मल्लरानी ३ नम्बर वडाले गर्यो सेवा बिस्तार : वडाको सेवा घरमै दिने प्रतिबद्धता पूरा गर्दै वडा अध्यक्ष पौडेल

मल्लरानी ३ नम्बर वडाले गर्यो सेवा बिस्तार : वडाको सेवा घरमै दिने प्रतिबद्धता पूरा गर्दै वडा अध्यक्ष पौडेल

सीता बि.क
प्युठान,मल्लरानी गाउँपालिका-३ को कार्यालयले दिने सेवा दुई स्थानबाट उपलब्ध गराउने भएको छ। कार्यालय रहेको स्थान मुन्डाडा सहित २ स्थानबाट सेवा उपलब्ध गराउने निर्णय अनुसार सेवा बिस्तारको उद्घाटन गरिएको वडाध्यक्ष नोमराज पौडेलले जानकारी दिनुभयो।
उहाँका अनुसार हालै बसेको वडा कार्यसमितिको बैठकले हरेक दिन वडा कार्यालय रहेको स्थान मुन्डाडा र हप्ताको १ दिन रस्पुरकोट चौरपानी बाट सेवा दिने तयारी गरिए पनि आवश्यक परेमा २ दिन सेवा दिन सकिने उहाँले बताउनुभयो।
‘अहिले मुन्डाडामा रहेको वडा कार्यालय सहितको सेवा अबदेखि अब दुई स्थानबाट सेवा उपलब्ध हुनेछ’,उहाँले भन्नुभयो, ‘सेवा केन्द्र स्थापना मार्फत भौगोलिक विकटता र राज्यको सेवाको उपभोगमा सहयोग पुग्ने विश्वास छ।’
वडाको मध्यविन्दुमा वडा कार्यालय भए पनि भौगोलिकरूपमा विकट भएकाले सेवा लिन नागरिकको पहुँच र चासो कम भएको पाइएसँगै वडाको सेवा थप १ स्थानमा विस्तार गर्नुपरेको वडा समितिको बैठकको निर्णयमा भनिएको छ ।
पौडेलले भन्नुभयो,‘देशमा संघीयता आएको छ,अब गाउँगाउँमा सिंहदरबार भनिएको छ तर वडा कार्यालयको सेवा लिन घण्टौ बाटो हिँड्नुपर्थ्यो। त्यसैले नागरिकलाई संघीयताको प्रत्याभूति दिलाउन हामीले हप्ताको १ दिन रस्पुरकोटबाट वडाको सेवा दिन थालेका छौँ।’ 

आफ्नो भनाई राख्नुहुँदै मल्लरानी गाउँपालिका वडा नम्बर ३ वडा अध्यक्ष नोमराज पौडेल 


“यो वडा विकासको दृष्टिले पछाडि पारिएको दुर्गम वडा हो । भौगोलिक विकटताका कारण यस वडा वारी–पारी विभाजित भएको छ ।” उहाँले भन्नुभयो, “एउटै वडाका दाजुभाई भेट हुन पनि लामो समय हिड्नुपर्ने बाध्यता छ ।” करिब  २"बर्ष अघि निर्वाचनको समयमा आफूले सम्पर्क कार्यालय मार्फत वडाको सार्वजनिक प्रशासनको सेवालाई रस्पुरकोटबासीको आँगनमा पुर्याउन गरेको प्रतिवद्धता पुरा गरेको उहाँले बताउनुभयो ।
“थुप्रै भौतिक पूर्वाधारको संरचना निर्माण गर्नुभन्दा सार्वजनिक प्रशासनिक सेवालाई छरितो र नागरिकको घरदैलोमा पुर्याउने कार्य महत्वपूर्ण हो।” वडा अध्यक्ष पौडेलले भन्नुभयो,“यहाँका नागरिकहरुले सम्पर्क कार्यालयबाट भरपुर सेवा लिनु हुनेछ।”उहाँले वडा कार्यालय तथा सम्पर्क कार्यालयबाट प्रवाह गरिने सेवा तथा सुविधाहरुलाई सरल,सहज र चुस्त राख्न कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो।
उहाँका अनुसार साबिकको रस्पुरकोट र धरमपानी गाविस मिलेर बनेको वडा नम्बर ३ मा ५ हजार २ सय ९७ जनसङ्ख्या छन।वडाभित्र बाहुन तथा क्षेत्री,नेवार जनजाति,दलित समुदायको बसोबास छ।‘सडकको राम्रो पहुँच पुगेको छैन,शिक्षा र स्वास्थ्य चेतनाको स्तर वृद्धि गर्नुपर्ने छ,‘वडावासीको प्रमुख पेशा कृषि भए पनि त्यो परम्परगतबाट व्यावसायिकतर्फ अघि बढाउन नसक्दा आर्थिक अवस्था सुधार्न चुनौती छ।’
घरनजिकै वडा कार्यालयबाट पाउने सम्पूर्ण सेवा पाउन थालेपछि त्यस क्षेत्रका नागरिक पनि हर्षित छन्। उनीहरू भन्छन्‚‘बल्ल हामीले सिंहदरबार गाउँमै आएको महसुस गरेका छौँ।’
दुई ठाउँबाट सेवा पाउने भएपछि लामो समय खर्च गरेर वडा कार्यालयसम्म पुग्नुपर्ने बाध्यता हटेको स्थानीय बताउँछन् । 
एउटै वडा भएपनि भौगोलिक कठिनाईका कारण यस वडा वारी–पारी विभाजित छ।चुजाठाटिबाट बग्दै आएको छापे खोलो छ। यस वडाको वडा कार्यालय मुन्डाँडा भन्ने ठाउँमा अवस्थित छ।जहाँ पुग्न रस्पुरकोटबासीका लागि घण्टौं हिड्नुपर्छ। बर्खामासमा पैदलनै हिडेर जाँदा पहिरोको जोखिम उत्तिकै हुन्छ । यहाँका नागरिक बितेको पाँच वर्षसम्म सामान्य सिफारिसका लागि घण्टौं हिडेर सेवा लिन बाध्य थिए ।

तस्बिर : सेवा विस्तार सम्पर्क कार्यालयको उद्घाटन गर्नुहुँदै प्रतिनिधि सभा सदस्य सूर्य बहादुर थापा क्षेत्री


नागरिकको सहजताका लागि यो सम्पर्क कार्यालय स्थापना गरिएको हो।बुधबार उक्त सम्पर्क कार्यालयको प्रतिनिधि सभा सदस्य सूर्य बहादुर थापा क्षेत्रीले सेवा विस्तार सम्पर्क कार्यालयको उद्घाटन गर्नुभयो ।
उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै थापाले नागरिकलाई सहज सेवा दिन वडा कार्यालयले थालेको यो काम सराहनी भएको भन्दै प्रशंसा गर्नुभएको छ।उहाँले आवश्यकता अनुसार गाउँपालिकाले पनि बेलाबेलामा गाउँ टोलसम्मै पुगेर सेवा प्रवाह गर्न घुम्ती शिविर सञ्चालन गर्नुपर्ने बताउनुभयो।नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्नका लागि जस्तोसुकै कठिनाइपूर्ण काम गर्न पनि मल्लरानी ३ नम्बर वडा तयार रहेको भन्दै त्यही अनुसार वडाले यस्तो कदम चालेकोमा खुसी व्यक्त गर्नुभयो।जरुरी योजनाहरूमा आवश्यक सहकार्यका लागि सङ्घीय सांसदको हिसाबले आफू सधैं तयार रहेको बताउँदै थापाले विकासका सवालमा सहकार्य र साझेदारी आवश्यक हुने बताउनुभयो।