राम बहादुर बिश्वकर्मा
प्युठान,सवारी चापका कारण दैनिक रूपमा भइरहेको अव्यवस्थित सडक जाम नियन्त्रण गर्न प्युठान नगरपालिकाले सक्रिय पहल थालेको छ।
यात्रु चढाउने र ओर्लाउने क्रममा भइरहेका ट्राफिक जाम र यात्रु सुरक्षामा देखिएको चुनौतीलाई मध्यनजर गर्दै नगर क्षेत्रको ट्राफिक व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यले नगरपालिकाले सरोकारवाला निकायहरूसँग समन्वय गर्दै यस्तो निर्णय गरिएको हो।
विशेषगरी बिजुवार,जुम्री,बाग्दुला बजार क्षेत्र र मुख्य चोकहरूमा बिहान र बेलुकी अत्यधिक भीड,अवैध पार्किङ र सवारी साधनको अव्यवस्थित सञ्चालनका कारण ट्राफिक जाम हुने गरेको पाइएपछि यस समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्नका लागि यातायात व्यवसायी संघ तथा सामाजिक संस्थासँग छलफल गर्दै प्युठान नगरपालिकाले नियमन र व्यवस्थापन सहित यस्तो निर्णय गरिएको प्युठान नगरपालिकाका नगर प्रमुख बिष्णु योगिले जानकारी दिनुभयो।
उहाँका अनुसार“ट्राफिक जाम बजार क्षेत्रको अनुशासनसँग सम्बन्धित बिषय भएकाले हामी सबैको सहयोग बिना यो समस्या समाधान हुन सक्दैन नगरपालिका यसको दीर्घकालीन समाधानका लागि कटिबद्ध छ।”
सडकछेउ टिकट काउन्टरमा रोक
नगरपालिकाले हालैको निर्णय अनुसार अब सडकछेउमा राखिएका अस्थायी यातायात काउन्टरहरू हटाएर सबै टिकट बिक्री बसपार्क स्थित आधिकारिक काउन्टरबाट मात्र हुने व्यवस्था लागू गरेको छ। यसबाट यात्रुहरूको सुरक्षा सुनिश्चित हुनुका साथै सवारी आवागमनमा सहजता आउने अपेक्षा गरिएको छ।
त्यस्तै बसपार्क,यातायात र बजार व्यवस्थापन नै नगरको दिगो विकासको मुख्य आधार हुने प्युठान नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तथा नगर प्रवक्ता सुमनराज श्रेष्ठले बताउनुभयो।
सडक छेउमा काउन्टर राखेर सेवा दिने प्रवृत्तिले सवारी साधन जथाभावी रोकिने,पैदल यात्रीलाई असुविधा हुने र ट्राफिक जाम हुने अवस्था आएको छ।यो निर्णय कार्यान्वयन पस्चात यात्रु तथा ब्यबसायी लाई निकै सहज हुनेछ।”उहाँका अनुसार जुम्री र टिकुरी बसपार्कको व्यवस्थित व्यवस्थापन,सडकछेउ काउन्टर हटाई बसपार्कमै सीमित गरिनु र बजार क्षेत्रमा सवारी चाप न्यूनीकरण गर्नु जस्ता गतिविधि प्युठान नगरलाई अनुशासित,सुरक्षित र दिगो विकासतर्फ उन्मुख गराउने आधारशिला हुन्।"स्थानीयको अपेक्षा
स्थानीय बासिन्दा तथा यात्रुहरूले नगरपालिकाको यस निर्णयलाई सकारात्मक रूपमा लिएका छन्। नियमित रूपमा जामको सामना गर्दै आएका नागरिकहरू अब केही राहतको अनुभूति गर्ने आशा गरिएको छ।उनीहरूको भनाइमा यदि उक्त अभियान निरन्तर र प्रभावकारी रूपमा अगाडि बढाइयो भने प्युठान नगर क्षेत्र छिट्टै सुगम र व्यवस्थित बजार क्षेत्रको रूपमा स्थापित हुनेछ।
प्रतिक्रिया राख्नुहोस्