झिमरुक गाउँपालिकामा कार्यकक्षमै कर्मचारी माथी हातपात

प्यूठान,प्यूठानको झिमरुक गाउँपालिकामा गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीका छोरा मिलन एमसी सहितका यूवाले कर्मचारीमाथी हातपात गरेका छन् । बुधवार प्रक्रिया नपुगेको योजनाको भूक्तानी लिन पुगेका एमसी नेतृत्वको यूवाले योजना शाखामा कार्यरत सहायक कर्मचारी दिपक जिसीलाई कार्यकक्षमै हातपात गरेको प्रमुख प्रशासकीय अधिकृत शुवास रिजालले जानकारी दिए ।आफूमाथी हातपात भएपछि योजना शाखाका कर्मचारी प्रमुख प्रशासकीय अधिकृत रिजालको कार्यकक्षमा सुरक्षाका लागि पुगेका थिए । तर, एमसी नेतृत्वको यूवाले आफूलाई समेत आक्रमणको प्रयास गरेको प्रमुख प्रशासकीय अधिकृत सुवास रिजालले प्रतिक्रिया दिए ।‘दिउँसै कार्यकक्षमा हातपात भएपछि ढुक्कसँग काम गर्ने वातावरण भएन’,रिजालले भने,‘कर्मचारी माथी अपशव्द प्रयोग गरेर जथाभावी बोलियो । यस्तो अवस्थामा कर्मचारीले कसरी काम गर्ने ?’ एमसी सहितका यूवाले कर्मचारीहरुलाई गाली बेइज्जती समेत गरेको प्रत्यक्षदर्शीका रुपमा रहेका अन्य कर्मचारीहरुले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीका छोरा मिलन एमसी सहितका यूवाले कर्मचारीमाथी हातपात गरेका छन् ।


वडा नम्वर ३ मा संचालन भएको पिपलारुख–पातल मैदान सडक योजनाको भूक्तानीका लागि यूवाहरु गाउँपालिका पुगेका थिए । उक्त योजनाको काम स्टिमेट अनुसार नभएपछि भूक्तानी रोकिएको कर्मचारीहरुले जानकारी दिए । एमसी अखिल क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष हुन् । यस विषयमा प्रतिक्रिया लिन खोज्दा एमसीको मोवाइल स्विच अफ छ । गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले विहिवार यस विषयमा छलफल हुने प्रतिक्रिया दिए ।