प्युठानमा मुख्य निर्वाचन कार्यालय स्थापना : मतदान अधिकार सुनिश्चित

प्युठानमा मुख्य निर्वाचन कार्यालय स्थापना : मतदान अधिकार सुनिश्चित

सिता बि.क 
प्युठान,आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै प्यूठानमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै जिल्लामा निर्वाचनको चहलपहल सुरु भएको छ। वन डिभिजन कार्यालय प्यूठानमा स्थापना गरिएको उक्त कार्यालयले अब जिल्लाको सम्पूर्ण निर्वाचन व्यवस्थापनको जिम्मेवारी सम्हाल्नेछ।
मुख्य निर्वाचन अधिकृत हिरण्य प्रसाद भण्डारीका अनुसार निर्वाचन आयोगबाट नियुक्ति पाएपछि प्रदेश स्तरीय अभिमुखिकरण सम्पन्न भएसँगै निर्वाचन सम्पन्न गराउने मुख्य जिम्मेवारी आफूहरूमा आएको हो। दुई दिनसम्म चलेको अभिमुखिकरणले निर्वाचनका आधारभूत पक्षहरू बुझ्न सहयोग गरेको भए पनि व्यवहारिक तयारीमा चुनौती रहेको उहाँको भनाई छ।
“निर्वाचन आयोगले हामीलाई एउटा झोला बाहेक अरु केही दिएको छैन,” उहाँले मुस्कुराउँदै भन्नुभयो,“कानुन, ऐन–नियम सबै आयोगको वेबसाइटबाट डाउनलोड गरेर अध्ययन गरिरहेका छौँ।” यद्यपि विगतका निर्वाचन अनुभवका आधारमा सफलतापूर्वक निर्वाचन सम्पन्न गर्न सकिनेमा उहाँ आशावादी हुनुहुन्छ। उहाँका अनुसार निर्वाचन आयोगले करिब ५१ प्रतिशत काम पूरा गरिसकेको छ।
एक मात्र निर्वाचन क्षेत्र रहेको प्यूठान जिल्लामा यसपटक १५८ मतदान स्थल र २३० मतदान केन्द्र तोकिएका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार जिल्लामा कुल १ लाख ६५ हजार ४०६ मतदाता रहेका छन्। निर्वाचनलाई व्यवस्थित र सुरक्षित बनाउन करिब १ हजार ५ सय कर्मचारी र २ हजार ५ सय सुरक्षाकर्मी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी शान्तिराज प्रसाईले जानकारी दिनुभयो।
निर्वाचन शान्तिपूर्ण,भयरहित र निष्पक्ष बनाउन सबै सरोकारवालाको भूमिका महत्वपूर्ण रहेको बताउँदै नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष श्रीराम भण्डारीले शुभकामना व्यक्त गर्नुभयो। साथै, सूचनाको छिटो र प्रभावकारी सम्प्रेषणका लागि निर्वाचन कार्यालयसँग सहकार्य गर्न तयार रहेको उहाँको भनाइ थियो।
यसैबीच निर्वाचन सुरक्षामा खटिने प्रहरी भर्नाका लागि दरखास्त दिने समयावधि थप गरिएको छ। माघ १ गतेसम्मका लागि तोकिएको समयभित्र आवश्यक मात्रामा दरखास्त नपरेपछि जिल्ला प्रशासन कार्यालयले दुई दिनको समय थप गरेको हो।
प्यूठान प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीका अनुसार माघ २ र ३ गते सार्वजनिक बिदा भए पनि दरखास्त दिन सकिने व्यवस्था मिलाइएको छ। यसपटक प्यूठानमा १ हजार ५ सय ३५ जना निर्वाचन प्रहरी भर्ना गरिनेछ।
जिल्लाभर फैलिएका मतदान केन्द्र, ठूलो संख्यामा मतदाता, सीमित स्रोत र समयबीच पनि निष्पक्ष निर्वाचन सम्पन्न गर्ने चुनौती प्यूठान प्रशासनका सामु छ। तर अनुभव, समन्वय र प्रतिबद्धताका आधारमा प्यूठान फेरि पनि सफल निर्वाचनको उदाहरण बन्ने अपेक्षा गरिएको छ।