शोभाखर पन्थी
अर्घाखाँचि,लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता चेतनारायण आचार्य नियुक्त हुनु भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्री नियुक्त गर्नु भएको हो । लुम्बिनी प्रदेशको छैठौं मुख्यमन्त्री बन्नु भएका आचार्यलाई एमालेका २९ र कांग्रेसका २७ सहित ५६ सांसदको समर्थन छ । ८७ सदस्यीय प्रदेशसभामा सरकार गठनको लागि ४४ मत चाहिन्छ ।
अर्घाखाँची निर्वाचन क्षेत्र नं. १ क बाट प्रदेश सभा सदस्यमा दोस्रो कार्यकालका लागी निर्वाचित नव नियुक्त मुख्यमन्त्री आचार्यले बुधवार पद तथा गोपनियताको सपथग्रहण गर्ने कार्यतालिका छ ।
मुख्यमन्त्री सहित एमाले र कांग्रेका मन्त्रिहरुले पनि सपथ ग्रहण गर्ने योजना बनेको छ । एमालेबाट मुख्यमन्त्री सहित चार र कांग्रेसबाट पाँच जना गरी ९ जना मन्त्रिले सपथ ग्रहण गर्ने छन् । बाँकी तीन जना मन्त्रि पछी नियुक्त गर्ने तयारी छ ।
बुवा टिकाराम आचार्य र आमा तारादेवी आचार्यको माईलो सन्तानको रुपमा वि.सं. २०२५ साल जेठ २१ गते अर्घाखाँची जिल्लाको सन्धिखर्क-९ अँधेरीमा जन्मनुभएका आचार्यले कानुन बिषयमा स्नातक गर्नु भएको छ । २०३५ सालमा सिद्धार्थ माध्यममिक विद्यालय हंसपुर अध्ययन गर्दैगर्दा विद्यार्थी राजनीतिमा होमिएका आचार्य अनेरास्ववियूको प्रारम्भिक कमिटिको अध्यक्ष हुनु भएको थियो । त्यसपछी जिल्ला सदस्य हुदै बुटवल बहुमुखी क्याम्पसमा अध्यक्षको जिम्मेवारी सम्हाल्नु भयो । २०४६ सालमा ईलाका कमिटि सदस्य, २०४७ सालमा पार्टि जिल्ला कमिटी सदस्य तथा सचिवालय सदस्य हुनु भयो । २०५४ सालमा पार्टी जिल्ला सचिव ( जिल्ला पार्टी प्रमुख) भएर ११ बर्ष काम गर्नु भयो । २०६५ सालमा अञ्चल कमिटि सदस्य हुदै पुन: २०६९ सालमा पार्टीको जिल्ला अध्यक्ष भएर ९ बर्ष काम गरेको उहाँमा अनुभव छ । २०७८ सालमा पार्टीको केन्द्रिय सदस्य बन्नु भएका आचार्य अहिले दाङ जिल्ला ईञ्चार्जको जिम्मेवारीमा हुनुहुन्छ ।
यसअघि शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री, त्यसपछी एमाले नेता लिला गिरी नेतृत्वमा बनेको सरकरमा ग्रामीण खानेपानी तथा सहरी विकास मन्त्री भइसक्नु भएको छ । माओवादी नेता जोख बहादुर महराको नेतृत्वमा बनेको सरकारमा आचार्य आर्थिक मामिला तथा योजना मन्त्री बन्नु भएको थियो ।
आचार्य लुम्बिनी प्रदेशमा स्वच्छछवी भएको सक्षम नेताको रुपमा स्थापित हुनुभएको छ ।
क्यान्सर ,मिर्गौला लगायतका घातक रोगलाई परास्त गर्न सफल भएका उहाँ विकास प्रेमी हक्की नेताको रुपमा परिचित हुनुहुन्छ । पार्टीलाई अप्ठ्यारो परेका बखत काँध थाप्ने र पारलगाउने आचार्य नेकपा एमालेमा भएको सहमति अनुसार मुख्यमन्त्री बन्नु भएको हो ।
एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लिलागिरी मुख्यमन्त्री बन्ने समयमा आलोपालो मुख्यमन्त्री बन्ने सहमति भएकोले अहिले उपनेता मुख्यमन्त्री बन्नु भएको एमाले नेताहरुको भनाई छ ।
कोहुन् मुख्यमन्त्री आचार्य:-
अराखाँची जिल्ला साविक अर्घा गा.वि.स. वडा नं. ३ अधेँरी (हाल सन्धिखर्क नगरपालिका वडा नं. ९) मा पिता टिकाराम आचार्य र माता तारादेबी आचार्यको कोखबाट २०२४ जेठ २१ गते जन्मिनुभएका चेतनारायण आचार्य आफ्नो ११ वर्षको कलिलो उमेरबाट अनेरास्ववियुमा संगठित हुनुभयो । उहाँका पिता टिकाराम आचार्य अर्घाखाँची जिल्लाको कम्युनिष्ट पार्टीको संस्थापक नै भएकोले उहाँ बुवा एवं परिवारको प्रभावबाट राजनीतिमा आवद्ध गर्नुभयो।२०४० सालमा अनेरास्ववियु जिल्ला कमिटीको सदस्यमा निर्वाचित हुनुभएका आचार्य २०४३ सालमा उच्च शिक्षा अध्ययनको क्रममा बुटवल जानुभयो र अनेरास्ववियु बुटवल बहुमुखी क्याम्पसको प्रा.क. अध्यक्ष र जिल्ला कमिटी सदस्य बन्नु भयो । अर्घाखाँची जिल्ला पार्टीले उहाँको आवश्यकता जिल्लामा महशुस गरि जिल्ला फर्काएपछि २०४६ सालमा इलाका कमिटी सदस्य, २०४७ सालदेखि जिल्ला कमिटी सदस्य र जिल्ला कमिटी सचिवालय सदस्यको रुपमा ७ वर्ष काम गर्नुभयो।२०५४ सालको पार्टीको तेस्रो जिल्ला अधिवेशनबाट ३० वर्षको उमेरमा अर्घाखाँची जिल्ला पार्टीको सचिव(प्रमुख)मा निर्वाचित हुनुभयो । २०५४ पछि चौथो र पाचौं जिल्ला अधिवेशनबाट समेत सचिव पदमा निर्वाचित आचार्यले ११ वर्ष निरन्तर पार्टी प्रमुखको रुपमा काम गर्नुभयो । २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा अर्घाखाँची क्षेत्र नं. १ वाट पराजित आचार्य २०६५ देखि २०६९ सम्म लुम्बिनी अञ्चल कमिटी सदस्य भई पार्टी कामलाई निरन्तरता दिनुभयो । २०६९ सालमा भएको पार्टी जिल्लाको सातौं जिल्ला अधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित आचार्यले नेकपाको अवधिमा समेत अध्यक्ष भई ९ वर्ष पुनः जिल्ला पार्टी प्रमुखको रुपमा कार्यभार संहाल्नुभयो। २०७४ सालका भएको प्रदेश सभा निर्वाचनमा अर्घाखाँची प्रदेश क्षेत्र नं. १ बाट भारी मतले निर्वाचित आचार्य आन्तरिक मामिला तथा कानुन मन्त्री र ग्रामिण तथा शहरी विकास तथा खानेपानी मन्त्रीको समेत कार्यभार संहाल्नुभयो । २०७८ सालमा सम्पन्न पार्टीको दशौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित आचार्य अर्घाखाँची जिल्लाको सहइन्चार्जको जिम्मेवारीमा रहनुभयो। पार्टीले संचालन गरेको मिसन ग्रासरुट अभियानमा दाङ जिल्लामा खटिनुभएका आचार्यलाई पार्टी केन्द्रले गरेको कार्यविभाजन अनुसार दाङ जिल्लाको इन्चार्जको रुपमा हालसम्म कार्यरत रहनुभएको छ । २०७९ सालको प्रदेश सभा निर्वाचनमा गठवन्धनका विरुद्ध प्रतिस्पर्धा गरि अर्घाखाँची प्रदेश क्षेत्र नं. १ बाट निर्वाचित आचार्य नेकपा एमाले संसदीय दलको उपनेता बन्नुभयो।साथै लुम्बिनी प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी संहाल्नुभयो।
कानुन विषयमा स्नातक गरेका आचार्य पार्टीमा आजीवन पूर्णकालिन भई काम गरिरहनु भएको छ । विभिन्न आन्दोलनहरुमा जेल जीवन समेत ब्यतित गर्नुभएका आचार्यले क्यान्सर जस्तो भयानक रोगलाई समेत जितेर पार्टी काममा क्रियाशिल हुनुभयो ।पार्टी संगठनको काममा निरन्तर क्रियाशिल कुशल संगठक आचार्य पार्टी कार्यकर्ता विच लोकप्रिय र प्रभावशाली नेताको रुपमा चिनिनुहुन्छ। उहाँका १ दाजु, २ भाइहरु, २ दिदीहरु र १ बहिनी रहनुभएको छ।आचार्यको जीवनसंगिनी दिपा आचार्य अनेमसंघ अर्घाखाँची जिल्ला कमिटी अध्यक्ष र पार्टी जिल्ला कमिटी सदस्यको रुपमा क्रियाशील हुनुहुन्छ भने साइला भाई खुबिराम आचार्य पार्टी जिल्ला कमिटी सदस्यको रुपमा पार्टी काममा क्रियाशील हुनुहुन्छ । उहाँको १ छोरा सुवास आचार्य र १ छोरी सुप्रभा आचार्य हुनुहुन्छ ।
प्रतिक्रिया राख्नुहोस्