राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठानमा प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा प्युठान कारागारमा रहेका ४७ जना कैदीबन्दीले मतदान गर्ने भएका छन्।
नेपालको कानुनअनुसार अदालतबाट अन्तिम फैसला नभई पुर्पक्षका लागि थुनामा रहेका व्यक्तिहरूलाई मतदान गर्ने अधिकार रहन्छ। सोही व्यवस्था अनुसार कारागारभित्रै विशेष मतदान केन्द्र वा अस्थायी मतदान व्यवस्थामार्फत उनीहरूले समानुपातिक मत पत्रमा आफ्नो मताधिकार प्रयोग गर्नेछन्।
जिल्ला निर्वाचन कार्यालय प्युठानका प्रमुख पदम जि.सि का अनुसार,अदालतबाट अन्तिम फैसला नभई पुर्पक्षका लागि थुनामा रहेका व्यक्तिहरूको नाम मतदाता नामावलीमा समावेश भएमा उनीहरूलाई कारागारभित्रै अस्थायी मतदान केन्द्रमार्फत मत हाल्ने अवसर प्रदान गरिन्छ। यसका लागि निर्वाचन कर्मचारी,सुरक्षाकर्मी र कारागार प्रशासनबीच समन्वय गरिन्छ।
कारागारका भित्ताभित्र खस्ने ४७ मत संख्यात्मक रूपमा सानो देखिए पनि लोकतन्त्रको सिद्धान्तमा ती पूर्ण र बराबरीका मत हुन्। न्यायिक प्रक्रियामा रहेका व्यक्तिहरूलाई लोकतान्त्रिक अभ्यासबाट अलग नगरिने व्यवस्था राज्यको समावेशी चरित्रको संकेत हो।
लोकतन्त्रमा एउटा मतको मूल्य अर्को मतभन्दा कम हुँदैन।चाहे त्यो खुला मैदानमा खसियोस् वा कारागारको सीमित कक्षमा-मतको हैसियत समान हुन्छ।यसले कानुनी प्रक्रियामा रहेका व्यक्तिलाई पनि नागरिकको हैसियतबाट वञ्चित नगर्ने सन्देश दिन्छ।
प्रतिक्रिया राख्नुहोस्