मोटरसाइकल दुर्घटना : टिप्पर व्यवसायीले वेवास्ता गरेको भन्दै दाङ बन्दको घोषणा

मोटरसाइकल दुर्घटना : टिप्पर व्यवसायीले वेवास्ता गरेको भन्दै  दाङ बन्दको घोषणा

प्युठान,मोटरकाइलमा सवार प्यूठानका मामाभान्जालाई पछाडीबाट टिप्परले हानेर मृत्यु भएका प्यूठानका मामाभान्जाका आफन्तको मागप्रति टिप्पर व्यवसायी संघले वेवास्ता गरेको भन्दै भोली (आइतवार) दाङमा यातायात बन्दको घोषणा गरिएको छ । 
शुक्रवार राती घोराही उपमहानगरपालिका वडा नम्वर १० स्थित झारबैरा चोकमा झिमरुक गाउँपालिका ४ बांगेमरोठ कोट प्यूठानका १७ वर्षिय विशाल जिसी र उनका भान्जा नौवहिनी गाउँपालिका ६ लुङका १८ वर्षिय सागर केसीको टिप्परले हानेर मृत्यु भएको थियो । आफ्नै साइडमा पल्सर बाइकमा सवार उनीहरुलाई टिप्परले बसलाई ओभरट्याक गर्दा पछाडीबाट हानेको थियो। तुलसीपुरबाट घोराही तर्फ आउँदै गरेको रा १ क १३०७ नम्वरको टिप्परले रा २ प ५५८९ नम्वरको मोटरसाईकल राती १० बजे हानेको थियो। मृतकका आफन्तहरु र टिप्पर व्यवसायीबीच दिउँसभरी दाङमा छलफल भएपनि टिप्पर व्यवसायीले पीडितहरुको मागप्रति वेवास्ता गरेको विशालका दाजु राजेश जिसीले जानकारी दिए । दुवै पक्षलाई छलफल गराएर निकास निकाल्न समेत जिल्लाको प्रहरी प्रशासनले वेवास्ता गरेको पीडितहरुले गुनासो गरेका छन् । 

मृतक विशाल जिसी घोराहीको दाङ भ्यालीमा कक्षा १२ मा अध्ययनरत थिए । उनका भान्जा सागर केसी रोजगारका लागि भारत जाने क्रममा आफन्त भेटघाटका लागि घोराही पुगेका थिए।मागप्रति वेवास्ता गरेर अनिश्चितकालिन बन्दको घोषणा गरिने वार्ता समितिमा सहभागी झिमरुक गाउँपालिका प्यूठानका उपाध्यक्ष प्रमोदले चेतावनी दिएका छन् । ‘हाम्रो गुनासा र मागप्रति खेलाची गरिएको छ’,पोखरेलले भने,‘अकालमै गाउँपालिकाका भाइहरुले मृत्युवरण गर्नुपरेको छ, तर प्रहरी प्रशासन किन मौन छ ?’ उनले पछिल्लो समय बढ्दै गएको टिप्पर आतंकले धेरैको अकालमै ज्यान जाने खतरा बढिरहेको बताए ।