राम बहादुर बिश्वकर्मा
प्युठान,बिहानको हल्का घामले पहाडका काखहरू सुनौलो बनाइरहेको छ। शीतल हावाले वातावरणलाई अझ सुमधुर बनाउँछ र टाढा फैलिएको बिजुवार फाँटको हरियाली आँखामा बस्छ। यही सुन्दर दृश्यको बीचमा उभिएको छ प्युठान नगरपालिका वडा नम्बर-३,दैलेसिमलमा अबस्थित सहिदहरूको सम्झनामा निर्माण गरिएको युद्ध पर्यटकीय स्थल,जहाँ प्रकृतिको सौन्दर्य र इतिहासको गहिराइ एकअर्कासँग मिसिएका छन्।
यो स्थल केवल ढुंगा र सिमेन्टको संयोजन मात्र होइन यो बलिदानको कथा हो। देशको वर्तमान निर्माणमा आफ्नो जीवन अर्पण गरेका सहिदहरूको सम्झना यहाँ जोगाइराखिएको छ। प्रत्येक संरचना,मूर्ति र अक्षरले एउटा स्पष्ट सन्देश दिन्छ“त्याग बिनाको स्वतन्त्रता सम्भव हुँदैन।”
स्थल प्रवेशसँगै सबैभन्दा पहिले नजर खिच्ने कुरा सहिदहरूको नाम अंकित स्मारक हो। ती नामहरू केवल अक्षर होइनन् ती जीवन्त इतिहास हुन्। छेउमा कलात्मक ढंगले निर्माण गरिएका मूर्तिहरूले त्याग र साहसको अनुभूति गराउँछन्। नेपालको झण्डाको आकृतिले राष्ट्रिय स्वाभिमान र एकताको प्रतीक झल्काउँछ। यो आकृति लुम्बिनी प्रदेशकै दोस्रो ठूलो झण्डा आकृति हो। त्यस्तै भाद्र २३ र २४ को जेन्जी आन्दोलनमा सहादत प्राप्त व्यक्तिहरूको रक्ताम्ये जुताको आकृतिले थप भावुक बनाउँछ,जुन नेपालको पहिलो आकृति निर्माण मानिन्छ।
यस स्थलको अर्को विशेषता यसको भौगोलिक अवस्थिति हो। यहाँबाट बिजुवार फाँट,जिल्ला सदरमुकाम खलंगा,बेलुवा-खैरा र बाग्दुला बजार स्पष्ट देखिन्छ। बिहानको मन्द मौसम,दिउँसोको उज्यालो र साँझको सुनौलो आकाशले फरक–फरक अनुभूति दिन्छ।यही कारणले यहाँ आउने पर्यटक केवल घुम्न मात्र होइन,अनुभव लिन आउँछन्।
प्युठान नगरपालिका वडा नम्बर ३ का अध्यक्ष तथा नगर प्रवक्ता सुमनराज श्रेष्ठको परिकल्पनामा निर्माण भएको यस स्थलले नयाँ पहिचान बनाउँदै गएको छ। तत्कालीन जनयुद्धमा प्युठानमा सहादत प्राप्त सहिदहरूको सम्मान र सम्झनामा निर्माण गरिएको यो स्थलले भविष्यको पुस्तालाई पनि जानकारी दिन्छ। अध्यक्ष श्रेष्ठका अनुसार,देशमा भएका परिवर्तन र सामाजिक सुधारका लागि विभिन्न कालखण्डमा सहादत दिएका व्यक्तिहरूको स्मृति जोगाउने उद्देश्यले यो योजना तयार पारिएको हो।
वडा कार्यालय संरक्षक रहने गरी करिब २० लाख रुपैयाँ लगानीमा निर्माण सम्पन्न भएको यस स्थललाई आगामी दिनमा अझ व्यवस्थित र सुविधायुक्त बनाउने योजना अघि बढाइएको छ।
स्थानीय स्तरमा यसले सकारात्मक प्रभाव पारेको छ। निर्माण सम्पन्न पश्चात् दिनानुदिन आन्तरिक तथा बाह्य पर्यटक बढ्दो छ।आगमन बढेसँगै चिया पसल र स्थानीय उत्पादनको बिक्री वितरण विस्तार हुँदै गएका छन्। यसले स्थानीयहरूलाई रोजगारी र आत्मनिर्भर बन्ने अवसर दिएको छ।
तर,शौचालय,बाल उद्यान,आराम स्थल र खानेपानी जस्ता आधारभूत संरचनाको अभाव देखिन्छ। यी सुधार भएमा स्थल अझ धेरै पर्यटक आकर्षित गर्न सक्नेछ।
यस्तै अबलोकनको क्रममा आउनुभएकी प्युठान नगरपालिका–८ की बाग्दुलाकी शिखा गहतराजले यहाँको वातावरण शान्त र रमणीय छ। इतिहासलाई नजिकबाट महसुस गर्न पाइन्छ। तर आवश्यक पूर्वाधार बनेमा अझै उत्कृष्ट गन्तव्य बन्न सक्छ।
यो स्थल केवल स्मारक होइन व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास हुनु आवश्यक छ। समयसँगै यो स्थल भावनाको केन्द्र बन्दै गएको छ। यहाँ आउने हरेक व्यक्ति केही क्षणका लागि गम्भीर बन्छ,सहिदहरूको सम्झनामा टाउको निहुराउँछ र मनभित्र देशप्रतिको माया अझ गहिरो बनाउँछ।
स्थलको आकर्षण केवल ऐतिहासिक र प्राकृतिक सुन्दरतामा मात्र सीमित छैन। यहाँको सांस्कृतिक र शैक्षिक महत्वले पनि पर्यटक र विद्यार्थीहरूलाई शिक्षाप्रद अनुभव दिन्छ। बालबालिकादेखि बृद्धसम्म,सबैले यहाँ आउने क्रममा देशप्रतिको जिम्मेवारी र स्वतन्त्रताप्रतिको मर्म अनुभव गर्न पाउँछन्।
आज,यो युद्ध पर्यटकीय स्थल प्युठानको नयाँ पहिचान बनेको छ,जहाँ प्रकृति बोल्छ,इतिहास बोल्छ र सहिदहरूको सम्झना सधैं जीवित रहन्छ।
प्रतिक्रिया राख्नुहोस्