राम बहादुर बिश्वकर्मा
प्यूठान,सामाजिक समावेशिता,सूचना प्रवाह र पत्रकारिताको भूमिकालाई केन्द्रमा राख्दै राष्ट्रिय दलित पत्रकार संघ लुम्बिनी प्रदेशले २०८३ सालको भित्तेपात्रो प्यूठानमा औपचारिक रूपमा विमोचन गरेको छ।मंगलबार प्यूठान नगरपालिकाको सहयोग र राष्ट्रिय दलित पत्रकार संघ प्यूठानको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमलाई केवल पात्रो विमोचनको औपचारिकता भन्दा माथि उठाउँदै दलित पत्रकारिताको योगदान,समाजमा विद्यमान विभेद र सञ्चार क्षेत्रको जिम्मेवारीबारे गम्भीर छलफलको अवसरका रूपमा लिइएको थियो।

कार्यक्रमका प्रमुख अतिथि प्यूठान नगरपालिकाका मेयर विष्णु बहादुर योगीले समाजमा अझै पनि आर्थिक,सामाजिक तथा सांस्कृतिक रूपमा विपन्न वर्गले विभेदको अनुभूति गर्नुपरेको उल्लेख गर्दै त्यसको अन्त्यका लागि सबै तह र तप्काको सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले स्थानीय तहले समावेशी विकासलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको पनि स्पष्ट पार्नुभयो।
त्यस्तै,नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष श्रीराम भण्डारीले सञ्चार क्षेत्रसँग सम्बन्धित केही नीतिगत निर्णयहरू संघीयताको मर्म र विधि प्रक्रियासँग मेल नखाने खालका देखिएको टिप्पणी गर्दै पत्रकारिताको स्वतन्त्रता र संस्थागत संरचनालाई बलियो बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।
राष्ट्रिय दलित पत्रकार संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष लोकेन्द्र सुनारले दलित पत्रकारहरूले समाजमा सूचनाको पहुँच विस्तार गर्दै राज्यलाई सही दिशातर्फ लैजान महत्वपूर्ण योगदान दिँदै आएको उल्लेख गर्नुभयो। उहाँले पत्रकारितामा समावेशिता बढाउन राज्य र सरोकारवालाको ध्यान आवश्यक रहेको पनि बताउनुभयो।
प्रदेश अध्यक्ष टेकेन्द्र बस्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वक्ताहरूले दलित पत्रकारहरूको पहिचान,अवसर र संस्थागत सशक्तीकरणमा अझै धेरै काम गर्न बाँकी रहेको धारणा व्यक्त गरे।
कार्यक्रमको सञ्चालन सचिव अनिल नेपालीले गर्नुभएको थियो।कार्यक्रममा सहभागीहरूले भित्तेपात्रो विमोचनलाई केवल क्यालेन्डर प्रकाशन नभई सामाजिक सन्देश,अधिकार चेतना र पत्रकारिताको जिम्मेवारीसँग जोडिएको महत्वपूर्ण पहलका रूपमा व्याख्या गरेका थिए।
प्रतिक्रिया राख्नुहोस्