राम बहादुर बिश्वकर्मा
प्युठान,निर्वाचनको अघिल्लो दिन।गाउँ–सहरका सडकहरू शान्त देखिन्छन्। भित्तामा टाँसिएका पोस्टर हटाइएका छन्,माइकिङ बन्द छ,सभा–सम्मेलन रोकिएका छन्। कागजमा र सडकमा मौनता देखिए पनि मोबाइल स्क्रिनभित्र बहस र प्रचारको लहर भने रोकिएको छैन। प्रतिनिधि सभा सदस्य पदका लागि फागुन २१ गते हुने निर्वाचनको ३ दिन अघि मौन अवधि लागू भइसकेको छ। तर सामाजिक सञ्जालमा देखिएको सक्रियताले ‘मौन’ को अर्थमै प्रश्न खडा गरेको छ।निर्वाचन आयोग ले फागुन १८ गते राति १२ बजेदेखि कुनै पनि प्रकारको चुनावी प्रचार–प्रसार नगर्न स्पष्ट निर्देशन दिएको थियो। आचारसंहिताअनुसार मत माग्ने,उम्मेदवारको पक्ष–विपक्षमा सामग्री सार्वजनिक गर्ने वा मतदातालाई प्रभावित पार्ने सन्देश प्रसारण गर्न पाइँदैन।मौन अवधि भनेको मतदाताले शान्त वातावरणमा आफ्नो निर्णय लिन पाउने समय हो-दबाब, प्रचार र प्रभावबाट टाढा बसेर सोच्ने अवसर।तर यथार्थ फरक देखिएको छ। फेसबुक,टिकटक,इन्स्टाग्राम र रिल्सजस्ता प्लेटफर्ममा उम्मेदवारका भिडियो,चुनाव चिह्नसहितका पोस्ट र मत माग्ने अपिलहरू निरन्तर सेयर भइरहेका छन्।
स्थानीयका अनुसार विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट समर्थकहरूबाट यस्ता सामग्री बढी देखिएको छ। ती पोस्टहरूमा उम्मेदवारको उपलब्धि,परिवर्तनको नारा र भावनात्मक अपिल समावेश छन्।
एक युवा मतदाता भन्छन्,“गाउँमा त सभा–समारोह रोकियो,तर मोबाइलमा प्रचार झन् बढेको जस्तो लाग्छ।”अर्का एक ज्येष्ठ नागरिकको भनाइ छ, “नियम सबैका लागि बराबर हुनुपर्छ। अनलाइन पनि नियमकै दायरामा आउँछ।”मुख्य निर्वाचन अधिकृतको कार्यालय,प्युठानले सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी देबि शर्मा र कोष लेखा नियन्त्रण कार्यालयका प्रमुख खुमराज आचार्य लगायतको अनुगमन समिति मार्फत सामाजिक सञ्जालको निगरानी भइरहेको जनाएको छ। उजुरी परेमा वा प्रमाण भेटिएमा कारबाही गरिने दाबी गरिएको छ।
प्युठानको यो अनुभवले व्यापक प्रश्न उठाएको छ-डिजिटल युगमा मौन अवधि कत्तिको प्रभावकारी रहन सक्छ?
निर्वाचन केवल भोट हाल्ने दिन मात्र होइन,नियम र मूल्यको सम्मान गर्ने प्रक्रिया पनि हो। यदि मौन अवधिमा समेत प्रचार जारी रहन्छ भने निष्पक्षताको अनुभूति कमजोर हुन सक्छ।
राजनीति कर्मिहरू भन्छन्,आगामी दिनमा निर्वाचनसम्बन्धी डिजिटल आचारसंहिता थप स्पष्ट बनाउन,प्रविधिमैत्री अनुगमन संयन्त्र विकास गर्न र नागरिक सचेतना बढाउन आवश्यक छ।
प्रतिक्रिया राख्नुहोस्