राम बहादुर बिश्वकर्मा
प्युठान नगरपालिका–९ का ८७ बर्षिय कृष्ण बहादुर भण्डारी र ८४ बर्षिय मिना भण्डारी समाजका सबैका प्रिय अग्रजका रूपमा चिनिनुहुन्छ। आफुहरुका १२ सन्तानका आमा-बुबा भण्डारी दम्पतीले आफ्नो जीवनभर श्रम र इमानदार जीवनशैलीको उदाहरण प्रस्तुत गर्दै आउनुभएको छ। उहाँहरूको सरलता,विनम्रता र सबैलाई जोड्ने स्वभावले उहाँहरू गाउँका मात्र होइन,वरपरका बस्तीहरूमा पनि आदर्श परिवारका रूपमा परिचित हुनुहुन्छ।भण्डारी परिवारमा शिक्षालाई धर्मझैँ मानिन्छ।उहाँहरूको छोराबुहारी र छोरी सम्मका ५२ जना सन्तानहरू मध्ये १३ जना सन्तानहरू विभिन्न सरकारी सेवामा हुनुहुन्छ कोहि निजी र व्यवसायिक क्षेत्रमा।कोही शिक्षक,कोही इन्जिनियर,कोहि डाक्टर त कोही राजधानी काठमाडौंदेखि प्युठानसम्म विभिन्न व्यवसायमा सक्रिय रहँदै सफल ब्यबसयी बन्नुभएको छ।तर सबैको सुरुवात एउटै ठाउँबाट भयो-आमाबुबाको माया र अनुशासनले बनेको घरबाट।मिना भण्डारीको हातले पकाएको भात,उहाँको मृदु बोली र हरेक सन्तानप्रति बराबरको माया-यी नै त्यो परिवारको मेरुदण्ड हुन्।उहाँहरुले हरेक छोराछोरीलाई एउटै पाठ सिकाउनुभयो,“मान्छे ठुलो जागिरले होइन,राम्रो मनले बन्छ।”
यसले स्पष्ट देखाउँछ-भण्डारी परिवारले शिक्षाको महत्व बुझ्यो,आत्मनिर्भरता रोज्यो र इमानदार श्रममा भरोसा राख्यो। तर यी सबै सफलताबीच पनि कृष्ण बहादुर भण्डारी र मिना भण्डारीले आफ्नो गाउँ,जन्मभूमि र कर्मभूमि छाड्ने सोच कहिल्यै राख्नुभएन। गाउँकै माटोमा बस्ने,गाउँकै मानिससँग सास फेर्ने र गाउँकै विकासमा योगदान दिने उहाँहरुको सोच आज पनि प्रेरणाको विषय बनेको छ।
कृष्ण बहादुर भण्डारी केवल कृषक र अभिभावक मात्र होइन,गाउँको आत्मा बोकेका समाजसेवी नेता पनि हुनुहुन्थ्यो।२०२४ सालको पञ्चायती शासनकालमा उहाँ गाउँ पञ्चायतका प्रधान पदमा निर्वाचित हुनुभयो-त्यो समय गाउँको विश्वास,नेतृत्व र इमानको प्रतीक बन्नुभएको क्षण थियो।उहाँको नेतृत्वमा गाउँलेहरूबीच मेलमिलाप बढ्यो,शिक्षा र सहकार्यको संस्कार स्थापित भयो।गाउँका प्रत्येक विकास अभियानमा उहाँ पहिलो पंक्तिमा उभिनुहुन्थ्यो-कहिले खेतको पाखामा परिश्रम गर्दै,कहिले सभा भवनमा विचार राख्दै।
उहाँको बोलीमा सद्भाव झल्किन्थ्यो,व्यवहारमा दृढता र समर्पण।
कहिले विद्यालयका लागि जग खन्ने हात उहाँकै हुन्थ्यो,कहिले पुल निर्माणमा ढुंगा बोक्ने काँध पनि उहाँकै।
त्यसैले गाउँका मानिस आज पनि सम्झन्छन्-कृष्ण बहादुर भण्डारी केवल प्रधान होइन,गाउँको अभिभावक थिए।
उहाँले आफ्नो जीवनका अधिकांश वर्ष गाउँकै माटो खनेर,परिश्रम गरेर बिताउनुभयो। कृषिप्रधान जीवनशैलीलाई नै आत्मसात् गर्दै उहाँले देखाउनुभयो समृद्धि सहरमा मात्र होइन,गाउँमा पनि सम्भव छ। उहाँले सधैं गाउँमा नै उत्पादन,सहयोग र सद्भावलाई प्राथमिकता दिनुभयो। अरूका दुःख-सुखमा साथ दिने,गाउँका कार्यक्रम र विकास प्रयासमा सक्दो योगदान पुर्याउने उहाँको स्वभावले उहाँहरुलाई सबैको प्रिय बनाएको छ।
मिना भण्डारी पनि त्यत्तिकै मिलनसार,ममतामयी र व्यवहारिक स्वभावकी आमा हुनुहुन्छ।
सधैं मुस्कुराउने अनुहार,हरेक भेटमा आत्मियताको ओज झल्काउने उहाँ जब कसैसँग भेट्नुहुन्छ,खुला मनले कुरा गर्नुहुन्छ।“के छ हालचाल?के गर्दै हुनुहुन्छ? केही गर्नुपर्छ है!” भन्ने उहाँको सहज प्रश्न र आत्मीय सन्देशले जो कोहीको मन छोइहाल्छ। उहाँसँगको क्षणिक भेट पनि प्रेरणा र उत्साहको श्रोत बन्न पुग्छ। यसकारण उहाँ गाउँमा केवल एक व्यक्ति होइन, एउटा ‘ऊर्जा’का रूपमा चिनिनुभएको छ।
उहाँको आत्मीय मुस्कान र सबैलाई घरका सदस्यझैं व्यवहार गर्ने बानीले गाउँमा एउटा परिवारिक वातावरण सिर्जना गरेको छ। १२ सन्तान हुर्काउँदै उहाँले माया,अनुशासन र संस्कारको सन्तुलन कायम गर्नुभएको छ,जसले आज भण्डारी परिवारलाई समाजमा एउटा उदाहरणीय स्थान दिलाएको छ।
कृष्ण बहादुर र मिना भण्डारी दम्पतीले गाउँमा मात्र होइन,सन्तानहरूको जीवनमा पनि अनुकरणीय दृष्टान्त छोड्नुभएको छ।उहाँहरूको श्रम,लगन र आत्मसमर्पणले सन्देश दिन्छ-“जहाँ माटो छ,त्यही जीवनको मूल जरा हुन्छ।”
उहाँहरूको घर आगनमा प्रवेश गर्ने जो कोहीलाई एक किसिमको न्यानोपना महसुस हुन्छ।
त्यो न त महँगो सजावटको कारण हो न त विलासी जीवनको,त्यो हो–आत्मीयता र सरल मनको सुगन्ध।
मनोरम प्राकृतिक दृश्यले पुर्ण अविरल रुपमा देखिने बुलबुले मुल छङ छ्ङ गर्ने बाइसधारा नजिक आफ्नो जिवनकालमा परम्परागत शैलिमा निर्माण गरिएको घरमा उहाँहरू बस्नुहुन्छ मिना भण्डारीको हल्का बर्की ओढिएको टाउको,अनुहारमा ममता झल्किने मुस्कान र कृष्ण बहादुरको टोपीमा सजिएको अनुशासित व्यक्तित्व-यी दृश्यहरूले मात्र होइन,उहाँहरूको चरित्र र जीवन दर्शनको गहिरो झल्को पनि दिन्छ।
दुवैका अनुहारमा सन्तुष्टिको चमक देख्दा महसुस हुन्छ-यहाँ केवल घर नभई,जीवन नै शान्ति र सन्तुष्टिले भरिएको छ।
हामी सहर गएका पनि थियौं,हामिलाई अपुग केही छैन तर मन त यतै अड्किएको रहेछ,” भन्नुहुन्छ उहाँ।त्यो वाक्यमा गाउँप्रेम,परिवारप्रेम र जीवनप्रेम तीनै मिसिएको छ।कृष्ण बहादुर र मिना भण्डारीको जीवन केवल एक परिवारको कथा होइन यो गाउँ,मूल्य र मानवीयताको जिवन्त सन्देश हो।
आज पनि गाउँका बालबालिका विद्यालय जान्छन्,बाटैमा भण्डारी बा र आमा मुस्कुराइरहेका देख्छन्।
त्यो मुस्कान उनीहरूका लागि किताबभन्दा ठूलो प्रेरणा बनिरहन्छ।
आज जब गाउँका युवा सहर र विदेशतिर आकर्षित भइरहेका छन्,त्यही बीचमा कृष्ण बहादुर भण्डारीजस्ता अग्रजहरूले गाउँमा रहँदै पनि सन्तुष्टि,सादगी र आत्मगौरवका साथ जीवन जिउन सकिन्छ भन्ने उदाहरण जिवन्त राख्नुभएको छ। उहाँका व्यवहार र जीवनशैलीले गाउँमा पुस्तौंदेखि पुस्तासम्म प्रेरणा दिने काम गरिरहेको छ।
उहाँ अग्रज व्यक्तित्व कृष्ण बहादुर र मिना भण्डारी-गाउँका माटो,मानवीयता र आपसी स्नेहका सुगन्ध हुनुहुन्छ। गाउँलेहरूका आँखामा उहाँहरू आज पनि एउटा न्यानो छायाँ,एउटा आत्मीय मुस्कान र एउटा जीवन्त प्रेरणा बनिरहनुभएको छ।


प्रतिक्रिया राख्नुहोस्