मल्लरानीमा महिला नेतृत्व,सशक्तिकरण एवं सचेतना कार्यक्रम सम्पन्न 

मल्लरानीमा महिला नेतृत्व,सशक्तिकरण एवं सचेतना कार्यक्रम सम्पन्न 

प्यूठान,मल्लरानी गाउँपालिकाको पाँच वटै वडामा सञ्चालन हुने गरि महिला नेतृतव, सशक्तिकरण एवं सचेतना कार्यक्रम शुरु भएको छ । लुम्बिनी प्रदेश सरकार अर्न्तगत सामाजिक विकास डिभिजन कार्यालय प्यूठानको आयोजना तथा मल्लरानी गाउँपालिकाको समन्वयमा वडा स्तरीय कार्यक्रम गर्न थालिएको हो ।
विहीबार वडा नम्वर ४ का महिलाहरुको सहभागितामा जिल्ला समन्वय समिति प्यूठानको सभाकक्ष खलंगामा कार्यक्रम गरिएको छ । लुम्बिनी प्रदेश सभा सदस्य धनलक्ष्मी श्रेष्ठले कार्यक्रमको उद्घाटन गर्दै सांसद विकास कोष मार्फत महिला लक्षित कार्यक्रमका लागि आफूले बजेट विनियोजन गरेको बताउनुभयो । उहाँले राजनीतिक नेतृत्वदेखि समाजका सवै खालका क्षेत्रमा महिला नेतृत्व आवश्यक रहेको भन्दै त्यसका लागि सशक्तिकरण, सचेतनाका कार्यक्रम आवश्यक पर्ने बताउनुभयो । प्रदेश सरकारले महिला तथा बालबालिका मन्त्रालय सामाजिक विकास मन्त्रालयमा गाभेका कारण बजेटको निकासा ढिला हुँदा कार्यक्रम गर्न ढिला भएको उहाँको भनाई छ ।
उद्घाटन शत्रमा जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसी, मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले संविधानले दिएको अधिकार कार्यान्वयनमा स्वयं महिला पनि अग्रसर हुनुपर्ने बताउनुभयो । त्यसका लागि क्षमता विकास र दक्षता आवश्यक पर्ने भएकाले यी र यस्ता कार्यक्रमले सहयोग गर्ने बताउनुभयो । विभिन्न अधिकार र अवसर प्राप्तीमा स्वयं महिला पन्छिने गरेको उदाहरण दिँदै विभिन्न समस्याहरुका बीच नेतृत्व तहमा पुग्नका लागि पहल गर्नुपर्ने सुझाव दिनुभयो।
कार्यक्रममा प्रदेश सभा सदस्य धनलक्ष्मी श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, मल्लरानी गाउँपालिकाका उपाध्यक्ष रमेश कुमार श्रेष्ठ, प्रहरी निरीक्षक निरन्जन रिजाल, डिभिजन कार्यालय प्रमुख पुन्य प्रसाद न्यौपानेले प्रशिक्षण शत्रको सहजीकरण गर्नुभएको थियो ।
सामाजिक विकास डिभिजन कार्यालय प्यूठानका प्रमुख पुन्य प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा मल्लरानी गाउँपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख रेवती न्यौपानेले स्वागत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन डिभिजनका किशोर रिजालले गर्नुभएको थियो । कार्यक्रम सवै वडामा सञ्चालन हुने डिभिजन कार्यालयले जनाएको छ ।