राम बहादुर बिश्वकर्मा
प्युठान,नेपालीहरूको महान पर्व शुभ दीपावली (तिहार) तथा छठ पर्वको पावन अवसरमा बजारमा आवश्यक उपभोग्य वस्तुको सहज आपूर्ति र मूल्य नियन्त्रण सुनिश्चित गर्न र स्वदेशी उत्पादनको प्रयोगमा जोड दिन प्युठान उद्योग वाणिज्य संघले जिल्ला भरका उद्योगी,व्यवसायीहरुलाई जिम्मेवार बन्न र नैतिक व्यापारिक आचरण अपनाउन आग्रह गरेको छ।
संघले शुभकामना सन्देश जारी गर्दै देश–विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ,आमाबुबा र सेवाग्राहीहरूलाई शुभकामना व्यक्त गर्दै भनेको छ,“चाडपर्वको समयमा दैनिक उपभोग्य वस्तुहरूको माग बढ्ने भएकाले व्यवसायीहरूले सहज र सुलभ सेवा उपलब्ध गराउनुपर्छ। कृत्रिम अभाव सिर्जना नगरी उपभोक्ताको विश्वास कायम राख्नु सबैको सामूहिक जिम्मेवारी हो।”
संघका अध्यक्ष सन्देश आचार्यका अनुसार,“व्यवसाय मुनाफासँगै सामाजिक उत्तरदायित्व पनि हो।चाडपर्वमा बजारमा वस्तुको नियमित आपूर्ति,मूल्य पारदर्शिता र स्वदेशी उत्पादनको प्रयोगले उपभोक्ता सन्तुष्टि र स्थानीय अर्थतन्त्र दुवै सुदृढ हुन्छ।”चाडपर्वको बेला बजारमा वस्तुको सहज आपूर्ति र उपभोक्ताको विश्वास कायम राख्नु हाम्रो सामूहिक दायित्व हो।”अध्यक्ष आचार्यले थप्नुभयो,“संघले बजार अनुगमन समितिसँग घनिष्ठ समन्वय गर्दै बजारमा हुने अनियमितता रोक्ने कार्यमा सहयोग पुर्याउनेछ। उपभोक्ताको हितलाई केन्द्रमा राख्दै व्यवसाय सञ्चालन गर्न सबै व्यवसायी साथीहरूलाई आग्रह गर्दछौं।”
संघले व्यवसायीहरूलाई समयमै स्टक व्यवस्थापन गर्ने,मूल्य सूची स्पष्ट रूपमा टाँस्ने र उपभोक्तासँग शालीन व्यवहार गर्ने सन्देश पनि दिएको छ।
त्यसैगरी,संघले स्थानीय कृषकहरूको उत्पादनलाई प्रोत्साहन गर्न तथा वातावरणीय प्रदूषण नियन्त्रणको उद्देश्यले प्लास्टिकका माला बिक्री,वितरण र प्रयोग नगर्न अनुरोध गरेको छ।
प्रतिक्रिया राख्नुहोस्