मानवताको दीप बाल्दै,लायन्स क्लब अफ प्युठान

राम बहादुर बिश्वकर्मा
प्युठान,विश्वभर सामाजिक सेवाको प्रतीकका रूपमा परिचित लायन्स क्लबका संस्थापक मेल्भिन जोन्स (Melvin Jones) को १४७औँ जन्मजयन्तीको अवसरमा लायन्स क्लब अफ प्युठानले मानवीय सेवाको गहिरो सन्देश बोकेको कार्यक्रम सम्पन्न गरेको छ। क्लबले प्युठान नगरपालिका–४,टारीमा अवस्थित भित्रिकोट सामुदायिक सिकाइ केन्द्रमा सञ्चालनमा रहेको कपडा बैंकका लागि कपडा सङ्कलन तथा हस्तान्तरण गर्दै जन्मजयन्तीलाई सेवामै समर्पित गरेको हो।
मेल्भिन जोन्सले सन् १९१७ मा लायन्स क्लब स्थापना गर्दा अघि सारेको “We Serve” भन्ने मूल मन्त्र आज पनि उत्तिकै सान्दर्भिक रहेको क्लबका सदस्यहरू बताउँछन्। यही दर्शनलाई आत्मसात् गर्दै लायन्स क्लब अफ प्युठानले औपचारिक कार्यक्रम,भाषण वा उत्सवभन्दा पनि समुदायमा प्रत्यक्ष प्रभाव पार्ने कार्यलाई प्राथमिकता दिएको कपडा ब्यबस्थापन कार्यक्रमका संयोजक कमल श्रेष्ठले जानकारी दिनुभयो।
उहाँका अनुसार कार्यक्रमका लागि क्लबका सदस्यहरूले व्यक्तिगत तथा सामूहिक रूपमा प्रयोगयोग्य कपडाहरू सङ्कलन गरेका थिए। सङ्कलित कपडाहरू पुरुष,महिला र बालबालिकाका लागि छुट्टाछुट्टै वर्गीकरण गरी व्यवस्थित रूपमा कपडा बैंकलाई हस्तान्तरण गरिएको हो। यसले कपडा बैंकको व्यवस्थापन र वितरण प्रक्रियालाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।
भित्रिकोट सामुदायिक सिकाइ केन्द्रमार्फत सञ्चालन भइरहेको कपडा बैंक प्युठान जिल्लामै सामाजिक सुरक्षाको एउटा उदाहरणीय अभ्यासका रूपमा चिनिन थालेको छ। केन्द्रले वर्षभरि नै विपन्न परिवार, एकल महिला,ज्येष्ठ नागरिक,अपाङ्गता भएका व्यक्ति तथा आकस्मिक विपद् वा आगलागी,बाढीपहिरोजस्ता घटनाबाट प्रभावित परिवारलाई निःशुल्क कपडा उपलब्ध गराउँदै आएको छ। लायन्स क्लब अफ प्युठानको सहयोगले यस अभियानलाई निरन्तरता दिन थप ऊर्जा मिलेको केन्द्रका अध्यक्ष सुमन सुबेदिले बताउनुभयो।
कार्यक्रममा सहभागी स्थानीयहरूका अनुसार यस्ता सहयोगले केवल शारीरिक आवश्यकता मात्र पूरा गर्दैन,यसले आत्मसम्मान र अपनत्वको भावना पनि जगाउँछ। “कसैबाट प्रयोग गरिएको कपडा पाउनु लज्जाको विषय होइन, यो त मानवीय सहकार्यको सुन्दर उदाहरण हो,”एक सहभागीको भनाई छ।
लायन्स क्लब अफ प्युठानले यसअघि पनि आँखाको स्वास्थ्य शिविर,शैक्षिक सामग्री वितरण, विपन्न विद्यार्थी सहयोग,वातावरण संरक्षण तथा सामाजिक सचेतनाका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। क्लबका पदाधिकारीहरू भन्छन समाज परिवर्तन ठूला योजना भन्दा पनि साना तर निरन्तर सेवाबाट सम्भव हुन्छ।
जन्मजयन्तीको अवसरमा गरिएको यो कपडा सङ्कलन तथा हस्तान्तरण कार्यक्रमले लायन्स क्लबको अन्तर्राष्ट्रिय मूल्य, स्थानीय आवश्यकता र मानवीय संवेदनशीलतालाई एउटै सूत्रमा बाँधेको क्ल्बका अध्यक्ष नवीन कुमार श्रेष्ठको भनाई छ। उहाँका अनुसार यस्ता कार्यक्रमले समुदायमा सहयोग संस्कृतिको विकास गर्नुका साथै नयाँ पुस्तालाई पनि सेवामुखी कार्यतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ।
लायन्स क्लब अफ प्युठानले आगामी दिनहरूमा स्थानीय तह,सामाजिक संघसंस्था तथा समुदायसँग सहकार्य गर्दै शिक्षा, स्वास्थ्य र सामाजिक संरक्षणका क्षेत्रमा अझ प्रभावकारी कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ। मेल्भिन जोन्सको जन्मजयन्ती यसरी केवल सम्झनाको दिन नभई सेवाको प्रेरणाका रूपमा स्थापित भएको क्लबको विश्वास छ।