प्युठान,झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोखरेलले माध्यमिक शिक्षा परीक्षा (एसईई)२०८१ मा उत्कृष्ट नतिजा हासिल गर्ने झिमरुकका विद्यार्थीहरूलाई नगदसहित सम्मान गरेका छन्।
सम्मान स्वरूप पोखरेलले प्रत्येक विद्यार्थीलाई नगद ४ हजार रुपैयाँ,सम्मानपत्र र खादा प्रदान गरेका हुन्। सम्मानित हुनेमा सत्य मावि, झिमरुक–७ का सुजल जिसी र सुमन महतरा तथा प्रभात मावि,झिमरुक–३ की अन्जु एम.सी. रहेका छन्।
कार्यक्रममा बोल्दै उपाध्यक्ष पोखरेलले शिक्षा क्षेत्रमा आफू निरन्तर क्रियाशील रहेको बताउँदै भने, “पढ्ने इच्छाशक्ति भएका तर आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था गरिदिन सधैं प्रयासरत छु।”उनले यस्ता विद्यार्थीलाई “देशका कणधार”को संज्ञा दिँदै, पढ्ने वातावरण सिर्जना गर्न प्रतिबद्धता व्यक्त गरे।
सत्य माविका शिक्षक हेमन्त पोखरेलले सम्मान कार्यक्रमप्रति आभार प्रकट गर्दै भने,“सामुदायिक विद्यालयको स्तरवृद्धिमा सबै पक्षको सहकार्य आवश्यक छ। राजनैतिक नेतृत्व, शिक्षक, अभिभावक र समाजसेवी मिलेर लागे मात्र उत्कृष्टता सम्भव छ।”
विद्यार्थी अन्जु एम.सी.ले सम्मान पाएपछि हर्ष व्यक्त गर्दै भनिन्, “यो सम्मानले मलाई अझै मेहनत गर्न हौसला दिएको छ। प्रमोद सरप्रति धन्यवाद व्यक्त गर्न चाहन्छु।”
जनप्रतिनिधि नहुँदा पनि पोखरेलले शिक्षा, स्वास्थ्य, समाजसेवा र विपद् व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए।
प्रतिक्रिया राख्नुहोस्