सीता बि.क
प्युठान,पछिल्लो समय नेपाली समाजमा पञ्चेबाजा हराउँदै गएका छन्।पञ्चेबाजा संरक्षणमा सरकारले चासो नदिएका कारण पञ्चेबाजा हराउदै जान थालेका हुन्।
विवाह,व्रतबन्ध,चाडबाड तथा मेलापर्व र उत्सवहरुमा नौमती पञ्चेबाजाको माग बढी हुने गरेको भए पनि बाजा बजाउन सक्ने दक्ष जनशक्तिको भने अभाव रहँदै आएको छ।पञ्चेबाजा बजाउने सीपको पुस्तान्तरण नभएकाले पनि समस्या भएको हो ।
बाजा बजाउने पुराना पुस्ताको निधन र नयाँ पुस्ताले चासो नदिदा र भएका युवाहरु समेत विदेश पलायन भएपछि अहिले पञ्चेबाजा बजाउने कार्य हराउँदै जान थालेको बुढापाकाहरुको बुझाई छ।
स्थानीय र प्रदेश सरकारले सीपमुलक तालिमका नाममा बर्सेनि कराडौँ बजेट सकिरहेका बेला पालिकामा मौलिकता जोगाउँदै पुस्तान्तरण गर्नुपर्छ भन्ने उद्देश्यले प्युठानको एक स्थानीय तहले भने गाउँपालिकामा पञ्चेबाजा बजाउने सीप हस्तान्तरण,आय आर्जन सँगै संरक्षण गर्ने उद्देश्यले महिलाहरुलाई बाजा बजाउने तालिम दिएको हो। कला सस्कृती प्रवर्द्धन समिती सरुमारानीको समन्वय र गाउँपालिकाको आयोजनामा महिलालाई
नौमती पञ्चेबाजा सम्बन्धि सीप बिकास तालिम सन्चालन गरिएको पालिकका उपाध्यक्ष बसन्ता खड्काले बताउनुभयो।नौमती बाजाको संरक्षण र संवद्र्धनसँगै लोप हुँदै गएको हाम्रो परम्परागत संस्कार र संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ तालिमको आयोजना गरिएको हो”,उहाँले भन्नुभयो, “यसबाट एकातर्फ महिलामा सीप विकास हुँदै जानेछ भने अर्कोतर्फ हाम्रो संस्कृतिको पनि जगेर्ना हुनेछ भन्ने विश्वास रहेको छ।”
गाउँपालिकाकी उपाध्यक्ष खड्काले जिल्लामै पहिलो नयाँ खालको तालिम सञ्चालन भएकाले आगामी दिनमा अझै फरक किसिमका तालिमहरु सञ्चालन गर्नुपर्ने बताउनुभयो।पुरुष मात्र होइन,महिला पनि अवसर पाए हरेक काममा सक्षम हुन्छन् भन्ने उदाहरण दिनका लागि पनि महिलालाई पञ्चेबाजा बजाउने तालिम प्रदान गरिएको उहाँको भनाई छ।
त्यस्तै कला सस्कृती प्रवर्द्धन समिती सरुमारानीका अध्यक्ष शान्ता बिष्टले आधुनिक बाजाको प्रभावले नेपालीको मौलिकता ओझेलमा परिरहेको अबस्थामा मौलिक बाजाको प्रशिक्षणमार्फत सांस्कृतिक जगेर्ना गर्न गाउँपालिकाले तालिम आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो।
“बाहिरबाट भित्र्याइएका अन्य खालका आधुनिक बाजाको प्रभावले हाम्रो मौलिकता हराएर जाने अवस्था पनि बढ्दै गएको छ”,अध्यक्ष बिष्टले भन्नुभयो,“परम्परागत समाजमा कुनै एक समुदायले मात्र पञ्चेबाजा बजाउँछन् भन्ने सोचको पनि परिवर्तन गर्दै सीप सबैले सिक्नुपर्छ र काम गर्नुपर्छ भन्ने सन्देश पनि यसखालको तालिमले दिएको छ ।”
नौमती बाजाको तालिम लिएको भोलिपल्टदेखि नै आयआर्जन पनि गर्न सकिने भएकाले अन्य तालिम भन्दा बाजा बजाउने तालिम उपलब्धिमुलक भएको उल्लेख गर्नुभयो।उहाँले बाजा बजाउने कलामा अझ निपूर्ण भएर व्यवसायिक रुपमा अघि बढ्न महिलाहरुलाई आग्रह गर्नभुयो।
१५ दिनसम्म चलेको उक्त तालिममा १६ जना महिलाको सहभागिता रहेको थियो।पञ्चेबाजा बजाउने तालिम राम्रो र प्रभावकारी भएकाले सहभागीहरूको निकै उत्साहित भएका थिए।
कला संस्कृतिको जगेर्नामा सबै जाति र समुदाय,लिङ्गको दायित्व बराबरी हुने
तालिममा विभिन्न जातजाति र समुदायबाट प्रतिनिधित्व गर्ने महिलाको सहभागिता रहेको पालिकाले जनाएको छ।
तालिमको सहजीकरण प्रशिक्षक अनिल पाहाडि र बिजय बि.क र नर बहादुर नेपाली ले गर्नुभएको थियो।
प्रतिक्रिया राख्नुहोस्