खरिबोट–मजुवा सडक निर्माण अलपत्र,स्थानीय सास्तीमा : कम्पनी भन्छ – काम चाँडै सुरु हुन्छ

खरिबोट–मजुवा सडक निर्माण अलपत्र,स्थानीय सास्तीमा : कम्पनी भन्छ – काम चाँडै सुरु हुन्छ

राम बहादुर विश्वकर्मा
प्युठान,प्युठान नगरपालिका अन्तर्गत रिङरोडका रूपमा नामकरण गरिएको खरिबोट–मजुवा निर्माणाधीन सडक खण्ड लामो समयदेखि अलपत्र अवस्थामा रहँदा स्थानीयवासीले सास्ती खेप्न बाध्य भएका छन्। वडा नम्बर ९ मरन्ठानसमा पर्ने उक्त सडक निर्माणको जिम्मा लिएको ठेकेदार सम्पर्कविहीन जस्तै बनेपछि निर्माण कार्य पूर्ण रूपमा ठप्प भएको स्थानीयको गुनासो छ।
वर्षौंदेखि वर्षायाममा हिलो र हिउँदमा धुलोको समस्याले हैरान बनेका स्थानीयवासी सडक कालोपत्रे हुने खबरले निकै आशावादी थिए। सडक निर्माण सुरु भएसँगै दैनिक आवतजावत सहज हुने,सवारी सञ्चालन सुरक्षित बन्ने,व्यवसायिक गतिविधिमा सहजता आउने तथा धुलो–हिलोको समस्या अन्त्य हुने अपेक्षा गरिएको थियो। ग्रामीण क्षेत्रमा सडकलाई विकास र समृद्धिको आधारका रूपमा हेरिने भएकाले यो आयोजना स्थानीयका लागि विशेष चासोको विषय बनेको थियो।
तर, निर्माण कार्य बीचमै रोकिँदा स्थानीयको उत्साह निराशामा बदलिएको छ। सडक विस्तारका क्रममा खनिएका विभिन्न स्थानका खाडल,जथाभावी थुपारिएका ढुंगा–गिट्टी,बालुवा तथा माटोका थुप्राले आवतजावत थप जोखिमपूर्ण बनेको छ।कतिपय स्थानमा सडक साँघुरो हुँदा सवारी साधन सञ्चालनमा समेत समस्या देखिएको छ।स्थानीयका अनुसार वर्षायाममा पानी जमेर सडक हिलाम्मे र चिप्लो बन्छ भने हिउँदमा अत्यधिक धुलो उड्दा घर–व्यवसाय,विद्यालय तथा स्वास्थ्यमा समेत प्रत्यक्ष असर परेको छ। सडक आसपासका बासिन्दाले पानी परेपछि खाडलमा पानी जम्ने भएकाले पैदल यात्रा गर्नसमेत समस्या भएको गुनासो गरेका छन्।
दैनिक रूपमा यही सडक प्रयोग गर्ने पैदलयात्री,मोटरसाइकल चालक, जिप तथा अन्य सवारी चालक जोखिम मोलेर यात्रा गर्न बाध्य छन्। विद्यालय जाने विद्यार्थी, बिरामी बोकेर अस्पताल जाने सवारी,वृद्धवृद्धा तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्ने नागरिक सबैभन्दा बढी प्रभावित भएका छन्।“पहिला धुलो–हिलोको समस्या मात्रै थियो,अहिले त सडक खनेर छाडेपछि झन् ठूलो समस्या थपिएको छ,”स्थानीय मानबहादुर के.सि.ले गुनासो गरे।उनका अनुसार निर्माण कम्पनीका सञ्चालकलाई पटकपटक फोन गर्दा समेत सम्पर्क हुन नसकेको र काम कहिले सुरु हुन्छ भन्ने स्पष्ट जानकारी नपाउँदा समस्या झन् जटिल बनेको छ।
उनका अनुसार विकासका नाममा सुरु गरिएका योजना समयमै सम्पन्न नहुँदा नागरिकले सुविधा होइन,उल्टै सास्ती भोग्नुपरेको छ।सडक निर्माणमा भएको ढिलाइले स्थानीयमा मात्र होइन,सरकारी योजना तथा विकास निर्माणप्रतिको विश्वासमा समेत असर पारिरहेको देखिन्छ।योजना घोषणा र शिलान्यासपछि निर्माण कार्य सुरु हुने तर बीचमै रोकिने प्रवृत्तिले नागरिकमा निराशा बढेको स्थानीयको भनाइ छ।
यता,ठेक्का लिएको निर्माण कम्पनीका सञ्चालक शिशिर थापाले केही समयभित्रै निर्माण कार्य पुनः सुचारु गरिने जानकारी दिएका छन्। उनका अनुसार ज्यामीहरूबीचको आन्तरिक विवाद तथा व्यवस्थापनसम्बन्धी समस्याका कारण केही समय काम प्रभावित भएको थियो। साथै पेट्रोलियम पदार्थको मूल्य वृद्धिले पनि निर्माण कार्यमा असर पारेको उनले बताए।
“सबै समस्या समाधान भइसकेका छन्,अब निर्माण कार्य लगत्तै सुरु हुन्छ,”थापाले भने। उनले रोकिएको काम तोकिएको मापदण्डअनुसार सम्पन्न गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
स्थानीयवासीले भने आश्वासनमा मात्र सीमित नभई निर्माण कार्यले वास्तविक गति लिने अपेक्षा गरेका छन्। उनीहरूले वडा कार्यालय, प्युठान नगरपालिका तथा सम्बन्धित सरोकारवाला निकायलाई ठेकेदारलाई जिम्मेवार बनाउँदै निर्माण कार्य समयमै सम्पन्न गराउन आग्रह गरेका छन्।
स्थानीयको भनाइमा विकास निर्माणका योजना घोषणा र शिलान्यासमा सीमित नभई गुणस्तरीय र समयमै सम्पन्न हुन सके मात्र नागरिकले विकासको अनुभूति गर्न सक्छन्,अन्यथा यस्ता अधुरा योजनाले राहतभन्दा बढी सास्ती दिने क्रम दोहोरिरहनेछ।