सिता बि.क
प्युठान,प्युठानको गौमुखी गाउँपालिकाले “एक घर एक धारा” अवधारणाअनुसार आफ्ना स्थानीयवासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने अभियानमा ऐतिहासिक कदम चालेको छ।
उक्त योजना अन्तर्गत ४ हजार ७ सय २५ जनसंख्यालाई लक्षित गरी प्रत्येक घरधुरीसम्म शुद्ध पानी पुर्याउने लक्ष्यसहित नेपाल स्वास्थ्यका लागि पानी (नेवा) संस्थासँग आज सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो।
सम्झौतामा पालिका अध्यक्ष विष्णु गिरी,नेवा संस्थाका प्रतिनिधि र पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गा प्रसाद सुबेदीले हस्ताक्षर गर्नुभएको हो।
सम्झौता अनुसार, प्रत्येक घरधुरीमा शुद्ध खानेपानीको धारा जडान गरिनेछ। यसबाट विशेषगरी महिला,बालबालिका र वृद्धवृद्धाहरूको दैनिक जीवन सहज हुने, स्वास्थ्यमा सुधार आउने र समुदायमा समयको बचत हुने अपेक्षा गरिएको छ।
गाउँपालिकाका अध्यक्ष विष्णु गिरीले “यो आयोजना हाम्रो गाउँपालिकाको दीर्घकालीन योजना अन्तर्गतको ऐतिहासिक पाइला हो।उहाँले भन्नुभयो -"अब कुनै पनि नागरिक शुद्ध खानेपानीको अभावमा रहनु पर्ने छैन।”
उहाँका अनुसार आयोजना चालू आर्थिक वर्षभित्रै सम्पन्न गरिने लक्ष्य लिइएको छ। आयोजनापछि गाउँपालिकाभित्र खानेपानीको पहुँचमा महत्वपूर्ण सुधार आउने र ग्रामीण विकासमा नयाँ सम्भावनाहरू सुरु हुने विश्वास गरिएको छ।
यस सहकार्यपछि गाउँमा उत्साह र आशा देखिएको छ। खानेपानी जस्तो आधारभूत आबश्यकता पूरा हुने भएपछि स्थानीयवासीले खुसी व्यक्त गरेका छन्।
प्रतिक्रिया राख्नुहोस्