सिता बि.क
प्युठान,प्युठानको जुम्रीमा राष्ट्रिय एकता दिवसको अवसरमा साहित्यिक बहस,स्रष्टा सम्मान र वैचारिक परिसंवादको केन्द्र बनेको छ। लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपाल,प्युठान शाखाको आयोजनामा सम्पन्न साहित्यिक भेलाले स्थानीय मात्र नभई समग्र नेपाली समाजमा साहित्यको भूमिका र राष्ट्रिय एकताको आवश्यकता माथि गम्भीर विमर्शको ढोका खोलेको छ।
कार्यक्रम लुम्बिनी वाङ्मय प्रतिष्ठान प्युठान शाखाकी अध्यक्ष राजकुमारी कुवरको अध्यक्षतामा सम्पन्न भएको थियो। अध्यक्ष कुवरले आफ्नो मन्तव्यमा साहित्य समाजको ऐना मात्र नभई समाज परिवर्तनको संवाहक भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले नयाँ पुस्तालाई सिर्जनामा जोड्न प्रेरणा दिने बताउनुभयो।
उहाँका अनुसार नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्याउने स्रष्टाहरूलाई सम्मान गर्दै साहित्यिक चिन्तन र समसामयिक विषयमा परिसंवाद गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि प्युठान नगरपालिकाका नगर प्रमुख विष्णु योगीले पृथ्वीनारायण शाहको योगदानलाई स्मरण गर्दै नेपालको एकीकरण केवल भूगोलको मात्र नभई भावना र चेतनाको एकीकरण भएको बताउनुभयो। विश्व राजनीतिमा बढ्दो ध्रुवीकरण र ट्रम्पवाद जस्ता प्रवृत्तिको उदाहरण दिँदै उहाँले नेपाली समाजलाई विभाजन होइन,एकताको सूत्रमा बाँध्न साहित्य,कला र संस्कृतिले महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो।
“आस्था,विचार र जीवनशैली फरक हुन सक्छन्,तर हामी सबै नेपाली हौं भन्ने चेतना बलियो हुनुपर्छ,” उहाँले भन्नुभयो, “साहित्यले यही चेतनालाई कलात्मक र प्रभावकारी ढङ्गले समाजमा प्रवाह गर्छ।”
परिसंवाद कार्यक्रमका वक्ता लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष ऋषि आजादले पृथ्वीनारायण शाहको ऐतिहासिक भूमिकामाथि समग्र दृष्टिकोण प्रस्तुत गर्नुभयो। उहाँले इतिहासलाई अन्धभक्ती वा पूर्ण अस्वीकार दुवैबाट अलग राख्दै आलोचनात्मक चेतनासहित बुझ्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
अधिकारकर्मी पार्वता आचार्यले साहित्य र अधिकार चेतनाबीचको सम्बन्धबारे धारणा राख्दै साहित्यले सीमान्तकृत आवाजलाई मूलधारमा ल्याउने काम गर्नुपर्ने बताउनुभयो। त्यसैगरी गौमुखी माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक तथा परिसंवाद कार्यक्रममा वक्ता जायश्वर जैशीले एकता दिवसको औपचारिक मनाइ मात्र पर्याप्त नभएको बताउनुभयो। उहाँको दृष्टिमा,वास्तविक एकता केवल उत्सव वा प्रतीकात्मक दिन मनाएर हासिल हुँदैन,यसको लागि सबैका मन र भावना सँगै जोडिनु आवश्यक छ। उहाँले स्पष्ट पार्नुभयो कि ऐतिहासिक दृष्टिले राजा वा महाराजहरूलाई एकताको प्रतीक मान्नु उचित हुँदैन,किनकि समाजको वास्तविक शक्ति र एकताको आधार जनतामा नै निहित हुन्छ। ऐतिहासिक पात्रहरूको नाम मात्र उच्चारण गर्नुको सट्टा,उनीहरूले गरेका काम र त्यसको परिणामस्वरूप समाजमा स्थापित भएको संरचना र व्यवस्थालाई समालोचनात्मक दृष्टिले विश्लेषण गर्नु जरुरी छ।परिसंवादमा वक्ताहरूले पृथ्वीनारायण शाहको योगदानलाई ऐतिहासिक सन्दर्भ,वर्तमान आवश्यकता र भविष्यको दृष्टिकोणबाट हेर्दै सकारात्मक र आलोचनात्मक दुवै कोणबाट बहस गरेका थिए। बहसले कार्यक्रमलाई केवल औपचारिक नभई बौद्धिक रूपमा समेत अर्थपूर्ण बनाएको सहभागीहरूको प्रतिक्रिया थियो।
कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष साहित्यिक सम्मान थियो। साहित्य क्षेत्रमा लामो समयदेखि निरन्तर सिर्जनामा सक्रिय अग्रज स्रष्टा गेहराज थापा,कमल पोख्रेल र लिला पुनलाई नगद,सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो। सम्मानित स्रष्टाहरूले साहित्यिक यात्राका अनुभव सेयर गर्दै नयाँ पुस्तालाई निरन्तर लेखनमा लाग्न आग्रह गरेका थिए।
शाखाका सह–सचिव ध्रुव गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सदस्य लोकेन्द्र जि.सि ले गर्नुभएको थियो भने परिसंवादको प्रस्तोताको भूमिकामा शाखा उपाध्यक्ष सुमन सुवेदी रहनुभएको थियो।
कार्यक्रमले साहित्य केवल शब्दको सौन्दर्य नभई समाज परिवर्तन र राष्ट्रिय एकताको सशक्त माध्यम हो भन्ने सन्देश प्रवाह गरेको निष्कर्ष सहभागीहरूले निकालेका छन्।जुम्रीमा सम्पन्न उक्त साहित्यिक भेला स्थानीय स्तरमा बौद्धिक चेतना र सांस्कृतिक पहिचानलाई थप सुदृढ बनाउने महत्वपूर्ण पहलका रूपमा लिइएको छ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम भण्डारी,जिल्लाका कृयाशिल सन्चारकर्मी साहित्यकार,स्रष्टा,बुद्धिजीवी तथा साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रतिक्रिया राख्नुहोस्