भविष्यका आमाहरू सुरक्षित गर्न प्यूठानमा एचपिभी खोप अभियान 

भविष्यका आमाहरू सुरक्षित गर्न प्यूठानमा एचपिभी खोप अभियान 

राम बहादुर बिश्वकर्मा 
प्यूठान,जिल्ला समन्वय समिति प्यूठान तथा जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूका लागि एचपिभी (HPV) खोप कार्यक्रमसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। पाठेघरको मुखको क्यान्सरजस्तो गम्भीर रोगबाट किशोरीहरूलाई सुरक्षित गर्ने उद्देश्यले स्वास्थ्य कार्यालय प्युठानले कार्यक्रमको आयोजना गरिएको हो।
स्वास्थ्य कार्यालय प्यूठानका अनुसार पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान यही माघ २५ गतेदेखि फागुन ३ गतेसम्म जिल्लाभर सञ्चालन गरिनेछ। अभियान अन्तर्गत विद्यालय बाहिर रहेका १० वर्ष उमेरका बालिका तथा विद्यालय जाने कक्षा ६ देखि १० सम्म अध्ययनरत बालिकाहरूलाई लक्षित गरिएको छ।
स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख मधुसुधन खड्काले जानकारी दिँदै गत वर्ष खोप लगाउन छुटेका जिल्लाका ९ वटै स्थानीय तहका ३ सय ९४ जना बालिकालाई यसपटक खोप दिइने बताउनुभयो। उहाँका अनुसार कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय नजाने ११ देखि १४ वर्ष उमेर समूहका किशोरीहरू पनि लक्षित समूहमा रहेका छन्।

एचपिभी खोप कार्यक्रम बारे प्रस्तुतीकरण गर्दै जिल्ला स्वास्थ्य कार्यालय प्रमुख मधुसूदन खड्का 


स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लामा ३ हजार ४० डोज एचपिभी खोप प्राप्त भइसकेको छ र सोही अनुसार खोप व्यवस्थापन तथा वितरणको तयारी पूरा गरिएको छ। कार्यालयले खोप सुरक्षित,प्रभावकारी र निःशुल्क भएकाले लक्षित सबै किशोरीहरूले अनिवार्य रूपमा खोप लगाउन आग्रह गरेको छ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जि.सी. ले किशोरीहरूको स्वास्थ्य सुरक्षामा एचपिभी खोपको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले अभिभावक,विद्यालय र स्थानीय तहबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै सञ्चारकर्मीहरूले सही सूचना सम्प्रेषणमार्फत खोप अभियान सफल बनाउन सहयोग गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा प्रस्तुत तथ्यांकअनुसार विश्वमा हरेक वर्ष करिब ५ लाख ७० हजार महिलामा पाठेघरको मुखको क्यान्सर हुने गरेको अनुमान छ, जुन संख्या सन २०३० सम्ममा ७ लाख पुग्ने प्रक्षेपण गरिएको छ। यसैगरी हरेक वर्ष ३ लाख ११ हजार महिलाको मृत्यु हुने गरेकोमा सन २०३० सम्ममा मृत्युदर ४ लाख पुग्ने अनुमान गरिएको छ।
नेपालमा हरेक वर्ष करिब २ हजार १ सय ६९ महिलामा पाठेघरको मुखको क्यान्सर देखिने गरेको अनुमान छ। तीमध्ये १ हजार ३ सय १३ महिलाको वार्षिक रूपमा मृत्यु हुने तथ्यांकले देखाउँछ। यस आधारमा औसतमा दैनिक करिब ४ महिलाको यस क्यान्सरका कारण ज्यान जाने गरेको अनुमान गरिएको छ।
स्वास्थ्य कार्यालय प्यूठानको आयोजनामा सम्पन्न अभिमुखीकरण कार्यक्रममा जिल्ला समन्वय समितिका उप–प्रमुख दुर्गा रेग्मी,नेपाल पत्रकार महासंघ प्युठान शाखाका अध्यक्ष श्रीराम भण्डारी,प्युठान उद्योग बाणिज्य संघका अध्यक्ष सन्देश आचार्य,गैसस महासंघका अध्यक्ष बिजय्ब्कुमार श्रेष्ठ स्वास्थ्यकर्मी,तथा जिल्लाका क्रियाशील सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। भने कार्यक्रमको सहजीकरण स्वास्थ्य कार्यालय प्युठानका कोल्चेन अधिकृत कोशलराज बैद्द्यले गर्नुभएको थियो।