गुल्मी,गुल्मीको तम्घासस्थित आइसोलेसनमा उपचार गराइरहेका कोरोना संक्रमितको शनिबार राति मृत्यु भएको छ । धुर्कोट गाउँपालिका–४, जैसीथोकका ३६ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको र राति नै नेपाली सेनाको टोलीले शव व्यवस्थापन गरिसकेको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । उनको शव जैसीथोककै खोचेपानी सामुदायिक वनमा व्यवस्थापन गरिएको छ ।
उनलाई जेठ १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनीसँगै कोरोना पुष्टि भएका धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेल निको भएर काममा फर्केका छन् । जेठ २ गते भारतबाट आएर पाञ्जायन माविको क्वारेन्टाइनमा बसेका थिए ।
कोरोना पुष्टि भएपछि तम्घासस्थित रेसुंगा नगरपालिकाको आइसोलेसनमा राखेर उपचार हुँदै आएको थियो । गुल्मी अस्पतालका डा. उत्तम पच्याका अनुसार उनी क्यान्सरका बिरामी थिए । भारतमा क्यान्सरको शल्यक्रिया गरी फर्कंदा उनी संक्रमित भएको देखिएको छ । तीन पटकसम्म गरिएको परीक्षणमा पनि कोरोना पोजेटिभ आएपछि उनको आइसोलेसनमै उपचार भइरहेको थियो ।
गुल्मीमा संक्रमितको संख्या १२ पुगेको छ । २ जनाको मृत्यु भएको छ । दुई जना निको भएर घर फर्केका छन् । बाँकी ८ मध्ये एक जनाको काठमाडौं, तीन जनाको तम्घास र अन्यको सम्बन्धित गाउँपालिकाले तयार गरेको आइसोलेसनमा उपचार भइरहेको छ ।
गुल्मीका मदाने गाउँपालिकामा दुई, धुर्कोट गाउँपालिकामा तीन, रेसुंगा नगरपालिकामा तीन, रुरु गाउँपालिकामा दुई, छत्रकोट र चन्द्रकोट गाउँपालिकामा १/१ जना संक्रमित देखिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । मदानेका एक र धुर्कोटका एक जनाको मृत्यु भएको छ ।
कान्तिपुर डेलि बाट साभार गरिएको
प्रतिक्रिया राख्नुहोस्