प्राकृतिक सुन्दरताको उपहारले परिचीत"बुलबुले-बाइसधारा"मा माघी मेला हुने

प्राकृतिक सुन्दरताको उपहारले परिचीत"बुलबुले-बाइसधारा"मा माघी मेला हुने

राम बहादुर बिश्वकर्मा
प्युठान,प्राकृतिक सुन्दरताको उपहारको रूपमा वर्णन गरिने प्रसिद्ध बाइसधारा बुलबुले मुलमा यस बर्ष पनी खेलकुद तथा विविध सास्कृतिक कार्यक्रम हुने भएका छन।
हरेक वर्ष माघ १ गतेको दिन प्युठान नगरपालिका-९ मरन्ठाना पाखाचिती स्थित बाइसधारामा विभिन्न खेलकुद तथा सास्कृतिक कार्यक्रम हुने गर्दछन। 

प्रकृतिको अनुपम उपहार,डाँडाकाँडाले घेरिएको प्राकृतिक सुन्दरता वरिपरी वन जङ्गलको साथ चराचुरुङ्गीको आवाज,पहाडको टुप्पो ,केही सानो वस्ती मानव निर्मित २२ वटा ढुङ्गे धारा लगायतका कृतिम तथा प्राकृतिक सुन्दरताको उपहारको रूपमा वर्णन गरिने बाइसधारा बुलबुले मुलमा यस बर्ष पनि विभिन्न खेलकुद र सास्कृतिक कार्यक्रम सन्चालन गरिने स्थानीय अन बहादुर भण्डारीले जानकारी दिनुभयो।
उहाँका अनुसार माघ १ गते बिहान ३ बजे देखि बाईस धाराको तातो पानीले स्नान, बिहान ६ बजे देखि स्थानीय बाट भजन कृतन,दिउँसो मारुनी नृत्य, पञ्चे बाजामा नाच गान, धनुषा बाण प्रतियोगिता,घैटो फोर प्रतियोगिता र  साझ ५ बजे पुरस्कार बितरण कार्यक्रम हुनेछन् ।

भित्री सतह बाट बुलबुल गर्दै निस्केको सङ्लो र कञ्चन पानी तथा स्वच्छ हावाको महसुस गर्दै प्राकृतिक सुन्दरताको भरपुर मनोरञ्जन लिन पाइने बाइसधारा बुलबुले मुल सहरको कोलाहलबाट टाढिएर प्रकृतिमा रमाउन चाहनेका लागि उक्त स्थानमा जाँदा स्वर्गमै पुगेको अनुभूति हुन्छ।
पर्यटकलाई स्वागत गर्न बनेका ती बाईस वटा ढुङ्गेधारामा सदैब रमाउन आउने युवाको लर्को नै लाग्ने गर्दछ यहाँ पुगेपछि फोटो,भिडियो र पानीसँग नखेलेसम्म टाढिएर जाने कमै छन्। 
बाइसधाराको प्रचारप्रसार भएसँगै दैनिक यसको अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या बढ्दै गएको स्थानीयवासी बताउँछन्। अहिले उक्त स्थान सम्म सडक पुगेकाले पनि अवलोकन गर्ने पर्यटकको सङ्ख्या बढ्दै गएको हो।
आज भन्दा झण्डै २ सय बर्ष पहिले दुधकोशीबाट प्युठान आएका कविराज भण्डारीले पानीको मुलको महिमा भएकै कारणले कोटहरूमा नबसी पाखाचिति मुल नजिकै बस्ती बसाली आफ्ना सन्तानहरूलाई त्यहाँ बस्ने वातावरण मिलाएको कुरा भण्डारी वंशावलीबाट बुझ्न सकिन्छ ।
सयौ वर्ष पुरानो लिसोको विशाल रूखमुनी समथर भुभागबाट एकै स्थानबाट पानी उम्रनु यहाँको प्रमुख विशेषता थियो तर अहिले लिसोको रूख नभई तेजुका साथै अन्य जातिका नयाँ पुराना धेरै रूखहरूले भरिपुर्ण ठाउँ प्राकृतिक रूपमा सफा र सुन्दर अनि रमणीय रहेको छ ।
जति जति मौषम चिसिदै जान्छ त्यतिकै मात्रमा त्यस मुलको पानी तातो हुने र जाडो समयमा नुहाउन सहज हुने स्थानिय वासिन्दाको भनाई छ।
माघेसक्रान्त्ति पर्वमा स्नान गर्दा छाला रोग तथा अन्य रोगहरू निको हुने धार्मिक विश्वास पनि गरिन्छ।
प्युठान नगरपालिका –९ का वडाध्यक्ष बिकास के सि ले  बाइसधाराको आकर्षण थप्न पूर्वाधार निर्माण गरिएको बताउनुभयो। पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको अवस्थामा यहाँको पूर्वाधार निर्माणलाई थप प्राथमिकता दिनुपर्ने भनाइ उहाँको छ। वडाध्यक्ष के सि ले भन्नुभयो, “यहाँको पर्यटकीय क्षेत्रका रूपमा विकास र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्न थप समन्वय गरिरहेको छु, प्राकृतिक स्रोतको उपयोग गरी आयआर्जनसँग जोड्ने गरी विकास गर्न आवश्यक रहेकाले सोही अनुसार काम गर्ने लक्ष्य लिएका छौँ।”