राम बहादुर बिश्वकर्मा
प्युठान,ऐतिहासिक पहिचान,साझा संस्कृति र पुस्तौंदेखि जोगिँदै आएको सामाजिक मूल्यलाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यका साथ रघुबन्शी भण्डारी सेवा समाज नेपाल कौशिक गोत्र जिल्ला तदर्थ समिति,प्युठान गठन गरिएको छ। यो समिति गठनलाई समुदायभित्रको एकता र दीर्घकालीन सोचको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।
विगत लामो समयदेखि प्युठान जिल्लाका विभिन्न स्थानमा बसोबास गर्दै आएका रघुबन्शी कौशिक गोत्री भण्डारीहरूबीच आपसी भेटघाट र समन्वय भए पनि औपचारिक संरचनाको अभाव थियो।यही आवश्यकता महसुस गर्दै आयोजित भेलाले जिल्ला तदर्थ समिति गठनको बाटो खोलेको हो।
समुदायलाई एउटै मञ्चमा जोड्ने प्रयास भेलामा समुदायका ज्येष्ठ नागरिक,समाजसेवी, बुद्धिजीवी तथा ऊर्जाशील युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। छलफलका क्रममा समुदायको इतिहास,गोत्रीय परम्परा,आपसी सम्बन्ध र वर्तमान सामाजिक अवस्थाबारे खुलेर विचार–विमर्श गरिएको थियो।
सहभागीहरूले आधुनिक समयसँगै समुदायभित्र देखिएका चुनौती पहिचान कमजोर हुँदै जानु, पुस्तान्तरणमा देखिएको दूरी र संगठित सामाजिक पहलको अभाव-लाई समाधान गर्न समिति अपरिहार्य भएको धारणा व्यक्त गरे।
त्यस्तै संयोजकमा गिर बहादुर भण्डारी रहने गरि १५ सदस्यीय नवगठित जिल्ला तदर्थ समिति गठन गरेको हो। कार्यक्रममा वक्ताहरूले गोत्रीय एकता केवल नामको सीमामा नभई व्यवहार,सहयोग र साझा उद्देश्यमा देखिनुपर्नेमा जोड दिए। “समिति गठन सुरुवात मात्र हो,अब यसलाई सक्रिय,पारदर्शी र सबैलाई समेट्ने बनाउनु हाम्रो साझा दायित्व हो,”सहभागीहरूको भनाइ थियो।
प्युठानमा गठित यो जिल्ला समितिले स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म समुदायको आवाज बुलन्द गर्न सहयोग पुग्ने विश्वास लिइएको छ। समुदायका सदस्यहरूले यस पहललाई ऐतिहासिक उपलब्धिका रूपमा लिँदै आगामी दिनमा अझ सशक्त र प्रभावकारी बनाउने अठोट व्यक्त गरेका छन्।
नव गठित तदर्थ समितिका संयोजक भण्डारीले “समुदायको ऐतिहासिक,सांस्कृतिक,सामाजिक र पारिवारिक पहिचानलाई जगेर्ना गर्ने,यसको संरक्षण र प्रवर्द्धन गर्नुका साथै आगामी पुस्ताहरूले आफ्नै सांस्कृतिक,सामाजिक र पारिवारिक मूल्यहरू बुझ्न,आत्मसात् गर्न र समुदायभित्रको सहकार्य,आपसी समझदारी, पारस्परिक सम्मान र सामाजिक जिम्मेवारीलाई मजबुत बनाउन सकून् भन्ने दीर्घकालीन उद्देश्यका साथ,कविभिन्न क्षेत्रका विशेषज्ञहरू,स्थानीय बुजुर्ग,सामाजिक कार्यकर्ता,पारिवारिक प्रतिनिधि र समुदायका अन्य सक्रिय सदस्यहरूको सक्रिय सहभागितामा गोत्रीय समिति गठन गरिएको भण्डारीले स्पष्ट पार्नुभयो,जसले केवल परम्परागत ज्ञान,सामाजिक संरचना र सांस्कृतिक क्रियाकलापहरूको व्यवस्थित सञ्चालन सुनिश्चित गर्नेछ तर आवश्यक स्रोत र साधनहरूको व्यवस्थापन,आगामी कार्यक्रमहरूको आयोजना,समुदायभित्रको सांस्कृतिक चेतना अभिवृद्धि,ऐतिहासिक घटनाहरूको दस्तावेजीकरण र भविष्यमा समुदायको पहिचान सुरक्षित राख्ने विस्तृत पहलहरूलाई समेत समेट्ने काम गर्नेछ र यस समितिको गठनबाट समुदायमा आपसी सहयोग, नेतृत्व विकास,सामाजिक समावेशिता,निर्णय प्रक्रियामा पारदर्शिता र आगामी पुस्ताहरूलाई आफ्नो सांस्कृतिक र सामाजिक जिम्मेवारीबोध गराउने वातावरण निर्माण हुने अपेक्षा गरिएको छ।”
अर्का वक्ता अन बहादुर भण्डारीले भन्नुभयो“हामी एउटै गोत्र,एउटै इतिहासका सन्तान हौं। समिति गठन केवल संगठन बनाउने कुरा होइन, यो हाम्रो जिम्मेवारी सम्झिने सुरुवात हो।आजको पुस्ताले आफ्नो मूल चिनेर अगाडि बढ्न सक्यो भने मात्र हाम्रो पहिचान सुरक्षित रहन्छ। यस समितिले त्यो बाटो देखाउने विश्वास छ।”
समितिले निकट भविष्यमै जिल्ला भित्रका सदस्यहरूको विवरण संकलन,नियमित भेटघाट कार्यक्रम,सामाजिक सेवा अभियान र सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ। साथै,प्रदेश र राष्ट्रिय तहमा रहेका समान प्रकृतिका संगठनहरूसँग समन्वय गर्दै जिल्ला कार्यसमिति लाई पुर्णता दिने लक्ष्यसमेत लिइएको छ।
प्रतिक्रिया राख्नुहोस्