,सूचना र प्रविधि(आईटी)विषयका विद्यार्थी,निर्माण व्यवसायी संघ प्युठानका अध्यक्ष र सफल ड्रागन फल किसान,यी सबै परिचय एकै व्यक्तिसँग जोडिएको छ: उनी हुन प्युठान नगरपालिका ४ बिजुवारका नवीन श्रेष्ठ।उनका लागि सम्भावना कुनै एउटा क्षेत्रमा सीमित छैन।ज्ञान, मेहनत र दूरदृष्टिले उनलाई आज बहुआयामी सफलताको उचाइमा पुर्याएको छ।
आईटी अध्ययनरत रहँदा धेरैले उनलाई कम्प्युटर स्क्रिनमा सीमित देख्थे,तर नवीनले आफ्नै जन्मभूमिमा केही नयाँ गर्नुपर्छ भन्ने सोच बनाए। उनले भने, "आईटीले सोच बदल्यो तर जमिनमै काम गरेर जग बलियो बनाउने निर्णय गरेँ।"
प्युठान निर्माण व्यवसायी संघका अध्यक्षको रूपमा उनले जिल्लामा धेरै विकास योजनाहरूमा अग्रसर भूमिका खेलेका छन् । तर, त्यो जिम्मेवारीसँगै उनले ड्रागन फल खेतीजस्ता नवीन कृषि अभ्यासमा नवीन इतिहास रच्दैछन्।आफ्नै लगानीमा सुरु गरेको यो अनौठो र फलदायी खेतीले मात्र होइन,उनको मेहनत र लगनशीलताले गाउँभरिका किसानहरूलाई नयाँ प्रेरणा दिएको छ।
आज नवीनको खेतमा सयौँ बिरुवा छन्,जुन हरियो लहराझैँ फैलिएको देखिन्छ। ती बिरुवाले उत्पादन गरिरहेका खेतमा सुन्दर रातो र गुलाबी रंगका ड्रागन फलहरूले खेतलाई रंगीन बनाएका छन्।
नविनको ड्रागन बगैचामा फलेका लटरम्म ड्रागन फ्रुट
आधुनिक प्रविधि र वैज्ञानिक तरिका अपनाएर उनले गुणस्तरीय फल उत्पादन गरेका छन्,जसको माग स्थानीय बजारसँगै राजधानीसम्म राम्रो मूल्य पाएका छन्। यस खेतीले उनलाई आर्थिक रूपमा मात्रै होइन,सामाजिक रूपमा पनि सफल बनाएको छ। यस खेतीले नवीनलाई मात्र आर्थिक उन्नति दिएको छैन,उनको गाउँकै युवाहरूलाई रोजगारीको अवसर समेत सिर्जना गरेको छ।
विशेष गरेर केही वर्षअगाडि उनले सुरु गरेको ड्रागन फल खेती अहिले उनको पहिचान,आम्दानी र प्रेरणाको स्रोत बनेको छ।
नवीन श्रेष्ठले सुरुवातमा केही सय बिरुवाबाट खेती सुरु गरे। तर आज उनले ड्रागन खेतीलाई आधुनिक, वैज्ञानिक र व्यवसायिक मोडलमा रूपान्तरण गरेका छन्। "कृषि, निर्माण र प्रविधि-यी तीनै क्षेत्रलाई मिलाएर देशमै केही गर्न सकिन्छ भन्ने कुराको जिउँदो उदाहरण म बन्न खोजेको हुँ।"उनी भन्छन् ।
"सुरुमा त धेरैले हाँसो ठट्टा गरे,"नवीन सम्झन्छन्,"तर मलाई थाहा थियो,केही फरक गर्नु छ भने रिस्क लिनुपर्छ। ड्रागन फलको माग हरेक वर्ष बढिरहेको छ, मैले त्यही मौका चिनेँ।"
आईटीको ज्ञान,निर्माणको अनुभव र कृषिको क्रान्तिमा होमिएका: नवीन श्रेष्ठ
उनले थपे, "ड्रागन खेती सजिलो छैन तर मन लगाएर गरेमा यो व्यवसायले जीवनै बदल्न सक्छ। अब हाम्रो गाउँमा धेरै युवाले यो खेती अपनाउन थालेका छन्।"
उनको बहुपक्षीय सक्रियता र सफलताले धेरै युवाहरूलाई जागरूक बनाएको छ। अध्ययन, व्यवसाय र खेती- यी सबैलाई सँगै अघि बढाउन सकिन्छ भन्ने विश्वास दिन सफल भएका छन्।
नवीन श्रेष्ठ यतिबेला एक नाम मात्र होइन,सबैका प्रेरणा बनेका छन्।
प्रतिक्रिया राख्नुहोस्